३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बन्दीका कपडा अब बिक्री कक्षमा

नुमा थाम्सुहाङ

काठमाडौँ — केन्द्रीय कारागारका बन्दीहरूले उत्पादन गरेका कपडाको बिक्री वितरणका लागि उद्योग विभागको जग्गामा भवन निर्माण गरिएको छ । उत्पादित कपडाको प्रचार र बिक्रीका लागि प्रदर्शनी तथा बिक्री कक्ष भवनको निर्माण गरिएको हो ।

‘भवन निर्माणको काम सकिएको छ । फर्निचर बनाउनेलगायतका भित्री काम मात्र बाँकीे छन्,’ उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले भने, ‘अर्थ मन्त्रालयबाट प्राप्त १७ लाख रुपैयाँ बजेटमा काम सुरु गरेका हौं ।’


कारागारमा प्रदर्शनी तथा बिक्री कक्ष निर्माण गर्दा सर्वसाधरणलाई जानकारी नहुने केन्द्रीय कारागार कारखाना प्रमुख रामहरि ढुंगेलले बताए । ‘यो कारागार भएकाले सर्वसाधरणलाई यहाँ कपडा कारखाना छ भनेर थाहा हुँदैन,’ उनले भने, ‘त्यसपछि उद्योग विभागको सहयोगमा कारागारभन्दा बाहिर प्रदर्शनीस्थल बनाइएको हो ।’


जेठबाट भवन निर्माणको काम सुरु भएको थियो । दसैंअघि सबै काम सकेर प्रदर्शनी तथा बिक्री कक्ष तयार पार्ने योजना रहेको कारागार प्रमुख ढुंगेलले बताए । ‘दसैंलाई नै मध्यनजर गरेर काम अगाडि बढाएका छौं,’ उनले भने, ‘हरेक वर्ष ३५ जना नयाँ बन्दीहरूलाई रंगाइ तथा बुनाइको काम सिकाउने लक्ष्य कारागारले राखेको छ ।’


कारखानामा हाल १५० बन्दीले काम गर्छन् । लामो कैद अवधि तोकिएका बन्दीहरूलाई कारागार कारखानामा काम सिकाइन्छ । बन्दीहरूले कारखानामा काम गर्दा सजायमा दुई महिना मिनाहा हुन्छ । १० वर्षभन्दा बढी कैद सजाय पाएका इमान्दार बन्दीहरूलाई काम दिइने प्रमुख ढुंगेलले बताए । ‘गृह मन्त्रालय र उद्योग मन्त्रालय मिलेर बन्दीहरूले पनि काम सिकुन् भनेर कारागार कारखानाको सुरुवात भएको हो,’ उनले भने ।


धागाको नम्बरका आधारमा कपडा तयार पारिने कारागार कारखाना निरीक्षक राजेन्द्रबहादुर शाहीले बताए । ‘धागो नं.२२० बाट जाडाका लागि बाक्लो कपडा र धागो नं. २४० बाट गर्मीका लागि कपडा उत्पादन गरिन्छ,’ उनले भने । तन्ना, सिरकको खोल, सर्टको कपडा, पर्दा, रुमाल, तौलियालगायत कपडा बन्दीले उत्पादन गर्छन् । ‘यो टेक्स्ट टाइल (कपडा बुनाइ) कारखाना हो,’ उनले थपे, ‘सय प्रतिशत सुतीले बनेको हुनु यहाँका कपडाको विशेषता हो । बाहिर शुद्ध सुतीबाट बनेका कपडा पाइँदैन । यो नेपाल सरकारको बन्दी कारखाना भएकाले यहाँ त्यो उपलब्ध छ ।’

प्रकाशित : श्रावण १०, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?