अनुगमन नहुँदा जथाभावी सामान बिक्री

स्थानीय तहको ध्यान गएन
रमेशचन्द्र अधिकारी

धनकुटा — जिल्लाका अधिकांश स्थानीय तहले बजार अनुगमनमा चासो नदिँदा अवैध रूपमा औषधि, खाद्य तथा पेय पदार्थ निर्वाध बिक्री, वितरण भइरहेको पाइएको छ । बजार अनुगमन निर्देशिकामार्फत नियमित अनुगमन गरिने व्यवस्था भए पनि प्रभावकारी कार्यान्वयन भएको छैन । 

अनुगमन नहुँदा जथाभावी सामान बिक्री

अधिकांब स्थानीय तहले बजार अनुगमन निर्देशिकासमेत बनाएका छैनन् । स्थानीय तहले वस्तु वा सेवा प्रदायक व्यवसायको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, नापतौल, विज्ञापनलगायत व्यापारिक क्रियाकलापको नियमित तथा आकस्मिक अनुगमन गर्न अनुगमन टोली गठन गरिनुपर्ने व्यवस्था भए पनि प्रभावकारी छैन ।


हालसम्म धनकुटा नगरपालिकाले स्थानीय राजपत्रमार्फत गत चैतमा बजार अनुगमन निर्देशिका २०७५ जारी गरेको छ । निर्देशिका कार्यान्वयन भने भएको छैन । उपप्रमुखको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समितिसमेत गठन गरिएको नगरपालिकाले जनाएको छ । समिति बने पनि हालसम्म अनुगमन भएको छैन ।


अनुगमन नियमित गर्न नसकिएको उपप्रमुख शकुन्तला बस्नेतले बताइन् । अनुगमन कार्य नै पारदर्शी हुन नसकेको उनको भनाइ छ । निर्वाचित भएपछि जम्मा दुईपटक बजार अनुगमन गरिएको बस्नेतले जानकारी दिइन् । ‘बजार अनुगमन हुन दसैं नै पर्खिने अवस्था छ,’ उनले भनिन्, ‘विभिन्न कठिनाइले नियमित गर्न सकिएको छैन ।’


बजारमा दर्ता नगरिएका पसल भेटिने गरेकाले चेतावनी दिएको उनले बताइन् । धनकुटा, हिले, मूलघाटलगायत बजार स्थानीय तहबाहेकका अन्य निकायले सीमित रूपमा मात्र अनुगमन गर्दै आएका छन् । यस्तै कतिपय पालिकाले हालसम्म बजार अनुगमनका लागि निर्देशिकासमेत बनाएका छैनन् । छथर जोरपाटी गाउँपालिकामा हालसम्म कार्यविधिसमेत बनाएको छैन । त्यहाँ अनुगमन कार्य प्रभावकारी छैन । बजार अनुगमनसम्बन्धी कार्यविधि मस्यौदा बनाउने तयारी गरिएको पालिका अध्यक्ष शेरबहादुर लिम्बूले बताए । साँगुरी गाउँपालिकाले पनि बजार अनुगमन कार्य गर्न सकेको छैन । त्यहाँ पनि कार्यविधि हालसम्म बन्न नसकेको अध्यक्ष कुमारजंग याक्खाले बताए ।


महालक्ष्मी नगरपालिकाका तर्फबाट हालसम्म अनुगमन भएको छैन । जितपुर बजारमा बिनादर्ताका अवैध रूपमा कतिपय औषधि पसल, होटल तथा पसल सञ्चालनमा रहेका छन् । सडक तथा अन्य विकास निर्माणमा अनुगमन गरिए पनि बजार अनुगमन गर्न ध्यान नगएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायामाझीले बताए । उनले कसले अनुगमन गर्छ भन्ने कुरा आफूलाई जानकारी नभएको समेत बताए । नगरप्रमुख पर्शुराम नेपालले बजार अनुगमन कार्यलाई आगामी दिनमा निरन्तरता दिइने जानकारी दिए ।


सहिदभूमि गाउँपालिकामा पनि बजार अनुगमन कार्य प्रभावकारी नभएको गुनासो बढेको छ । अधिकांश पसलमा मिति नाघेका खाद्य तथा पेय पदार्थ भेटिने गरे पनि सम्बन्धित निकायको चासो गएको छैन । पूर्वाधार निर्माणको बाहेक बजार पसल अनुगमन हालसम्म नभएको उपाध्यक्ष रत्नश्वरी राईको भनाइ छ । त्यहाँ कार्यविधिसमेत बनेको छैन ।


चौबिसे गाउँपालिकामा भने जनप्रतिनिधि आएपछि चारपटक बजार अनुगमन गरिएको अध्यक्ष खजिन्द्र राईले बताए । मुख्य बजार राजारानीमा मिति नाघेका खाद्य तथा पेय पदार्थ बिक्री गरिएको पाइएकाले नष्ट गरिएको उनले जानकारी दिए । त्यहाँ पनि नियमित बजार अनुगमन भने गर्न नसकिएको उनले बताए ।


दुई औषधि पसल सिल

स्थानीय तहबाहेकका अन्य निकाय भने बजार अनुगमनमा केही सक्रिय देखिन्छन् । यसक्रममा घरेलु तथा साना उद्योग विकास समिति र प्रशासनको संयुक्त अनुगमनले पाख्रीबास बजारमा अवैध रूपमा सञ्चालित औषधि पसलमा ताला लगाएको छ । फरक व्यक्तिको नाममा दर्ता गरी अन्य व्यक्तिले सञ्चालन गरेको पाइएकाले सिल गरिएको प्रशासकीय अधिकृत सुधीर साफीले बताए ।


पाख्रीबास र महालक्ष्मी नगरपालिकाको जितपुर बजारमा गरिएको अनुगमनमा अधिकांब पसलमा मिति नाघेका वस्तु फेला परेको छ भने कर छल्ने उद्देश्यले बिनादर्ताका पसल तथा होटल सञ्चालनमा रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, घरेलु तथा साधन उद्योग समिति, कर कार्यालय, प्रशासन, वाणिज्य संघलगायतको सर्वपक्षीय अनुगमनका क्रममा कैफियत फेला परेको जनाइएको छ ।


यस्तै अनुज्ञापत्र नवीकरण नगरिएको तथा खाद्य निर्देशिका विपरीत उत्पादित निर्वाध रूपमा बिक्री वितरण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनका निमिक्त प्रमुख शिवशंकर मिश्रले बताए । अधिकांश पसल घरेलु तथा वाणिज्य संघमा दर्ता नगरिएकाले त्यस्ता पसललाई तत्काल दर्ता गर्न चेतावनी दिइएको घरेलु समितिका प्रमुख दीपक पौडेलले जानकारी दिए ।

प्रकाशित : श्रावण १, २०७६ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?