१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

तरकारी बिक्री गर्न दुई घण्टा पैदल

सन्जु पौडेल

रुपन्देही — पाल्पाको तिनाउ गाउँपालिका–९ की पूर्णकुमारी गाहा बिहानै उठेर अघिल्लो रात ठिक्क पारेको तरकारी बोकेर २ घण्टा पैदल हिँड्छिन् ।

त्यसपछि भारीसहित ५० रुपैयाँ तिरेर बुटवल आउने उनलाई एक बोरा तरकारी र अन्य वस्तु बेच्दा थोरै मात्र नाफा हुन्छ । काम भने गर्न छोडेकी छैनन् । १३ वर्षदेखि उनको यसै गरी व्यापार चलिरहेको छ ।


हरेक साताको बुधबार र शनिबार उनी बुटवल आइपुग्छिन् । ‘श्रीमान्ले यस्तै व्यापार सिकाइदिएर बित्नुभयो,’ उनले भनिन्, ‘यसै गरी गुजारा चलेको छ ।’ कमाएर दिने कोही नभएपछि बुढ्यौलीमा सुख नपाएको उनको गुनासो छ । छोरा–बुहारी छुट्टै बस्छन् । २ छोरीको बिहे भइसकेको छ । गरिब भएपछि आफन्तले पनि नहेर्ने उनले बताइन् । पहिले माछा बेच्ने र बिस्तारै तरकारी व्यापार सिकेको बताइन् । यतिबेला हरियो पात र तामा बेच्दै छिन् ।


उर्मिला दर्लामी सत्यवती गाउँपालीका–४ मा बस्छिन् । १२ वर्षदेखि उनको तरकारी व्यवसाय जारी छ । तरकारी बेचेर भएको आम्दानीले बालबच्चालाई खानेकुरा र घरको खाद्यान्न किन्दा ठिक्क हुन्छ । ‘गरिरहेको काम भएकाले छोड्न मन लाग्दैन,’ उनले भनिन्, ‘दाल चामल र केटाकेटीलाई खानेकुरा पुग्छ, गरिरहन्छु ।’ उनी आफ्नै बारीमा साग रोप्छिन् र जंगलबाट न्युरो टिपेर बेच्न बुटवल झर्छिन् । उनको घरबाट गाडी चढ्ने ठाउँसम्म आउन पनि २ घण्टा नै पैदल हिँड्नुपर्छ । तैपनि काम नगरी बस्नभन्दा दुःख गरिरहेको उनले बताइन् ।


अन्यजस्तै लीला घर्ती मगरको नित्य काम पनि यही हो । साताको दुई दिन बुटवल बजारका लागि छुट्ट्याएकी उनको ११ वर्षदेखि यस्तै दैनिकी छ । सानै उमेरदेखि बुवाआमासँग बुटवल आउने उनलाई बुबा–आमाकै देखासिकीले यो व्यापार गर्न सघाएको हो ।


मौसम अनुसार अदुवा, धनियाँ, बेसार, सिमी, तामा, न्युरोलगायत लिएर उनी बजारमा बेच्न आउँछिन् । ‘नगरेरभन्दा गरेपछि केही हुन्छ,’ उनले भनिन्, ‘बाँचुन्जेल गरिरहने हो, घरखर्च पनि चल्छ, आफूलाई हातखर्च पनि हुन्छ ।’ बिहान साढे ४ बजे नै हिँड्नुपर्ने भएकाले राति नै ठीक्क पारेर राख्ने उनले बताइन् ।


उनीहरूजस्तै हरेक साता पाल्पाका विभिन्न गाउँबाट २/३ घण्टा पैदल र गाडीमार्फत बुटवल बजारमा पुगेर तरकारी तथा हरियो पात बेच्ने महिलाको संख्या ठूलो छ । बस्तीबस्तीमा जिप पुगे पनि बजार आउने हतारले अँध्यारोमै उठेर हिँड्न बाध्य छन् उनीहरू । बजारमा ल्याएर पनि ग्राहक र स्थानीय व्यापारीको बार्गेनिङले उनीहरूलाई समस्या पार्छ । नगरपालिकाले उस्तै दुःख दिन्छ । बोरा बोकेर तरकारी फिर्ता लिएर हिँड्नपर्ने बाध्यता पनि हुने उनीहरूले बताए ।

प्रकाशित : श्रावण १२, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?