सञ्चय कोषले ब्याज घटायो

काठमाडौँ — कर्मचारी सञ्चय कोषले जलविद्युत् क्षेत्रको लगानी र घर सापटीमा साउन १ देखि लागू हुने गरी ब्याजदर घटाएको छ । कोषले जलविद्युत् क्षेत्रको विकासमा योगदान पुर्‍याउन र सञ्चयकर्तालाई घरसापटीमा राहत दिन ब्याजदर घटाइएको जनाएको छ ।

कोषले जलविद्युत् क्षेत्रमा गरेको लगानीको ब्याज १०.७५ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरेको छ । कोषले माथिल्लो तामाकोसी, मध्य भोटेकोसी, रसुवागढी, सान्जेन, माथिल्लो सान्जेन, माथिल्लो त्रिशूली ३ ‘बी’ लगायतका विद्युत् आयोजनामा ऋण लगानी गरेको छ । कोषका अनुसार यी सबै आयोजनाले तिर्नुपर्ने ब्याजदर घटेको छ ।

कोषले ४० लाख रुपैयाँभन्दा बढीको घर सापटीको ब्याजदरसमेत घटाएको छ । कोषले घरसापटीमा १०.२५ प्रतिशत लिँदै आएको ब्याजदर ०.२५ प्रतिशत घटाएको छ ।

अरू ऋणमा भने ब्याजदरमा परिवर्तन नगरिएको कोषले जनाएको छ । कोषले विशेष सापटीमा ९.५०, ४० लाखसम्मको घर सापटीमा ९.७५ तथा सञ्चयकर्ता शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.७५ तथा सरल चक्र कर्जामा १०.२५ प्रतिशत ब्याजदरलाई यथावत् राखेको छ ।

प्रकाशित : श्रावण ३, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?