कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भीसीटीएसको विरोध : राजस्व प्रभावित, उद्योग बन्द

भैरहवा / नेपालगन्ज — सरकारले लागू गरेको मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) को विरोधमा एक सातादेखि भइरहेको ढुवानी बन्दले भन्सारमा डेढ अर्बभन्दा धेरै राजस्व असुली प्रभावित भएको छ ।

भैरहवा–लुम्बिनी कोरिडरका एक दर्जन सिमेन्ट उद्योगले उत्पादन बन्द गरेका छन् । बजारमा खाद्यान्नलगायत निर्माण सामग्रीको अभाव हुन थालेको छ ।


सरकारले साउन १ गतेदेखि यस्तो प्रणाली लागू गरेपछि विरोधमा ट्रान्सपोर्ट व्यवसायीले ढुवानी बन्द गरेका हुन् । अहिले तराई तथा पहाडमा उत्पादित वस्तु बजारमा पुग्न सकेका छैनन् । डिलर र थोक विक्रेतासँग मौजदात मालसामानपनि गोदाममै थन्किएको छ । बजारमा सामानको अभाव हुन थालेको छ ।


भैरहवा भन्सारले सामान्य अवस्थामा दैनिक २५ देखि ३० करोड रुपैयाँ राजस्व संकलन गर्थ्यो । ढुवानी ठप्प भएपछि अहिले दैनिक सरदर ५ करोड रुपैयाँ राजस्व असुली भइरहेको छ । मोटरसाइकल र ब्रान्डेड जिप/कारको आयात हुँदा राजस्व बढ्ने गरेको छ । ‘ढुवानी बन्दले राजस्व प्रभावित भइरहेको छ,’ भैरहवा भन्सार प्रमुख कमलप्रसाद भट्टराईले भने, ‘आयात पनि कम भएको छ । सामान लिन नेपाली ट्रक भन्सार परिसरमा आएका छैनन् ।’


औद्योगिक कच्चा पदार्थ भारतीय नम्बरकै ट्रक र कन्टेनरबाट आउने गरेको उनले बताए । औद्योगिक कच्चा पदार्थमा फलामे एमएस ब्लेड आउने गरेको छ । मार्बल र टायल्ससहितका भारतीय गाडी कम आउने गरेका छन् । पेट्रोलियम पदार्थको आयात सहज छ ।

भन्सारका अनुसार साउन १ गते पेट्रोलियम पदार्थबाहेकका २६ गाडी पास भएका थिए ।


साउन १ देखि ५ गतेसम्म ६ सय ७१ वटा साना र ठूला गाडी भन्सार पास भएका छन्, जसमा नेपाली नम्बरका १६ वटा साना गाडी छन् । अन्य गाडी तरकारी, फलफूल बोकेका भारतीय नम्बरका हुन् । त्यसमा नयाँ जिप/कार पनि छन् । यस अवधिमा करिब ४० करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ । आइतबार ब्रान्डेड नयाँ कार/जिप आएकाले राजस्व असुली ३४ करोड ७९ लाख रुपैयाँ पुगेको थियो ।


भन्सार कार्यालय हुँदै दैनिक ३ देखि ४ सय गाडीले मालवस्तु ढुवानी गर्छन् । पेट्रोलियम पदार्थको आयातबाट मात्र दैनिक २ करोडदेखि २ करोड ५० लाख रुपैयाँ राजस्व प्राप्त हुने गर्छ । यहाँ कुल ढुवानीमध्ये ५० प्रतिशत नेपाली ट्रकबाट हुने गर्छ । ‘भन्सारको लक्ष्यलाई राजस्व संकलनले भेट्टाउन चालु आर्थिक वर्षका लागि पनि चुनौतीपूर्ण देखिन्छ,’ भन्सार प्रमुख भट्टराईले भने, ‘नेपाली गाडीले ढुवानी नगरेपछि भारतीय गाडीबाट भन्सार विन्दुसम्म हुने ढुवानी र आयात कम छ ।’


नाकामै थन्किए गाडी

ढुवानी एजेन्टले भन्सारबाट सामान छुटाउन नमानेपछि मालवस्तु ढुवानीका गाडी नेपालगन्ज नाकामा थन्किएका छन् । भ्याटमा दर्ता हुनुपर्ने नीति सरकारले ल्याएपछि त्यसको विरोधमा एजेन्टले काम नगरेपछि मालवाहक गाडी थन्किएका हुन ।


भन्सार एजेन्ट अहिले आन्दोलनमा उत्रिएका छन् । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले एजेन्ट वा उनका प्रतिनिधिले काम नगरिदिंदा मालवाहक गाडी भन्सारमा रोकिएको बताए ।


नेपालगन्जमा एक जना मात्र एजेन्ट छन् । काठमाडौं, वीरगन्ज, भैरहवामा एजेन्टका प्रतिनिधि छन् । कसैले पनि साउन १ गतेबाट काम गरेका छैनन् । भन्सार प्रमुख निरौलाले एजेन्ट या उसका प्रतिनिधिले काम नगरेको खबरपछि विभागले उद्योगी–व्यवसायीले सामान लैजान चाहेमा अनुमति दिनू भनेर परिपत्र पठाएको बताए ।


‘उद्योगी–व्यवसायी आफैं आएर गाडी छुटाउन मिल्ने गरी विभागबाट परिपत्र आएको छ,’ भन्सार प्रमुख निरौलाले भने, ‘तर उद्योगी–व्यवसायी आफैं गाडी छुटाउन आएका छैनन् ।’ सरकारले भीसीटीए लागू गरेसँगै भारतबाट गाडी भित्रिन कम भएको हो । ढुवानी व्यवसायीको आन्दोलन चलिरहेकाले व्यापारीले माल मगाएका छैनन् ।


सरकारले भारतबाट आयात हुने तरकारी र फलफूलमा पदार्थको विषादी अवशेष जाँच गरेपछि मात्रै भन्सार पास दिने नियम लागू गर्दा नाकामा यसअघिदेखि गाडी रोकिएका थिए ।

प्रकाशित : श्रावण ७, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?