१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

६३ हजारलाई पुनर्निर्माणले सूचीबाट हटायो

काठमाडौँ — भूकम्प पीडितको सूचीमा परेका तर अनुदान सम्झौता गर्न नआएका र अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता रकम नलिएका झन्डै ६३ हजारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सूचीबाट हटाएको छ । 

निजी आवास पुनर्निर्माणका लागि लाभग्राही सूचीमा परी असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट

हटाइएको प्राधिकरणले जनाएको छ । असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरू पनि लाभग्राहीको सूचीबाट हटेका छन् ।


अनुदान लिनयोग्य लाभग्राहीमा परेका ५७ हजार ३ सय ९ ले अनुदान सम्झौता गरेका छैनन् । कुल लाभग्राही ८ लाख २६ हजार ९ सय ३३ भएकामा ७ लाख ६९ हजार ६ सय २४ ले अनुदान सम्झौता गरेको प्राधिकरणले जनाएको छ । अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको संख्या ५ हजार ५ सय ४० छ ।


प्राधिकरणले भूकम्पमा घर भत्किएका पीडितहरूलाई निजी आवास निर्माणका लागि तीन किस्तामा ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराइरहेको छ ।


पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले यसअघि प्राधिकरणले गरेका निर्णयहरूलाई कार्यान्वयन गर्ने क्रममा समयमा अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको नाम लाभग्राहीको सूचीबाट हटाएको बताए ।


प्राधिकरणले २०७६ जेठ मसान्तसम्म लाभग्राही सूचीमा समावेश भएकालाई असार २१ सम्म सम्झौता गर्न समय दिएको थियो । यस्तै अनुदान सम्झौता गरेकाले पहिलो किस्ता लिने समयसीमा ०७६ असार मसान्त तोकेको थियो । अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको अब अनुदान सम्झौता गर्ने र पहिलो किस्ता दिने काम स्थगित गर्न सबै निकायहरूलाई निर्देशन दिइसकिएको प्राधिकरणले जनाएको छ ।


अनुदान सम्झौता गर्न र पहिलो किस्ता लिन नआएकालाई सुनुवाइको विकल्प भने दिइएको प्राधिकरणले जनाएको छ । ‘अनुदान सम्झौता गर्न छुटेका र पहिलो किस्ता लिन नआएकाहरूमध्ये कसैले पर्याप्त कारणसहित स्थानीय निकायमा निवेदन दिन सक्नेछन्,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : श्रावण ८, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?