२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पर्यटनबाट ७० अर्ब

काठमाडौँ — पर्यटन क्षेत्रबाट सन् २०१८ मा ६९ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ आम्दानी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा शनिबार प्रकाशित ‘नेपाल टुरिज्म स्टाटिस्टिक्स–२०१८’ का अनुसार अघिल्लो वर्षको तुलनामा पर्यटन क्षेत्रबाट यस वर्ष १७ प्रतिशत बढी आम्दानी भएको हो ।

सन् २०१७ मा पर्यटन क्षेत्रबाट ५८ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ आम्दानी भएको थियो ।


उक्त आम्दानी सन् २०१५/१६ को तुलनामा ४० प्रतिशत बढी हो । उक्त वर्ष ४१ अर्ब ७६ करोड ५ लाख रुपैयाँ आम्दानी भएको थियो । सन् २०१८ मा पर्यटकको बसाइ अवधि औसत १२.४ दिन रहेको स्टाटिस्टिक्समा उल्लेख छ । पर्यटकले दैनिक ४४ डलर खर्च गर्ने गरेका छन् । पर्यटकको बसाइ भने अघिल्लो वर्षको तुलनामा केही घटेको छ । अघिल्लो वर्ष पर्यटकको बसाइ अवधि १२.६

दिन थियो ।


सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक आएका थिए, जुन अघिल्लो वर्षको तुलनामा २४.७७ प्रतिशतले बढी हो । सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । विगतमा जस्तै सन् २०१८ मा समेत सबभन्दा बढी पर्यटक छिमेकी मुलुक भारत र चीनबाट आएका छन् ।


नेपालमा बढी पर्यटक आउने पाँच मुलुकमा भारत पहिलो र चीन दोस्रोमा छ । भारतबाट सन् २०१८ मा १ लाख ९४ हजार ३ सय २३ र चीनबाट १ लाख ५३ हजार ६ सय ३३ जना पर्यटक नेपाल आएका थिए । बढी पर्यटक आउनेमा अमेरिका तेस्रोमा पर्छ । अमेरिकाबाट ९१ हजार ८ सय ९५, चौथोमा रहेको बेलायतबाट ६३ हजार ४ सय ६६ र पाँचौंमा रहेको श्रीलंकाबाट ६९ हजार ६ सय ४० पर्यटक नेपाल आएका थिए ।


नेपाल भित्रिने विदेशी पर्यटकमध्ये अधिकांश बिदा मनाउन, मनोरञ्जन तथा धार्मिक उद्देश्यका लागि आउने गरेका छन् । सन् २०१८ मा ७ लाख ३ हजार ८ सय ४३ जना बिदा मनाउन र १ लाख ८७ हजार ६ सय ९२ जना धार्मिक कामका लागि आएको स्टाटिस्टिक्समा उल्लेख छ । साहसिक पर्यटनमा रुचि राख्नेहरूको रोजाइमा समेत नेपाल पर्ने गरेको छ ।

प्रकाशित : असार ३१, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?