रोपो रोपिन्छ, जोगिए पो

'पानी नपर्दा रोपाइँ सुरु हुन्न । धेरै परे बाढीले सबै लगिदिन्छ । कहाँबाट रोपो रहनु ?’
मोहन बुढाऐर

कैलाली — रोपाइँ गर्दैगर्दा रामकिसन चौधरी घरीघरी मोहना नदीतर्फ हेर्दै थिए । आकाशे पानीको भरमा बस्दा उनको रोपाइँ ढिलो सुरु भयो । पानी नपर्दा रोपाइँ सुरु नहुने र धेरै पानी परे रोपो नरहने उनले बताए । अधिक वर्षा भएपछि मोहना नदीको बाढी उनको खेततर्फ सोझिने गरेको छ । बाढीले खेत कटानी गर्ने गरेकामा उनी दुःखी छन् । 

रोपो रोपिन्छ, जोगिए पो

चौधरीको १५ कट्ठा खेतमध्ये आधा मोहना नदीले बगाइसक्यो । बचेको जमिनमा पनि कटानी रोकिएको छैन । ‘१० जना परिवारको कमाइखाने खेत यत्ति हो । नदीले कटनी गरेन भने मात्र खेती गर्ने गरेका छौं,’ उनले भने । हालसम्म १० पटकभन्दा बढी बाढीले खेत कटान गरिसकेको उनको भनाइ छ ।


बाढीका कारण उनको परिवार अहिले खाद्य संकटको मारमा परेको छ । कुनै बेला उनी धान/गहुँ बिक्री गर्थे । अहिले बचेको खेतमा उब्जेको अनाजले ६ महिना मात्रै खान पुग्छ । बाढीबाट ज्यान जोगाउन उनले आफ्नो जमिनमा घर बनाएका छैनन् । बाढी नलाग्ने नजिकैको ऐलानी जग्गामा उनले घर बनाएका छन् ।


चौधरी कैलारी ५ बड्डीपलिया गाउँका प्रतिनिधि पात्रमात्रै हुन् । गाउँका डेढ सयभन्दा बढी परिवारको खेत बर्सेनि बाढीले बगाउँदै गएको छ । मोहना नदीमा तटबन्ध गर्न स्थानीय र प्रदेश सरकारसँग बारम्बार माग राख्दासमेत सुनुवाइ नभएको स्थानीय किसान दीपेन्द्र चौधरीले बताए । ‘हालसम्म सबै परिवारको गरी ५० हेक्टरभन्दा बढी जमिन मोहनाले कटान गरिसकेको छ,’ उनले भने, ‘पटानको समस्याले किसानले बाली भित्र्याउन पाएका छैनन् ।’


कैलारी ७ बेलापरसुवामा पनि बर्खामा रोपेको धान किसानले कहिले भित्र्याउन पाउँछन्, कुनै वर्ष पाउँदैनन् । यहाँका ३ सयभन्दा बढी परिवार २०६४ र ०६६ को बाढीले विस्थापित भएर रामपुरतिर बसाइँ सरेका छन् । उनीहरूको कमाइ खाने खेत अन्त छैन । यहाँका बासिन्दाले वर्षमा गहुँको एक बाली मात्रै भित्र्याउन पाउँछन् ।


अभिशाप मोहना

बर्खामा जिल्लाको दक्षिणपूर्वी क्षेत्रका लागि मोहना अभिशाप बन्दै गएको छ । कैलालीको पश्चिम चुरे फेदबाट उत्पन्न भई मोहना नदी नेपाल र भारतको सिमाना भएर १ सय २ किलोमिटर पूर्व बग्छ ।


जिल्लाको मध्यभागमा बग्ने खुटिया, कान्द्रा, काँडा, गौरीगंगा, पथरियालगायत दर्जनौं सानाठूला नदी मोहनामा मिसिँदा विकराल रूपमा आउने गरेको स्थानीय होरीलाल चौधरी बताउँछन् ।


‘एकसाथ स्थानीय र मोहनामा बाढी आएपछि कैलारी, भजनी नगरपालिका चुर्लुम्म डुब्छ,’ उनले भने, ‘अझ कर्णालीमा समेत बाढी आएपछि आधा कैलाली डुब्छ ।’ उनका अनुसार यस्तो किसिमको बाढी ०६४ सालमा आएको थियो । त्यसबेला ठूलो धनजनको क्षति भएको त्रासदी उनमा अहिलेसम्म छ ।


ज्यान जोगाउनै मुस्किल

कैलाली भजनीको लालबोझी, कैलारी गाउँपालिका ७ को हौसलपुर, वडा नम्बर ३ मा पर्ने मोहनपुर र शिवरत्न गाउँ मोहना

नदीको टापुमा पर्छन् । मोहनाको बाढी गाउँ पसेपछि उद्धार गरिदिने कोही हुँदैन । ज्यान जोगाउन मुस्किल हुने मोहनपुरका बिसनसिंह चौधरीले बताए ।


बस्तीमा बाढी पसेपछि गाउँलेहरूले ‘सेफ हाउस’ मा गएर ज्यान जोगाउने गरेका छन् । दैवी प्रकोपका क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाले डुबानग्रस्त विभिन्न बस्तीमा बाढी लाग्ने सतहभन्दा माथि जग राखेर सुरक्षित घर बनाइदिएका छन् ।


बर्खा लागेपछि कुनै रात चैनले बिताउन नपाउने भजनी ५ लालबोझीका पुरन चौधरीले बताए । ‘बाढी पसेपछि सेफ हाउसतिर दगुर्नुपर्छ,’ उनले भने, ‘बाढीबाट कसरी जीउधन बचाउने भन्ने दिन अब सुरु भए ।’


दुवै नदीले घेरिएको लालबोझी डुबानमा पर्‍यो भने हलिकप्टरबाट मात्रै उद्धार गर्न सकिने उनको भनाइ छ । ०६४ र ०६६ को बाढीमा लालबोझी डुबानमा परेको उनले बताए । त्यसबेला रूख र घरको छतमा बसेका परिवारका सदस्यलाई हेलिकप्टरबाट उद्धार गरिएको थियो ।


बर्खाका बेला यस क्षेत्रका विद्यालयमा समेत नियमित पढाइ हुन्न । पानी पर्नासाथ विद्यालय बन्द गर्नुको विकल्प हुन्न । कहिलेकाहीँ बाढी पसेर एक सातासम्म विद्यालय बन्द हुन्छन् । बर्खाका बेला भजनी नगरपालिकामा एक गाउँबाट अर्को गाउँ जान डुंगा प्रयोग गर्नुपर्छ । कान्द्रा, पथरिया, काँडा र मोहना नदीमा स्थानीय डुंगाबाटै वारपार गर्दै आएका छन् ।

प्रकाशित : असार ३१, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?