कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कार्यालय व्यवस्थापन हुँदै, सेवा दिँदै

एकद्वार सेवा केन्द्र
नुमा थाम्सुहाङ

बिजुलीका तार र फर्निचरहरू भवनभित्र अलपत्र अवस्थामा छन् । सेवा सुरु भए पनि भवन बाहिर निर्माण कार्य अझै जारी छ । जेठ १ गते उद्घाटन भएको एकद्वार सेवा केन्द्र पूर्ण रूपमा तयार नभए पनि काम भने सुरु गरिसकेको छ ।

उद्घाटनपछि केन्द्रमा ५४ वटा उद्योग दर्ता भएका छन् । जसमध्ये १६ ऊर्जा, १२ पर्यटन, ११ उत्पादनमूलक, ६ सूचना प्रविधि, ५ सेवामूलक, ४ एग्रोफरेस्टी उद्योग छन् । ८८ अर्ब १० करोड रुपैयाँ बराबरको पुँजी राखेर उद्योग दर्ता भएका हुन् ।


विदेशी लगानी शाखामा ५३ वटा उद्योगको लगानी दर्ता भएको छ । ३१ पर्यटन, १८ सेवामूलक, ३ उत्पादनमूलक, १ सूचना प्रविधि विदेशी लगानी दर्ता भएका छन् । १० अर्ब १६ करोड रुपैयाँ बराबरको विदेशी लगानी भएको छ । उद्योगका महानिर्देशक विनोदप्रकाश सिंहले एकद्वार सेवा केन्द्रको करिब ९५ प्रतिशत काम सकिसकेको जानकारी दिए । बाँकी काम अबको १५ दिनभित्रमा सम्पन्न हुने उनले बताए । तीन शाखालाई एकै स्थानमा राखेर एकीकृत ढंगले काम सुरु गर्नपर्ने भएकाले यसको व्यवस्थापनमा समय लागेको सिंहको भनाइ छ ।


‘विद्युतीय तथा सीसी क्यामेरा जडानलगायतका काम बाँकी नै छन्,’ उनले भने, ‘पहिलेको भन्दा काम छिटो भइरहेको छ ।’ सेवा केन्द्रमा पहिला बैंक काउन्टर स्थापना नभएको र अहिले उद्योग दर्तादेखि लिएर राष्ट्र बैंकको र भन्सार सेवाको सबै काम यहीँबाट गर्न मिल्ने सिंहले बताए ।


कानुन व्यवसायी रामप्रसाद तिवारी विदेशी कागजपत्र मिलाउने काम गर्छन् । उनी सेवा केन्द्रमा काठमाडौं महानगरपालिका वडा ७ लाई कामपा वडा २९ बनाउन निवेदन पेस गर्न आएका थिए । विदेशी शाखाका कर्मचारीहरूको आन्तरिक बैठकले गर्दा त्यसै फर्किनुपरेको तिवारीले बताए । ‘स्थान परिवर्तनका लागि निवेदन पेस गर्न आएको थिएँ,’ उनले भने, ‘कर्मचारीहरूको आन्तरिक बैठकले काम भएन ।’ निवेदन पेस गर्नका लागि आवश्यक विदेशी सक्कली कागजात पनि उनीसँग थिएन । ‘निवेदन पेस गर्नका लागि सक्कली कागजात मसँग थिएन,’ उनले भने, ‘ल्याएको भए पनि आज काम नहुने रैछ ।’


सेवा केन्द्रका सम्बन्धित कर्मचारीहरू विभिन्न बैठकमा व्यस्त हुँदा सेवाग्राहीहरूको काम रोकिए पनि पहिलेको भन्दा एकद्वार सेवा केन्द्रबाट सेवाग्राहीलाई काममा धेरै सहज भएको उनले बताए । सेवा केन्द्रमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण, विदेशी विनिमय सहजीकरण, भिसा सहजीकरण, अनुमति तथा दर्ता, वातावरण, भन्सार तथा राजस्व, प्रशासन तथा कानुन र जग्गा सहजीकरण गरेर आठवटा एकाइ सक्रिय छन् । विभागका सूचना अधिकारी निर्देशक विनोदकुमार खडकाका अनुसार एकद्वार सेवा केन्द्रको अर्थ छिटो सेवा केन्द्र होइन । ‘यो सेवाको अर्थ छिटो सेवा होइन,’ उनले भने, ‘धेरै सेवा एकै ठाउँबाट दिने केन्द्र हो ।’


एकद्वार सेवा केन्द्रमा ४१ जना कर्मचारीको दरबन्दी रहेकामा हाल ३३ जना मात्र कार्यरत छन् । कम्पनी दर्ता गर्न ३५ दिन, उद्योग दर्ता १५ दिन र व्यावसायिक भिसा दिन ९० दिन लाग्ने खडकाले बताए । ‘पहिले भन्सार, आयकर, कच्चा पदार्थ आयात स्वीकृत, लेखा नम्बर, भिसा जारी, डलर स्वीकृतिजस्ता काम विभिन्न निकायबाट फरकफरक स्थानमा हुन्थ्यो,’ उनले भने, ‘अहिले यी सबै एकै ठाउँबाट हुन्छन् ।’


यो सेवा केन्द्र उद्योगसँग सम्बन्धित भएकाले उद्योगीहरूले थाहा पाउन जरुरी भएको उनको भनाइ छ । हालसम्म ७ हजार ठूला उद्योग दर्ता भइसकेको उनले बताए । ‘सकेसम्म छिटो होस् भनेर हामीले यस केन्द्रबाट सेवा दिइरहेका छौं,’ खडकाले भने, ‘उद्योग दर्ताजस्ता कुरा एक दिनमा भइहाल्ने विषय पनि होइन ।’ विभिन्न निकायका कर्मचारीहरू एकै ठाउँमा काम गर्दा समन्वयको समस्या भए पनि सेवामा कुनै पनि गुनासो नआओस् भन्ने हिसाबले काम गरिरहेको खडकाले बताए ।

प्रकाशित : श्रावण १५, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?