कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मल लिनै सास्ती

भरत जर्घामगर

(सिरहा) — धान रोपाइँका समयमा लगातारको वर्षा र डुबानले पीडित सिरहाका किसानले जसोतसो रोपाइँ गरे पनि मल अभावले पिरोलिएका छन् । एक बोरा मलका लागि जिल्लाका किसानहरू लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङको कार्यालय परिसरमा घण्टौं लाइन बस्न बाध्य छन् । लाइन बसे पनि गोदाममा मल नहुँदा कतिपय किसानहरू रित्तो हात फर्किरहेका छन् ।

एक बिघा जग्गामा धान खेती गरेका सिरहा ब्रम्हाण गोर्छारीका ६५ वर्षीय जीवछ महतोले बिहीबार बिहान ९ बजेदेखि ५ घण्टा लाइनमा बस्दा बल्लतल्ल एक बोरा डीएपी मल पाएको बताए । ‘एक बिघा जग्गामा एक बोरा मलले कसरी धान्नु,’ उनले दु:खेसो पोखे, ‘मल पर्याप्त भएन भने उब्जनी घट्छ र उब्जनी घटे लगानीसमेत उठदैन, जताबाट पनि किसान मारमा छौं ।’


जीवछ मात्र होइन तीन बिघा जग्गामा धान खेती गरेकी सिरहा बस्तीपुरकी सुजन यादवले पनि दिनभर लाइनमा बस्दा बल्ल एक बोरा डीएपी पाइन् । ‘कृषि मजदुरको अभाव झेलेर जसोतसो रोपाइँ सकें,’ उनले भनिन्, ‘रोपाइँलाई मल नभएपछि हाम्रो लगानी खेर जाने पिरलो बढेको छ ।’


कृषि सहकारी संस्थालाई मल उपलब्ध गराउँदै आए पनि किसानहरूको चाप बढेपछि साल्ट ट्रेडिङले बुधबारदेखि किसानलाई नागरिकताको आधारमा मल वितरण गर्न सुरु गरेको थियो । मल वितरण हुन थालेपछि किसानको घुइँचो लाग्यो । धान रोप्ने बेला र रोपाइँ भइसकेपछि बोट फस्टाउने बेलामा मल हाल्नुपर्छ । सिरहामा कृषकहरूले मुख्य बालीका रूपमा धान लगाउँछन् ।


धान खेतीका लागि मल आवश्यक पर्ने असार, साउन र भदौ महिनामा मलको चरम अभाव हुने गरेको किसानहरूको गुनासो छ । कृषि सामग्री लिमिटेड लहान शाखाका अनुसार सिरहामा करिब ८ हजार टन डीएपी मल आवश्यक छ । यस वर्ष डीएपी ३ हजार ९ सय ७९ टन मात्र केन्द्रले पठाउँदा अभाव भएको हो ।


यसैगरी युरिया ६ हजार ९ सय ९६ टन प्राप्त भएको थियो । सबै बिक्री भइसकेको छ । सम्पूर्ण मलको ७० प्रतिशत कृषि सामग्री र ३० प्रतिशत साल्ट ट्रेडिङ किर्पोरेसनले आपूर्ति गर्छ । कृषि सामग्रीमा १०८ वटा सहकारी र साल्ट ट्रेडिङमा ४० वटा सहकारीले मलखादको डिलर लिएका छन् ।


साल्ट ट्रेडिङले आफ्नो ३० प्रतिशत मल समयमै बेचेको लहान शाखा प्रमुख जितेन्द्र साहले बताए । अहिलेसम्म ३८ हजार बोरा डीएपी मल बिक्री गरेको प्रमुख साहले जानकारी दिए । साल्टको लहान शाखालाई डीएपी मल २८ हजार बोरा बिक्री गर्ने लक्ष्य दिइएको थियो । ‘मल अभाव भएपछि विराटनगरबाट समेत ल्याएर बिक्री गर्‍यौं,’ उनले भने ।


साहले कृषि सामग्रीले मल नमगाउँदा किसानले मल अभाव झेल्नुपरेको बताए । ‘कृषि सामग्रीले पनि मल मगाउने हो भने जिल्लामा मल अभाव हुँदैन,’ उनले भने । सिरहामा धान खेतीका लागि ६४ हजार ४ सय ७० हेक्टर खेतीयोग्य जग्गामा बर्सेनि ७२ हजार ३ सय टन धान उत्पादन हुँदै आएको छ । सिरहाका कृषकहरूले स्थानीय जातको बासमती, सोना मन्सुली, मिथिला, हर्दिनाथ, राधा–११ तथा सावित्री जातका धान खेती गर्दै आएका छन् ।

प्रकाशित : श्रावण १९, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?