१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

गुणस्तर विवादले निर्यातमा विलम्ब

माधव ढुंगाना

भैरहवा — उत्पादित वस्तुको गुणस्तर मापदण्डका विषयमा विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण र त्यहाँ सञ्चालित शक्ति मिनिरल्स प्रालिबीच विवाद भएको छ । विवादपछि उक्त मिनिरल्सले उत्पादन निर्यात गर्न सकेको छैन । निर्यातका लागि अपनाउनुपर्ने प्रक्रिया पूरा गरे पनि प्राधिकरणले अवरोध गरेको उद्योगीले आरोप लगाए ।

सम्झौताअनुरूप गुणस्तर मापदण्ड कायम नगरेसम्म अनुमति दिन नसकिने अडानमा प्राधिकरण छ । शक्ति मिनिरल्सका प्रबन्ध निर्देशक लक्ष्मण ठकुरीले भारत निर्यातका लागि प्रक्रिया पूरा गरेर उत्पादित वस्तु ढुवानी गर्न लाग्दा प्राधिकरणबाट अवरोध भएको बताए । ‘सम्पूर्ण प्रक्रिया पूरा गरेका छौं,’ उनले भने, ‘के कारणले अनुमति नदिइएको हो ? भन्ने बारेमा जानकारी माग्दा सेजले कुनै आधिकारिक जवाफ दिएको छैन । नत पत्राचार गरेको छ ।’


शक्ति मिनिरल्सका उत्पादन भारत निर्यातका लागि सिद्धार्थ उद्योग वाणिज्य संघबाट उत्पत्तिको प्रमाणपत्र (सीओ) समेत जारी भएको छ । निकासी गर्न भन्सारमा राजस्व जम्मा गरिसकिएको छ । भारतको खरिदकर्ताले एलसी खोलेर सामानको पर्खाइमा छन् । निकासी गरिने उत्पादित वस्तुको भारत सरकारले नै गुणस्तर जाँच गरी आयातका लागि अनुमति दिइसकेको छ ।


प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले सम्झौताअनुरूप गुणस्तर मापदण्ड कायम नगरेकाले निकासीका लागि अनुमति नदिएको बताए । ‘सम्झौताअनुरूपको गुणस्तर मापदण्ड कायम नगरी निकासी गर्न पाइँदैन,’ उनले भने, ‘यदि मापदण्डअनुरूपको गुणस्तर कायम नगरी उत्पादन गर्ने हो भने सम्बन्धित उद्योगमाथि कारबाही प्रक्रिया थालिनेछ ।’


शक्ति मिनिरल्सले निकासी गर्न लागेको वस्तुको गुणस्तर क्याल्सियम अक्साइड कम्तीमा ४३ प्रतिशत हुनुपर्नेमा ४० प्रतिशत मात्र रहेको र म्याग्नेसियम अक्साइड ६ प्रतिशत हुनुपर्नेमा ७.१ प्रतिशत रहेको भट्टले बताए । उत्पादनमा सुधार ल्याएर तोकिएको मापदण्ड कायम गरेर निर्यात गर्न शक्ति मिनिरल्सलाई जानकारी गराउएको उनको भनाइ छ ।


यसअघि रोकिएको मालसहितको ट्रकलाई निर्यात अनुमति दिइएको भट्टले बताए । भैरहवा सेजमा पहिलो उद्योगका रूपमा स्थापना भएको यसले परीक्षण उत्पादनपश्चात् वैशाख अन्तिम सतादेखि निर्यात गर्ने उद्देश्यले व्यावसायिक उत्पादन सुरु गरेको थियो ।


गत वैशाख ३१ गते उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योगको उद्घाटन गरेका थिए । उद्योगले स्वदेशको चुन ढुंगा (डोलोमाइट) प्रशोधन गरी लाइनस्टोन, फल्क्स र फाइन डस्ट उत्पादन गर्छ । लाइनस्टोन कुखुराको दानामा प्रयोग हुने गर्छ ।


फल्क्स फलाम र स्टिलको शुद्धीकरण गर्नमा र फाइन डस्ट ब्लक, टायल्स, पेन्ट (रङ) र प्लास्टिक उद्योगमा प्रयोग हुने गर्छ ।

४० करोड रुपैयाँ लगानीको यस उद्योगको दैनिक उत्पादन क्षमता करिब २ हजार टन छ । वार्षिक १ अर्ब रुपैयाँ मूल्यको उत्पादित सामान विदेश निर्यात गर्ने लक्ष्य छ ।


खानी तथा भूगर्भ विभागबाट डोलोमाइट उत्खननको अनुमति लिई उसले तोकेको मापदण्ड तथा सर्त पूरा गरी सेजसँग उद्योग सञ्चालनका लागि गरिएको सम्झौताअनुरूप उद्योग सञ्चालन गरिएको दाबी उनले गरे ।

प्रकाशित : श्रावण १३, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?