१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चोरी पैठारीले राजस्व लक्ष्य प्रभावित

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमको प्रमुख त्रिनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०७५/७६ मा ५ करोड १० लाख रुपैयाँ बराबरका राजस्व छलीका सामान बरामद गरेको छ । दैनिक लाखौंको राजस्व छली हुने यो नाकाबाट बरामद यो परिमाण निकै कम हो ।

दिनहुँको चोरी पैठारीले भन्सार कार्यालयको वार्षिक राजस्व लक्ष्य प्रभावित भएको छ । भन्सार कार्यालयलाई वार्षिक लक्ष्य भेट्टाउनै हम्मेहम्मे परेको छ ।


त्रिनगर भन्सारले ५ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । ५ अर्ब १९ करोड रुपैयाँ मात्र राजस्व संकलन गर्न सक्यो । भन्सार अधिकृत गोपीकृष्ण उप्रेती भने लक्ष्य प्राप्ति नहुनुको कारण तरकारीमा लगाइएको रोक भएको दाबी गर्छन् । ‘असारमा भारतबाट भित्रिने तरकारीमा रोक लगाइयो,’ उप्रेतीले भने, ‘कैलालीको अर्को नाका खक्रौलामा पनि भन्सार कार्यालय स्थापना भएपछि राजस्व संकलन केही घटेको हो ।’


सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयको आफ्नै गस्ती टोलीले कर छलेर भित्र्याइँदै गरेका ५ करोड १० लाख रुपैयाँ बराबरका व्यापारिक सामग्री बरामद गरेको हो । तीनवटै निकायले गरी ६७९ वटा भन्सार छली मुद्दा भन्सार कार्यालयमा दर्ता गराएका छन् ।


त्यसक्रममा सशस्त्र प्रहरीले ४८४ मुद्दामा २ करोड ८६ लाख रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरी त्रिनगर भन्सार कार्यालयमा दाखिला गरेको छ । सशस्त्रले बरामद गरेका सामग्रीहरूमा ५६ वटा मोटरसाइकल, दुईवटा जिप, ट्र्याक्टर, सातवटा अटोरिक्सा तथा हार्डवेयर र कपडालगायत छन् । धनगढीस्थित सशस्त्र प्रहरी बल ३४ नम्बर गणका गणपति डीएसपी विष्णुप्रसाद भट्टका अनुसार छली कार्यमा संलग्न ४२ जनालाई पक्राउ गरी भन्सारमा बुझाइएको छ ।


कैलाली प्रहरीले १ सय ७७ मुद्दामा २ करोड ३८ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरी भन्सारमा दाखिला गरेको छ ।


भन्सार कार्यालयको आफ्नै गस्ती टोलीले १८ वटा मुद्दामा ४ लाख ८१ हजार रुपैयाँ बराबरको सामग्री बरामद गरेको छ । भन्सार अधिकृत उप्रेतीका अनुसार वर्षभरि भन्सार छलीका कुल ६ सय ४६ वटा मुद्दा दर्ता भए । दाखिला गरिएका सामग्रीको लिलामबाट २ करोड ४४ लाख रुपैयाँ आम्दानी भएको छ । हार्डवेयर, कपडा, चिनीलगायत खाद्यवस्तु यस क्षेत्रबाट अवैध रूपमा भित्र्याइने गरिएको छ ।


छलीमा संलग्नहरूलाई १ करोड रुपैयाँभन्दा माथिको सामान भए अदालती कारबाही हुने कानुनी प्रावधान छ । त्योभन्दा तल भए सामान जफत गरेर संलग्न व्यक्तिलाई छाड्ने नियम रहेको भन्सार अधिकृत उप्रेतीले बताए । सुरक्षा निकाय तथा भन्सार आफैंले गरी कुल बरामद गरेको परिमाण अत्यन्तै न्यून देखिएको गुनासो व्यापारीको छ ।


‘दैनिक लाखौंको राजस्व छली हुने गरेको देखेसुनेकै हो । वर्षभरि ५ करोड रुपैयाँका सामान मात्र बरामद भएको कुरा कसरी पत्याउनु ? यसबाट पनि अझै धेरै चुहावट छ भन्ने पुष्टि हुन्छ,’ उद्योग वाणिज्य संघ कैलालीका उपाध्यक्ष पुष्कर ओझाले भने, ‘राजस्व बढाउन सुरक्षालगायतका संयन्त्रहरूलाई विस्तार गर्नु जरुरी छ ।’ भारतले आफ्नो सीमा क्षेत्रमा निकै कडाइ गरेको छ । नाली तथा तारबारसमेत लगाउन थालेको छ ।


सीमा क्षेत्रको रेखदेख गर्ने कामको प्रमुख जिम्मेवारी सशस्त्र प्रहरीको हो । सशस्त्रका गणपति भट्टले अघिल्लो वर्षभन्दा आफू आएपछि तीन गुणा बढी मूल्यका सामग्री बरामद गरी भन्सारमा दाखिला गरेको बताए । खत्रौला र त्रिनगर गरी ३ करोड ४ लाख रुपैयाँभन्दा बढीको सामग्री बरामद गर्न सफल भए पनि पुरै नियन्त्रण गर्न नसकिएको उनी स्विकार्छन् ।


उनले १०१ किलोमिटरको खुला सीमा प्रमुख समस्या भएको औंल्याए । ‘पर्याप्त उपकरण, प्रविधि र प्रहरी संख्या तथा बिटको विस्तार, स्थानीय सरोकारवालाहरूको न्यून सक्रियताले पूर्ण रूपमा अवैध पैठारी नियन्त्रण गर्न नसकिएकै हो,’ उनले भने ।

प्रकाशित : श्रावण ५, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?