६ करोडमा फार्म

घनश्याम खड्का

म्याग्दी — हरियाली समूह प्रालिले ६ करोडभन्दा बढीको लगानीमा व्यावसायिक कृषि फार्म सुरु गरेको छ । बेनी नगरपालिका–४ सिँगामा १६० रोपनी जग्गा भाडामा लिएर समूहले तरकारी, कुखुरा, माछा र मौरीपालन व्यवसाय सुरु गरेको हो । उक्त समूहले पुष्पखेतीको तयारी पनि थालेको छ । 

उन्नत बोयर जातका बाख्रा र वन्यपन्छी कालिज पाल्नका लागि खोर निर्माणमा लागेको उक्त समूहले मृग पाल्न कानुनी प्रक्रियामा लागेको जनाएको छ ।

‘जिल्लामा कृषि क्षेत्रमा गरिएको यो ठूलो व्यावसायिक लगानी हो । पूर्वाधार थप्दै र विस्तार गर्दै लैजाने योजनामा छौं । अर्गानिक कृषि व्यवसायबाट रिसोर्टदेखि कृषिमै लगानी बढाउनेछौं,’ समूहका निर्देशक शेरबहादुर केसीले भने, ‘समूहमा आबद्ध नभएका कृषकलाई अर्गानिक तरकारी, मासुजन्य उत्पादन तथा फलफूल खेतीमा उत्प्रेरित गर्न अनुदान दिने र उत्पादित वस्तु खरिद गर्ने योजना पनि छ ।’ १९ जना मिलेर स्थापना गरेको हरियाली समूहमा अहिले १ लाखदेखि १० लाख रुपैयाँसम्म लगानी गर्ने ५० सेयर सदस्य छन् ।

हरियाली अर्गानिक कृषि फार्मले पछिल्लो एक महिनादेखि उत्पादन बजार पुर्‍याउन थालेको छ । एक महिनामा १० लाख मूल्यका टमाटर, घिरौंला, लौका, भिन्डी, खुर्सानी, करेला, काँक्रासमेतका तरकारी, २२ लाखको मासु, २ क्विन्टल माछा, २ लाख मूल्यको खर्बुजा निकासी गरेको छ ।

मासु फ्रिजजडित गाडीबाट मुस्ताङका होटलमा पठाइएको छ । फार्ममा ४० जनाले न्यूनतम १५ देखि ४० हजारसम्म पारिश्रमिक पाउने गरी प्रत्यक्ष रोजगारी पाएका छन् । ‘कृषि उत्पादनबाट उत्साही छौं । कार्यरत सबै ४० जना स्थानीय छौं,’ प्रबन्धक इन्चार्ज भगवान् खड्काले भने, ‘माछा थप्ने र आगामी तीन महिनापछि दैनिक १५ हजार अण्डा टिप्न छुट्टै घण्टा सिस्टममा कामदार थप्ने योजनामा छौं ।’

समूहले अहिले एउटा हाइटेकसहित १२ ठूला टनेलमा गोलभेंडा र तरकारी खेती गरेको छ । तीन सय क्विन्टल तरुलका बेर्ना रोपिएका छन् । १५ हजार लेयर्स, २५ हजार बोइलर कुखुरा छन् । थप १५ हजार कुखुराको चल्ला थप्ने तयारी छ । २७ हजार माछा छन् । डेढ लाख माछाका भुरा नर्सरी पोखरीमा हुर्कदैछन ।

प्रकाशित : श्रावण १२, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्

'द फोर्थ वर्ल्ड'

घनश्याम खड्का

भ्यता र विकासका मामिलामा सबभन्दा अगाडि पुगेको अवस्थालाई जनाउन अर्थ राजनीतिक विश्लेषकले प्रयोग गर्ने एउटा पदावली छ– फर्स्ट वर्ल्ड, माने पहिलो विश्व  । दोस्रो विश्वयुद्धपछि अमेरिकी नेतृत्वमा पुँजीवादलाई अवलम्बन गरेर आर्थिक उन्नतिमा पुगेका देशहरूलाई जनाउन प्रयोग गरिने यो शब्दको सांस्कृतिकभन्दा ज्यादा राजनीतिक माने छ  ।

आफूलाई पहिलो विश्व भन्ने पुँजीवादी देशका पण्डितहरूले रुसको नेतृत्वमा साम्यवादी व्यवस्थालाई पच्छ्याउँदै उत्पादनका साधन र स्रोतको वितरणमा फरक ढाँचा पालना गर्दै आएका देशलाई दोस्रो विश्व नामाकरण गरे भने गरिबीको भुमरीमा परेर आर्थिक, सामाजिक व्यवस्थाको कुनै दिशा तय गर्न नसकेका बाँकी संसारलाई तेस्रो विश्व ।

विश्व बैंकजस्ता संस्थाले नीतिहरू बनाउँदा यही विभाजनलाई आधार मानेपछि देशको अर्थ–राजनीतिक ढाँचाअनुसार संसारलाई तीन खण्डमा बाँडेर हेर्ने चलन विश्वव्यापी भएर आएको छ । यसो भन्दैमा पहिलो विश्वका सबै मान्छे उत्तिकै खुसी छन् त ? दोस्रो वा तेस्रो विश्वमा बस्नेहरूबीच असन्तुष्टि र गरिबी उही क्रममा समान रूपले छ त ? पक्कै छैन । पहिलो विश्वमा पनि लाममा सबभन्दा पछि परेकाहरू थुप्रै छन् र बाँकी विश्वमा पनि लाममा सबभन्दा अगाडि उभिएर पहिलो विश्वका मानिसझैं (अझ सके तिनले भन्दा पनि बढी) सुख सुविधाहरूको ‘तर मार्ने’ हरूको ठूलै वर्ग छ ।

लाममा पछाडि पर्ने तथाकथित तीनै ‘विश्व’ का मानिसहरूको अवस्था नियाल्यो भने अर्को एउटा वर्ग फेला पर्छ जो पछि पर्नेहरूको पनि निकै पछि छ, जसको समाजमा कुनै मूल्य छैन र जो सबै दुःखीहरूमा दुःखी छ ।‘यी मान्छेको अवस्थालाई जनाउन छुट्टै पदावलीको जरुरत पर्छ किनभने पहिलो, दोस्रो र तेस्रो विश्वको परिभाषाले तिनको दुःख समेट्दैन,’ हार्वर्ड विश्वविद्यालयमा बसेर त्रिलोकमा नअटाउने हैरानी खेपिरहेका मान्छेहरूबारे सामाजिक अनुसन्धान गर्दै आइरहेका भारतीय अभियन्ता सुरज याङदे भन्छन्, ‘मैले तिनको संसार जनाउन बेग्लै नाम लिने गरेको छु– चौथो विश्व ।’

सबै देश र सभ्यताहरूको सीमान्त अवस्थाका मान्छेलाई जनाउन उनले छानेको पदावली हो यो । खास के भने, चौथो विश्वको पृथ्वीमा कुनै निश्चित भूगोल छैन । किनभने यसभित्र पर्ने मान्छे संसारैभर छरिएका छन् । अनि यसको कुनै निश्चित काल पनि छैन, किनभने सदाकाल यस्ता वर्गका मानिसहरू छन् । त, उनको भन्ने गरेको चौथो विश्वमा को छ ? स्पष्ट छ– हेपिएका र पछाडि पारिएकाहरू । को हेपिएका छन् सबभन्दा बढी ? को पछाडि पारिएका छन् ? त्यो पनि प्रस्टै छ– दलितहरू ।

सामान्यतया हिन्दु समाजमा मात्रै जातभात र छुवाछूत प्रचलित छ भन्ने आम संकथन छ संसारैभर । महाराष्ट्रको एक कथित दलित झुपडपट्टीमा जन्मे हुर्केका सुरजलाई पनि भारत छाड्नुअघि त्यस्तै लाग्थ्यो । ‘तर होइन रहेछ, नाम जेसुकै भए पनि संसारैभर दलितहरू रहेछन् किनभने संसारैभर ब्राह्मणहरू रहेछन्,’ सुरज भन्छन्, ‘जुन समाजमा पनि हेप्नका लागि भनेर एउटा वर्ग जीवित राखिएको हुँदो रहेछ, दलित हिन्दु समाज भएका भारत वा नेपालमा मात्रै छन् भन्नु पूर्ण सत्य होइन ।’ यस हिसाबले हेर्दा उनी के देख्छन् भने, पहिलो, दोस्रो र तेस्रो तिनै विश्वमा चौथो विश्वका मानिसहरू छन् ।

हो, संख्याका हिसाबले दलितहरू भारतमा सबभन्दा बढी छन्, झन्डै तीस करोड । यो भारतको कुल जनसंख्याको झन्डै २५ प्रतिशत हुन आउँछ । पछिल्लो जनगणनाअनुसार नेपालमा कथित दलितको संख्या ३६ लाख छ । यो कुल नेपालीको १३.६ प्रतिशतजति हो । अनुपातका हिसाबले हेर्दा यो ठूलो संख्या पक्कै हो । तर, यत्तिकै भरमा संसारमा अन्यत्रचाहिँ दलितै छैनन् भन्नुचाहिँ ठीक होइन भन्छ सुरजको खोजले ।

सुरज चाहन्छन्, यसो भन्दा अपत्यारमा ओठ लेब्य्राउनेहरूले फ्रान्समा गएर कागो समुदायलाई भेटून्, कोरियामा गएर बाएकजेओङहरूको कुरा सुनून् वा जापान पुगेर एकपटक कुनै बुराकुमिनसँग केही काल बसून् । यमनका अल–अख्दम हुन् कि चीनका फुझोउ ताङ्का वा नाइजेरियाका इग्बुहरू हुन्, आ–आफ्ना समाजमा तिनलाई अछूत भनेर अन्य मानिसले छुँदैनन्, नेपाल र भारतमा झैं ती देशका रैथाने संस्कृतिले उनीहरूसँग बराबरी सम्बन्धको मितेरी गाँस्न आउँदैन । वर्णाश्रम धर्मले गाँजिएको हिन्दु समाजमा जस्तै संसारभरका दलितहरूको आफ्नो समाजमा श्रम चल्छ, सीप चल्छ तर पानी चल्दैन ।

‘मान्छेलाई छुन हुन्न रे ! यसो सुन्दा के यो हाँसो उठ्दो कुरा होइन ?’ सुरज भन्छन्, ‘तर, यही हाँसो उठ्दो व्यवस्थाले करोडौं मान्छे कहिल्यै हाँस्न नसक्ने गरी थेचारिएका छन् ।’ यो वा त्यो नामले यसरी संसारैभर प्रचलनमा रहेको यो जातिप्रथालाई केन्द्रविन्दु बनाएर सुरजले एक मानवशास्त्रीय ढाँचाका पुस्तक लेखेका छन्, ‘कास्ट म्याटर्स’ जसलाई पेन्गुइनले भर्खरै प्रकाशित गरेको छ । यही पुस्तकको विमोचनमा केही अघि चार दिनका लागि नेपाल आएका सुरजले काठमाडौंका तन्नेरीहरूमाझ चौथो विश्वका बारेमा रोचक बहस चलाए ।

दलित मुक्तिको विश्वव्यापी मोर्चा सम्हालेका भारतीय विद्वान् बाबासाहेब अम्बेडकर भन्ने गर्थे– छुवाछूत भनेको एक रोग हो जसलाई सदैव उच्च जातकाले बोकेर हिँड्छन् । उमेरले भर्खर ३० लागेका हार्वर्डका अनुसन्धाता सुरजको निष्कर्ष पनि उही छ– छुवाछूतको दलदलबाट माथि निकाल्न दलितले कसैलाई पर्खेर नबसे हुन्छ किनभने गैरदलितहरू यसप्रति अलिकता पनि गम्भीर छैनन् ।

‘हुन्थे भने, अहिलेसम्म जातप्रथा किन रहिरहन्थ्यो ? मन्दिर पस्न खोज्दा कथित डुम र चमारहरूले अहिले पनि किन कुटाइ खाइरहन्थे ?’ सुरज भन्छन्, ‘त्यसैले यो चौथो विश्वमा पहिलो, दोस्रो र तेस्रो विश्वका कथित उच्च जातका मान्छे आउलान् र छुवाछूतको पासोबाट मुक्त गराइदेलान् भनेर कुनै पनि दलित दाजाभाइ, दिदीबहिनीले सोच्नुसम्म पनि मूर्खता हो ।’

कथित उच्च जातकाले जीवनका हरेक पाइलामा आफू उच्च कुलको, राम्रो नश्लको र ठूलो खानदानको भनेर चिनाउन छाड्दैन । यही विचार नै करोडौं मान्छेलाई दलित बनाउन र बनाइराख्न कारगर हुन गएको देखिन्छ मामिलालाई मिहिन रूपले केलाउँदा । कोही ठूलो जातको हुनका लागि कोही सानो जातको हुनु अनिवार्य छ । नत्र भने, जातमा गर्व गर्नुपर्ने कुनै कुरै रहँदैन ।

सुरजका विचारमा, ब्राह्मणहरूले आफूलाई ब्राह्मण भनेर तदनुसारको जातिबोध गर्न नछाडेसम्म तिनका सामाजले दलितहरूलाई हेयको दृष्टिले हेरि नै रहन्छ । समस्या के भने, मानपदवी पाएजस्तो जन्मका कारण फोस्सामा मिलेको यो उच्च कुलीन भाव कुनै एक दुई व्यक्तिले संस्कार र शिक्षाको प्रभावका कारण छाड्न सक्ला तर सिंगो समाजले सक्दैन । ‘त्यसो हुनाले हामी अब कसैलाई कुरेर बस्नु जरुरी छैन र एक्लो भयौं भनेर अपमान सहिरहनु पनि हुँदैन,’ सुरज भन्छन्, ‘अब चौथो विश्वको आवाज एकै पटक बुलन्द हुने गरी संसारभरका दलितहरू एक ठाउँमा उभिनु जरुरी छ, हाम्रो मुक्तिका लागि हामी आफैं अघि सर्नु जरुरी छ ।’

अम्बेडकरले आफ्नो जीवनकालमा संसारभरका दलितलाई एक गराउन थालेको अभियानले त्यति सार्थकता पाउन सकेन किनभने त्यो समय त्यस कामका लागि त्यति परिपक्क भइसकेको थिएन । तिनताक एक देश र अर्को देशबीच समेत सम्पर्कको ज्यादा सुविधा थिएन । एक देशका मान्छे र अर्को देशका मान्छेबीचको सम्पर्क झनै कठिन थियो । जुगदेखि हेपिएका दलितहरूको विश्वव्यापी सञ्जाल हुनु त परको कुरा । अहिले अवस्था त्यो छैन । सूचना र यातायातको विकासले हरेक मान्छे हरेक मान्छेसँग कुरा गर्न सक्ने भएको छ । हरेक समाज हरेक समाजसँग बहस चलाउन सक्ने भएको छ । मुख्य कुरा त, कुनै पनि व्यक्तिलाई पूरा संसारलाई थाहा हुने गरी आफ्नो कुरा राख्न सक्ने गरी फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालले ठाउँहरू उपलब्ध गराइदिएको छ । ‘अब हामीले यसको प्रयोग गर्नुपर्छ,’ सुरज भन्छन्, ‘परम्परागत मिडियामा त दलितहरू कतै छैनन्, बढीभन्दा बढी भए दलितहरू समाचार बन्न सक्छन् तर तिनको पीडा कुनै हेडलाइन बन्न सक्दैन किनभने मिडियामा दलितको लगानी पनि छैन र कलम पनि छैन ।’

एक ठाउँको दलितमाथि भएको दुर्व्यवहार सिंगो मानतामाथि भएको दुर्व्यवहार मानेर त्यसको विश्वव्यापी विरोध गर्नु चौंथो विश्वका अभियन्ता सुरज र नेतृत्वमा उनलाई साथ दिने समकालीन युवाहरूको प्राथमिकतापूर्ण काम हुनेछ । त्यसभन्दा पनि बढी, संसारभरका दलित युवालाई जागरुक बनाएर सुरज एक अहिंसावादी सामाजिक आन्दोलनको सुरुआत गर्न चाहन्छन् । त्यो के भने, कथित माथिल्लो जातको हुँ भन्नेहरूको आँखामा आँखा मिलाएर सिधै सोध्ने, ‘तिमी कसरी माथ्लो जातको, हामी कसरी तल्लो जातको ? कोही कसरी ठूलो ? कोही कसरी सानो ? कसरी महोदय ? कसरी ?’

सुरज भन्छन्, चौथो विश्वको यो आन्दोलन तबसम्म चली नै रहनेछ जबसम्म जातका आधारमा हुने भेदभाव मान्छेको व्यवहारमा रहिरहनेछ । ‘अबको पुस्ता जब्बर छ,’ सुरज मुस्कुराउँछन्, ‘जीवनका हर घुम्ती र बिसौनीहरूमा हामी उच्च जातहरूको आँखा ताकेर यस्ता प्रश्न गरेर छुवाछूत जन्माउने अवधारणालाई लज्जित पार्नेछौं ।’

कानुनले उहिल्यै वर्जित गरे पनि व्यवहारमा भने रही नै रहेको यो छुवाछूत प्रत्येक मनुष्यले लाजमर्दो परम्परा हो भन्ने बोध व्यवहारमै नगरेसम्म चौथो विश्वले यस किसिमको जागरुकता देखाई नै रहने र उच्च जातको हुँ भन्नेहरूलाई त्यो अभिमानको लिस्नोबाट ओरालेर सबै मान्छे समान हुन् भन्ने साँचो अनुभवको संसारमा पुर्‍याउने काम गरी नै रहनेछ भन्छन् सुरज ।

‘यो जीवन नै अर्पण गर्नुपर्ने ज्यादै समर्पणपूर्ण काम हो,’ सुरज भन्छन्, ‘तर, मैले खुसी खुसी यस कामका लागि आफूलाई सुम्पेको छु किनभने अन्याय टुल्टुल्ती हेरेर बसिरहनु त झनै बेसोमतको काम हो ।’
Twitter : @bodhighanashyam

प्रकाशित : श्रावण ११, २०७६ १०:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्