कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बाढीले करोडको तरकारी नष्ट

विनोद भण्डारी

विराटनगर — बाढी र डुबानअघि मोरङको कटहरी र जहदा तरकारी पकेट क्षेत्रबाट दैनिक सरदर १३० क्विन्टल ताजा तरकारी विराटनगरको गुदरी बजारमा पुग्थ्यो । त्यतिबेला काँक्राको थोक मूल्य प्रतिकेजी १० रुपैयाँ, करेला १०, भिन्डी १५, बोडी १०, घिरौंला ५ र लौका प्रतिगोटा २५ रुपैयाँमा पाइन्थ्यो ।

दुई साताभन्दा बढी भयो ती दुई पकेट क्षेत्रबाट एक केजी पनि तरकारी गुदुरी बजारमा पुगेको छैन । त्यहाँको तरकारी बजार नजाँदा तरकारीको मूल्य थोकमै दस गुणासम्म बढेको छ । बढेको मूल्यमा पनि पाउन गाह्रो छ ।


कटहरी र जहदामा मात्र तीन सय हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती हुँदै आएको छ । असार अन्तिम सातादेखि भारी वर्षा र लोहन्द्रा खोलामा आएको बाढी पसेर त्यहाँको सबै तरकारी खेती जलमग्न छ । हिलो र लेदो पसेर तरकारीका सबै बोट मरेका छन् । मोरङका कृषि सम्पर्क कार्यालय प्रमुख रामदेव सिंहका अनुसार बाढीले कटहरी र जहदामा मात्र ५ करोडभन्दा बढीको तरकारी खेतीमा क्षति पुगेको छ ।


सात बिघा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएका कटहरी ४ फुलटोल मधुराका शिवनाथ सिंहले आफ्नो खेतमा मात्र करिब २० लाखको तरकारी नष्ट भएको दाबी गरे । आफ्नो र आसपासमा झन्डै सय परिवारले डेढ सय बिघा जमिनमा तरकारी खेती गरेको उनले बताए । बाढी र डुबानले उनीहरू सबैको खेती नष्ट भएको छ । सिंहले भने, ‘एउटा ब्लकमा मात्र करिब डेढ करोडको तरकारी नष्ट भएको छ ।’


सात वर्षदेखि चार बिघा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएका कटहरी नयाँ बजारका कोपेन्द्र सिंह पनि बाढीले आफ्नो बारीमा मात्र करिब ७ लाख रुपैयाँ बराबरको क्षति पुगेको बताउँछन् । करिब ७ लाख मूल्य बराबरका भेन्टा, करेला, बोडी, लौका, फर्सी र भिन्डी बजार पुर्‍याउने अवस्थामा थिए ।


‘लोहन्द्रा खोलाको बाढीले त्यो सबै छोप्यो ।मेरो बारीसहित नयाँ बजारमा १४० परिवारको एउटा ब्लक नै थियो । त्यो ब्लकमा करिब डेढ करोड बराबरका विभिन्न प्रकारका तरकारी तयारी अवस्थामा थियो,’ उनले भने, ‘खोलाको बाढी पसेर सबै नष्ट भयो । तरकारी बारीमा खोलाको बाढी पसेपछि एक सातासम्म घरबाट बाहिर निस्कनै सकिएन ।’


कटहरी, जहदा र आसपासको क्षेत्रमा हुँदै आएको व्यावसायिक तरकारी खेतीले विराटनगरको गुदरी बजारको माग झन्डै ६० प्रतिशत धान्दै आएको थियो । कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत हृदय पोखरेलले भने, ‘कटहरी र जहदाबाट दुई सातादेखि गुदरी बजारमा तरकारी उपलब्ध नहुँदा अभाव छ ।’ पाइने तरकारी पनि अकासिएको मूल्य वृद्धिले किनेर खाइसक्नु नभएको उनको प्रतिक्रिया छ ।

प्रकाशित : श्रावण १४, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?