कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

तरकारी र खाद्यान्न आयात घट्यो

लक्ष्यको ९१ प्रतिशत मात्रै राजस्व संकलन
भवानी भट्ट

(कञ्चनपुर) — कञ्चनपुर भन्सार कार्यालयले गत वर्षको तुलनामा बढी राजस्व संकलन गरे पनि लक्ष्य भेट्याउन सकेको छैन । आर्थिक वर्ष ०७५/७६ मा लक्ष्यको ९१ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । गत वर्षको तुलनामा खाद्यान्न र तरकारी आयात घटदा लक्ष्यअनुसार राजस्व संकलन नभएको हो ।

तरकारी र खाद्यान्न आयात घट्यो

४० करोड १२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य थियो । ३६ करोड ६४ लाख मात्रै संकलन भएको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारीले बताए । उनका अनुसार भारतबाट हुने प्रमुख २० वस्तुको आयात घटेकाले लक्ष्यअनुसार राजस्व सकंलन हुन नसकेको हो ।


भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष ०७४/७५ मा ७८ करोड रुपैयाँ बराबरका प्रमुख २० वस्तु आयात भएको थियो । ०७५/७६ मा उक्त आयात घटेर ६२ करोड पुगेको अधिकारीले बताए । ‘यस वर्ष चिनी, तरकारी तथा फलफूल र माछा आयात कम भयो,’ उनले भने, ‘राजस्व संकलनमा यसले प्रभाव पार्‍यो ।’


उनका अनुसार यस वर्ष तरकारी तथा फलफूल आयात पनि घटेको छ । गत वर्ष ३८ करोड बराबरको तरकारी तथा फलफूल आयात भएको थियो भने यस वर्ष २७ करोड बराबरको आयात भएको छ । तरकारी तथा फलफूलबाट दैनिक १ लाखभन्दा बढी राजस्व संकलन हुने गरेको उनले जानकारी दिए ।


असारदेखि तरकारी तथा फलफूल विषादी परीक्षणपछि मात्रै आयात गर्ने सरकारी निर्णयपछि कञ्चनपुर भन्सारबाट १२ ट्रक मात्रै भित्रिएको छ । यस्तै फागुनदेखि माछा तथा माछाजन्य पदार्थ आयात पनि रोकिएको छ । सरकारले माछाको स्वच्छता र स्वस्थ्यताको प्रमाणपत्र आवश्यक पर्ने निर्णय गरेपछि आयात रोकिएको छ । पछिल्लो समय व्यवसायीहरूले स्वच्छता र स्वस्थ्यताको प्रमाणपत्र बनाएर फाटफुट रूपमा माछा आायत गरिरहे पनि विगतको तुलनामा निकै कम छ ।


भन्सार कार्यालयले गत आर्थिक वर्षमा ३२ करोड ४७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । ३२ करोड ५३ लाख रुपैयाँ संकलन भएको थियो । जसमध्ये लिलामबाट मात्रै ४ करोड २३ लाख रुपैयाँ संकलन भएको थियो । यस वर्ष लिलामबाट १ करोड ६२ लाख रुपैयाँ संकलन भएको छ ।


‘यो वर्ष पनि लिलाम गर्नुपर्ने वस्तु धेरै छन् तर प्राविधिक रिपोर्ट नआएकाले रोकिएको छ,’ भन्सार अधिकृत अधिकारीले भने, ‘लिलाम गर्न सकेको भए लक्ष्यअनुसार राजस्व संकलन हुन्थ्यो ।’


लक्ष्य पूरा नभए पनि गत वर्षको तुलनामा करिब २४ प्रतिशत बढी राजस्व संकलन भएको उनको भनाइ छ । कञ्चनपुर भन्सारका अनुसार भारतबाट आयात हुनेमा कपडा, खाद्यान्न, तरकारी तथा फलफूललगायतका प्रमुख वस्तुहरू रहेका छन् ।


प्रकाशित : श्रावण १, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?