कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

लाखौं अपचलन गरी सहकारी अध्यक्ष सम्पर्कविहीन

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानका एक सहकारी संस्थाका अध्यक्ष करोडौं रुपैयाँ अपचलन गरी बेपत्ता भएका छन् । सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण विक सहकारीको रकम हिनामिना गरी असार २३ गतेदेखि सम्पर्कविहीन भएका हुन् ।

लाखौं अपचलन गरी सहकारी अध्यक्ष सम्पर्कविहीन

विकले सहकारी संस्थाको पासबुक प्रयोग गरी आफूले नै सञ्चालन गरेको धरान १२ स्थित शिखर सुनचाँदी पसलमा लगानी गरेर करोडौं रुपैयाँ हिनामिना गरेको खुलेको छ । विकले धरान–४ पत्रङबारीमा पनि कृषि फार्म सञ्चालन गरिरहेका छन् ।


सहकारीका अध्यक्ष विक सम्पर्कविहीन भएपछि केही बचतकर्ताहरूले सञ्चालक समितिलाई हिसाबकिताब पारदर्शी गर्न दबाब दिएका थिए । संस्थाकी उपाध्यक्षसमेत रहेकी विष्णुकुमारी श्रेष्ठसहित १२ जना सञ्चालक समिति सदस्यले निवेदन दिएका थिए । उनीहरूले धरान उपमहानगरपालिका मातहतको सहकारी विकास समितिमा निवेदन दिएका थिए । समितिले तत्कालै टंक सुवेदीको संयोजकत्वमा समिति बनाएर छानबिन गरिरहेको छ ।


समिति संयोजक सुवेदीले सहकारीका अध्यक्ष विक असार २३ गतेदेखि सम्पर्कविहीन भएको बताए । समितिमा साउन ५ गते मात्र उजुरी आएको छ । ‘उजुरी पर्नासाथ छानबिन सुरु गरिसकेका छौं । बिहीबारसम्ममा प्रतिवेदन तयार गरेर समितिमा बुझाउने छौं,’ उनले भने ।


सुवेदीका अनुसार सहकारीको पासबुक प्रयोग गरेर सुनचाँदी पसलमा लगाएको ६८ लाख रुपैयाँबाहेकको अरू पासबुकबाट के कति अपचलन गरेको हो त्यो थाहा पाउन सकिएको छैन । सहकारी नियमअनुसार सुनचाँदी पसल सञ्चालन गर्न नपाए पनि विकले बुद्धि पुर्‍याएर सहकारीकै रकम आफ्नो नाममा सञ्चालन गरेको सुनचाँदी पसलमा प्रयोग गरेको देखिएको सुवेदीले बताए । सहकारीमा विक अध्यक्ष रहेको अवस्थामा आफ्नै छोरा मोहन दर्नाललाई व्यवस्थापक बनाएर आर्थिक हिनामिना गरेको देखिएको सुवेदीले बताए । सहकारीको पासबुकमा बचत गरिएको रकम संस्थामा जम्मा नगरी सुन पसलको खातामा जम्मा गर्ने गरेको पनि फेला परेको छ ।

समितिका संयोजक सुवेदीले भने, ‘सहकारीको पासबुकमा बचत भनेर भरिदिने तर सहकारीमा ‘क्यापिटलाइज’ नगरिदिएको देखिन्छ । त्यो हिसाबमा सहकारीको पैसा भन्न मिल्दैन । सहकारीले वार्षिक २ करोडभन्दा माथि कारोबार गरिरहेको देखिएको छ ।’


असार २३ गतेदेखि विक सम्पर्कविहीन भएपछि खोजतलास गरिपाऊँ भनेर उनका छोरा मोहनले साउन ५ गते मात्र इलाका प्रहरी कार्यालयमा निवेदन दिएको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए । ‘कृष्ण र उसका परिवारबीच सम्पर्कविहीन भएको दुई साता बितेपछि मात्र खोजीका लागि निवेदन आएको छ । हामी निवेदनअनुसार खोजतलास गरिरहेका छौं,’ उनले भने ।


बचतकर्ताहरूले सहकारी सञ्चालक समितिलाई हिसाबकिताब देखाउन दबाब दिएको र सञ्चालक समितिले सहकारी विकास समितिलाई निवेदन दिएकै मितिमा घरका सदस्यले इप्रकामा खोजतलास गर्न निवेदन दिनु परिवारकै सदस्यबीच मिलेमतो भएको हुन सक्ने अनुमान गरिएको छ ।


सहकारीमा बचतकर्ताहरूले ८० हजार रुपैयाँदेखि ८ लाख रुपैयाँसम्म बचत गरेको छानबिनमा देखिएको छ । सहकारीका बचतकर्ताहरू करिब ५ सयजना रहेका छन् । दुई वर्षअघि अर्को सञ्चालक समितिले चलाउँदै आएको उक्त सहकारीलाई विकको समूहले कानुनी प्रक्रिया अपनाएर नयाँ सञ्चालन समिति बनाएर चलाउँदै आएको थियो ।


यस्तै असार २३ गतेदेखि सम्पर्कविहीन भएका विकले असार २७ गतेको मितिमा धरान–१५ बाझगरामा रहेको जग्गा श्रीमतीमार्फत करिब १ करोड ७५ लाख रुपैयाँमा बिक्री गरेको पाइएको छानबिन समितिले जनाएको छ । सहकारी ऐन २०७४ विपरीत प्रबन्धकसमेत रहेका विकका छोरा मोहनले आफूलाई जानकारी नदिई बुबा सम्पर्कविहीन भएको बताए ।


उनले करिब ३ करोड ऋण रहेको पनि बताए । प्रबन्धक मोहनले बुबाले खाएको ऋण तिर्ने दायित्व स्वतः छोरामा आउने भएकाले आफू ऋण तिरिदिन तयार रहेको समेत बताए । सहकारी ऐन २०७४ मा अध्यक्ष भागेमा सञ्चालक समितिले बचतकर्ताको जम्मा भएको रकम ब्याजसहित फिर्ता गर्ने र त्यो गर्न नसकेमा सञ्चालक समितिको सम्पत्तिसम्म जफत गर्ने व्यवस्था छ ।


सहकारीका उपाध्यक्ष विष्णुकुमारी श्रेष्ठले अध्यक्ष नै गायब भएकाले अन्योल भएको बताइन् । सहकारीमा के कति कारोबार हुने गरेको थियो, कति सेयर सदस्य, बचतकर्ता थिए र कहाँकहाँ लगानी हुने गरेको थियो भन्नेबारे अनभिज्ञ रहेको बताइन् । उनले भनिन्, ‘सहकारी नै डुबाउने परिस्थिति आएपछि सञ्चालक समितिले नै छानबिनका लागि उजुरी दिन बाध्य भएका हौं ।’

प्रकाशित : श्रावण ९, २०७६ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?