देशभर ४० प्रतिशत मात्रै रोपाइँ

राजु चौधरी

काठमाडौँ — असार मसान्तसम्ममा धानको रोपाइँ ४० प्रतिशत मात्रै भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ढिलो मनसुन र गत साताको बाढीले रोपाइँ कम भएको हो । मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष यही अवधिमा ६३.८८ प्रतिशत रोपाइँ भएको थियो । 

‘मनसुन १० दिन ढिलो सुरु भयो । दुई–तीन दिनको पानीले पुरै डुबायो । तराईको मुख्य धान उत्पादन हुने जिल्ला नै प्रभावित भए,’ मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने, ‘जसले गर्दा केही असर परेको देखिन्छ ।’ तराईमा साउनको मध्यमसम्म रोपाइँ हुने हुँदा रोपाइँको अवस्थाबारे अहिले नै विश्लेषण गर्न भने गाह्रो हुने उनले बताए ।
मन्त्रालयका अनुसार तराईमा ३५.१२ प्रतिशत रोपाइँ भएको छ । तराईमा ९ लाख ७७ हजार ४ सय १४ हेक्टरमा धान रोपाइँ हुन्छ । गत वर्ष असारसम्ममा ६२.६५ प्रतिशत रोपाइँ भएको थियो । तथ्यांकअनुसार तराईसँगै पहाडी क्षेत्रमा पनि रोपाइँ सन्तोषजनक छैन ।

उच्च पहाडमा ४८ हजार १ सय ९३ हेक्टरमा रोपाइँ हुन्छ । अहिलेसम्म ५१.८१ प्रतिशत मात्रै रोपाइँ भएको छ । अघिल्लो वर्ष यही अवधिमा ६६.२२ प्रतिशत रोपाइँ भएको थियो । मध्य पहाडमा ३ लाख ४६ हजार ९९ हेक्टरमा धान खेती हुन्छ । उक्त क्षेत्रमा ५३.९६ प्रतिशत मात्रै रोपाइँ भएको छ । अघिल्लो वर्ष ६७.४ प्रतिशत रोपाइँ भएको थियो ।

सुवेदीका अनुसार पहाडमा असार १५ देखि साउन पहिलो सातासम्म रोपाइँ हुन्छ । तराईमा असारदेखि साउनको मध्यसम्म रोपाइँ हुन्छ । तराईमा एक–दुई साता अझै समय भए पनि पहाडमा भने कमी भएको उनले बताए ।
‘विगतको तुलनामा पहाडमा केही कमी भएको देखिन्छ,’ उनले भने, ‘साउन १५ पछि सबै समीक्षा गर्छौं ।’

मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा कम प्रदेश २ मा रोपाइँ भएको छ । उक्त क्षेत्रमा १६.६३ प्रतिशत मात्रै रोपाइँ भएको छ । अघिल्लो वर्ष यही अवधिमा ७४.६१ प्रतिशत रोपाइँ भएको थियो । गत साता आएको बढी प्रदेश २ नै बढी प्रभावित भएको छ ।

यस क्षेत्रमा ८० प्रतिशत डुबानमा परेको छ । बढी खेती तथा उत्पादन हुने क्षेत्र नै डुबानमा पर्दा उत्पादनमा केही समस्या हुने विज्ञहरू बताउँछन् । धानविज्ञ भोलामानसिंह बस्नेतले पनि बाढीका कारण अधिकांश क्षेत्र डुबानमा रहेकाले रोपाइँमा केही असर परेको बताउँछन् । ‘अधिकांश ठाउँमा ढुवान छ । डुबेको ठाउँमा धान मर्न पनि सक्छ । त्यस्तो अवस्थामा सोझै छर्न सकिन्छ । तर, त्यसमा झारपात धेरै आउँछ,’ उनले भने ।

मन्त्रालयका अनुसार प्रदेश १ मा पनि जम्मा ३६.०७ प्रतिशत मात्रै रोपाइँ भएको छ । अघिल्लो वर्ष यस क्षेत्रमा रोपाइँ ५३.३९ प्रतिशत पुगेको थियो । बाढीले प्रदेश १ पनि प्रभावित भएको थियो । मन्त्रालयको तथ्यांकअनुसार प्रदेश १ मा ८१ करोडको कृषि क्षति भएको थियो । प्रदेश ३ मा ३१.०६ र प्रदेश ५ मा ४७.८४ प्रशितत रोपाइँ भएको छ ।

बस्नेतका अनुसार धान रोपाइँ ढिला हुँदा त्यसले हिउँदे बालीलाई समेत असर गर्छ । धानको चाँडै र ढिला पाक्ने जात हुन्छ । चाँडै पाक्ने जात १२० दिनमा पाक्छ । यसले धेरै असर गर्छ । मध्यम पाक्ने जात १३५ दिनको हुन्छ । ‘ढिला रोपाइँ हुँदा हिउँदमा असर गर्छ, मंसिरको पहिलो सातामा गहुँ लगाउनुपर्छ । तेस्रो हप्तापछि लगाउँदा एक दिन ढिलाइ हुँदा प्रतिदिन ४० देखि ५० किलोग्राम गहुँ प्रतिहेक्टर प्रतिदिनको दरले घटदै जान्छ,’ उनले भने ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा पनि रोपाइँ कम छ । उक्त प्रदेशमा ६७.४ प्रतिशत मात्रै रोपाइँ भएको छ । अघिल्लो वर्ष यही अवधिमा ७५ प्रतिशत थियो । कर्णाली प्रदेशमा ६७ प्रतिशत भएको छ । अघिल्लो वर्ष ७० प्रतिशत रोपाइँ थियो । सुदूरपश्चिममा ७० प्रतिशतसम्म भएको उल्लेख छ ।

प्रकाशित : श्रावण २, २०७६ ०८:४१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

निकुञ्जमा हालसम्मकै धेरै पर्यटक

निकुञ्ज आसपासका पर्यटकीय होटलहरूमा अहिलेभन्दा दोब्बर पर्यटकलाई सेवा दिन सक्ने क्षमता छ 
रमेशकुमार पौडेल

चितवन — चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष ०७५/७६ मा हालसम्मकै धेरै पर्यटक घुम्न आएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार १ लाख ८५ हजार ६ सय ४४ पर्यटकले निकुञ्ज घुमेका छन् ।

यसअघि आर्थिक वर्ष ०७१/७२ मा १ लाख ७८ हजार २ सय ५७ पर्यटक आएका थिए । यो निकुञ्ज २०३० सालमा स्थापना भएको हो ।

२०७२ साल वैशाख १२ मा आएको भूकम्पले गर्दा निकुञ्ज घुम्न आउने पर्यटकको संख्या हवात्तै घटेको थियो । भूकम्पपछि मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीका बेला भएको चरम इन्धन संकटले पर्यटक घुम्न आउने क्रम घटेको थियो । नारायणगढ–मुग्लिन सडकको विस्तारको कामले पनि चितवनको पर्यटनलाई असर गरेको थियो । अहिले यी समस्याबाट हटेपछि पर्यटक संख्या पहिलेकै अवस्थामा फर्किएको छ ।

निकुञ्जका प्रमुख वेदकुमार खड्का यो संख्या निकुञ्जले जारी गर्ने प्रवेश टिकट काटेर घुम्न आउने पर्यटकको संख्या मात्रै भएको बताउँछन् ।

‘मध्यवर्ती सामुदायिक वनमा आउने करिब ३ देखि ४ लाख पर्यटकको तथ्यांक यसमा समावेश छैन,’ ढकालले भने । उनले सौराहा केन्द्रित पर्यटन अहिले अन्यत्र पनि फैलन थालेको बताए । चितवन निकुञ्ज छिर्ने १० वटा नाका छन् । जसमध्ये सौराहा प्रमुख नाका हो । निकुञ्ज घुम्ने ९० प्रतिशत पर्यटक सौराहा नाकाबाट भित्रिने तथ्यांक छ ।

पछिल्लो समय पटिहानी, मेघौली र नवलपुरको अमलटारी क्षेत्रमा पनि पर्यटकीय गतिविधि फस्टाएको छ । पर्यटकीय होटलहरूको संस्था क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरे यो संख्या सन्तोषजनक भए पनि अझै पर्याप्त नभएको बताउँछन् ।

‘निकुञ्ज आसपासका पर्यटकीय होटलहरूमा अहिले आएको भन्दा दोब्बर पर्यटक आए पनि सेवा दिन सक्ने क्षमता छ,’ अध्यक्ष घिमिरेले भने, ‘त्यसैले यहाँको पर्यटन व्यवसाय मजबुत हुन अहिलेको भन्दा दोब्बर पर्यटकहरू आउनुपर्छ ।’ उनले निकुञ्जले संरक्षण क्षेत्रमा महत्त्वपर्ण कामहरू गरेको हुँदा पर्यटन विस्तारमा पनि व्यवस्थित भएर लाग्नुपर्ने सुझाव दिए ।

‘दुर्लभ वन्यजन्तु भएको निकुञ्ज भएका कारण यहाँ घुम्दा रोमाञ्चक भइन्छ । त्यही अनुसारका पूर्वाधारहरू बनाएर र जानकारीहरू फैलाएर हामी थप पर्यटक ल्याउन सक्छौं,’ अध्यक्ष घिमिरेले भने । निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकाल चितवनमा आउने पर्यटक संख्या बढेसँगै अब गुणस्तरीय पर्यटकहरू भित्र्याउन पहल गर्नुपर्ने बेला आएको बताउँछन् । निकुञ्ज घुम्न पैदल र जिप सफारीको सुविधा छ । खोलाहरूमा डुंगा यात्रा हुन्छ ।

हात्ती सफारी यहाँको मुख्य आकर्षण हो । निकुञ्जले हात्ती सफारी गराउँदैन । निजी होटलका हात्तीहरू निकुञ्जभित्र जान पाउँदैनन् । सामुदायिक वनमा मात्रै हात्ती सफारी हुन्छ । ‘अहिले निकुञ्जभित्र ३२ वटा जिप छन् । यी धेरै भए झैं लाग्छ । पर्यटन व्यवसायीहरू जिप कम भए थपौं भन्छन् । हात्ती पनि भित्र लैजानुपर्‍यो भन्छन् । अब संख्याभन्दा गुणस्तरीय पर्यटक ल्याउन लाग्ने कि ?’ प्रमुख संरक्षण अधिकृत ढकालले भने ।

राजस्व पनि सर्वाधिक
पर्यटक संख्याको अनुपातमा निकुञ्जको राजस्व आम्दानी पनि बढेको छ । यो आर्थिक वर्षमा २९ करोड १० लाख ९७ हजार रुपैयाँ राजस्व संकलन भएको प्रमुख संरक्षण अधिकृत वेदकुमार खड्काले बताए । यसअघि गएको आर्थिक वर्षमा २४ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

निकुञ्जले गर्ने आम्दानीबाट ५० प्रतिशत राजस्व निकुञ्जसँग जोडिएको बस्ती मध्यवर्ती क्षेत्रमा खर्च गर्ने कानुनी व्यवस्था छ । पर्यटक संख्या बढेसँगै चितवन र नवलपुर क्षेत्रको आर्थिक गतिविधि पनि फस्टाएको निकुञ्जका अधिकारीहरू बताउँछन् ।

पर्यटनका कारण तीन हजारले प्रत्यक्ष र नौ हजारले अप्रत्यक्ष रोजगार पाएका छन् । ‘रोजगारीबाट मात्रै वर्षमा १८ करोड रुपैयाँ बराबरको आम्दानी भएको छ । त्यसैगरी पर्यटकले गर्ने खर्चबाट जिल्लामा वर्षमा १ अर्ब ८० करोड रुपैयाँ बराबरको थप आर्थिक कारोबार भएको छ,’ प्रमुख संरक्षण अधिकृत ढकालले भने ।

प्रकाशित : श्रावण २, २०७६ ०८:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×