खाउँखाउँ लाग्ने मखनको बारा

नुमा थाम्सुहाङ

काठमाडौँ — बाराको स्वाद कसलाई थाहा नहोला ? नाम सुन्नेबित्तिकै धेरैको मुख रसाउँछ । अझ मखनको बाराको स्वादै बेग्लै । मखनको भित्री गल्ली बांगेमुढामा दिउँसो १ बजेपछि बारा खानेको भीड लाग्छ । यहाँ पाँच वर्षदेखि सञ्चालनमा रहेको बारा पसल निकै लोकप्रिय छ । स्थानीय हुन् वा बाटामा हिँड्ने बटुवा ।

खाउँखाउँ लाग्ने मखनको बारा

जो कोही एकछिन भए पनि अडिन्छन् । बाराको स्वाद लिएर जान्छन् । पसलको ठ्याक्कै नाम छैन । धेरैले ‘दिदीहरूले बनाउने बारा’ भनेर चिन्छन् ।


उमेरले ७५ टेकेकी ल्हामु शेर्पा बौद्धदेखि सेतो मच्छिन्द्रनाथको मन्दिरमा बत्ती बाल्न साथी डोमा शेर्पाका साथमा आएकी थिइन् । भोक पनि लागेको र बाटोमा बनाइराखेको देखेपछि उनलाई बारा खाउँ, खाउँ लाग्यो । ‘यहाँको बारा साँच्ची नै मिठो रैछ,’ ल्हामुले बाराबारे सम्झिन्, ‘बौद्धमा धेरै पहिले बारा खाएको थिए । आज निकै समयपछि खाँदै छु । पुरानो दिनको सम्झना भयो ।’ उनीसँगै आएकी डोमाले पनि बाराको प्रशंसा गर्न छुटाइनन् । भनिन्, ‘एकदम मिठो छ ।’


बालाजु बस्ने ५९ वर्षीया लक्ष्मी प्रजापतिले बारा पसल थालेको पाँच वर्ष भइसकेको छ । ‘पसलबाट दिनको २ हजार रुपैयाँसम्म आम्दानी हुन्छ,’ उनले भनिन् । घर खर्च र खाली समयलाई सदुपयोग गर्दै परिवारका तीनजना पसलमा बारा बनाउन व्यस्त देखिन्छन् । लक्ष्मीकी नन्द मैयाँ महर्जन र बुहारी कृति महर्जन खाली समय सदुपयोग भएकाले खुसी छन् ।


‘घरमा त्यत्तिकै के बस्नु भनेर यहाँ आमालाई सघाउन आउँछु,’ कृतिले सुनाइन्, ‘यहाँ बारा बेचेर घरमा केही खर्च जुट्छ । परिवारमा पनि एकजनाको कमाइले मात्र नहुने भएपछि हामीले बाराको काम थालेको हो ।’ बारा बेचेरै पाँचजनाको परिवारको खर्चमा केही सहयोग मिलेको उनले बताइन् ।


‘हाम्रोमा पाइने बाराको स्वाद नै बेग्लै छ । सस्तो र राम्रो पनि छ । अन्यत्र एउटै बाराको ५० रुपैयाँ पर्छ । हाम्रोमा भएको सबैको मूल्य २० रुपैयाँ मात्र हो । ग्राहकलाई सस्तोमा मिठो र राम्रो दिऊँ भनेर यसको मूल्य कम राखेको हो,’ लक्ष्मीले भनिन् ।


लक्ष्मीको पसलसँगैको अर्को पसलमा पनि बारा खानेको भीड लाग्छ । ठहिटीकी शर्मिला महर्जनको नयाँ सडकमा पसल छ । उनी दिउँसो खाजाका लागि १३ वटा बारा लिन आएकी थिइन् । ‘यहाँको बारा एकदम मिठो छ, त्यसैले प्रायजसो खाजाका लागि लिन आइरहन्छु,’ उनले भनिन्, ‘मलाई यहाँको बारा सफा र राम्रो लाग्छ ।’


गोठाटारका ७४ वर्षीय जगतबहादुर अवाल बाटो पर्दा यहाँको बाराको स्वाद लिन बिर्सिन्नन् । ‘बाराको स्वाद एकदम लोकल छ,’ उनले तारिफ गरे । आमा मिनु महर्जन घरको कामले पसल आउन नभ्याएपछि छोरी रज्जु महर्जन र उनकी ठूली आमा मञ्जु बज्राचार्यले पसल सम्हालेका थिए ।


म्यानेजमेन्टमा बीबीए पहिलो वर्षमा अध्ययनरत १९ वर्षीया रज्जु आमाले नभ्याउँदा पसल सम्हाल्छिन् । परिवारमा आमा, बुबा र एसईई सकेका भाइ छन् । ‘आमाले २५ हजार रुपैयाँ लगानीबाट सुरु गर्नुभएको थियो,’ छोरी रज्जुले भनिन्, ‘घर र पढाइ खर्चका लागि भनेर सुरु गरेको हो । अहिले यसले ठूलो सहयोग पुर्‍याएको छ ।’


दिनको ६ सय रुपैयाँसम्म आम्दानी भइरहेको छ । मासिक रूपमा १८ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताइन् । उनीहरूले बारा पसल सुरु गरेको पनि पाँच वर्ष भइसकेको छ । यहाँ शाहाकारी बारा मात्र पाइन्छ ।

प्रकाशित : श्रावण १८, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?