छिटो कार्य सम्पादन गर्न अध्ययन

माधव ढुंगाना

भैरहवा — विश्व भन्सार संगठनको मापदण्डका आधारमा भन्सार प्रक्रियालाई सरल र छिटो बनाउन विभागले अध्ययन थालेको छ । विभागले यहाँस्थित भैरहवा र वीरगन्ज भन्सारमा आइतबारदेखि ट्रेस सर्भे तथा अध्ययन सुरु गरेको हो ।

सर्भेबाट मालवाहक गाडी भन्सार प्रवेश गरेदेखि सबै प्रक्रिया पूरा गरेर बाहिरिँदासम्म धेरै समय लाग्नुको कारण पत्ता लगाएर सुधार गरिनेछ ।


यस अवधिमा प्रश्नावलीको माध्यमबाट विभिन्न निकायमा सर्भेक्षण गरिनुका साथै भन्सार प्रक्रियासँग सरोकार राख्ने विभिन्न निकायमा लाग्ने समय अध्ययन गरिनेछ । भैरहवा भन्सार अध्ययनमा खटिएका विभागका निर्देशक मुक्ति आचार्यले अध्ययनले विश्व भन्सार संगठनको मापदण्डअनुसार कार्य सम्पादन गरी सेवाग्राहीलाई सुविधा दिलाउन सुधारमा सघाउने विश्वास गरिएको बताए ।


‘एउटा गाडी भन्सारमा प्रवेश भएपछि प्रक्रिया पूरा गरेर बाहिरिँदा कहाँ कति समय लाग्ने रहेछ, त्यसबारे अध्ययन गरिनेछ,’ उनले भने, ‘समय पत्ता लागेपछि कुन ठाउँमा कस्तो सुधार जरुरी रहेछ, त्यसको खोजी गरिनेछ ।’ अध्ययनका लागि विभागबाट छजनाको टोली खटिएको उनले जनाए ।


सन् २०१७ मा विभागले मेची र विराटनगर भन्सारमा यस्तो अध्ययन गरिसकेको छ । ती दुई भन्सारमा अध्ययन गर्दा एउटा गाडी प्रवेश भएपछि सबै प्रक्रिया पूरा भई बाहिर निस्किन सरदर १८ घण्टा लाग्ने अध्ययनले देखाएको थियो ।


भन्सारमा मात्रै साढे २ घण्टा समय लाग्ने र बाँकी आयातकर्ता तथा भन्सार एजेन्टले सामानको घोषणा गर्दा, बैंकिङ प्रक्रिया, प्लान्ट तथा पशु क्वारेन्टाइन, खाद्य परीक्षण, यार्डमा लाग्ने अपरेटरको समयलगायतमा लाग्ने गरेको देखिएको थियो । यस वर्ष वीरगन्ज र भैरहवा भन्सारमा अध्ययन गरिएपछि भन्सारमार्फत हुने नेपालको करिब ९० प्रतिशत व्यापारलाई समेटिने भन्सार निर्देशक आचार्यले बताए ।


‘कुन ठाउँमा धेरै समय लाग्ने रहेछ, त्यसको खोजी गरिनेछ,’ उनले भने, ‘आवश्यक परेमा भन्सार ऐन, भन्सारमा लागू गरिएको कम्प्युटर प्रणालीमा समेत संशोधन गरिनेछ ।’ भन्सार प्रशासनभित्रको आन्तरिक सुधार गर्नुपरेमा पनि समस्या पत्ता लगाई समाधानको उपाय खोजिने उनले बताए । नेपालको भन्सारमा सरदर ८५ प्रतिशत काम एकै दिनमा सम्पन्न हुने गरेको अध्ययनले देखाएको छ ।

प्रकाशित : श्रावण ६, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?