कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुलमा क्षति भएपछि आयात–निर्यात प्रभावित

विनोद भण्डारीे

विराटनगर — विराटनगर भन्सारदेखि पाँच किलोमिटर दक्षिण भारतको मीरगन्जस्थित पुलमा बाढीले क्षति पुर्‍याएपछि आइतबारदेखि जोगबनी नाकाबाट आयात निर्यात ठप्प भएको छ । भारतीय प्रशासनले बाढीले पुलमा क्षति पुगेको भन्दै ढुवानीका साधन गुड्न नदिएको हो । 

आयात निर्यात ठप्प हुँदा भारत तथा तेस्रो मुलुकवाट औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान बोकेर नेपाल आएका एक हजारभन्दा बढी ट्रक र लहरी भारतको बथनाहदेखि फारबिसगन्जबीचको सडकमा रोकिएका छन् ।


नेपालबाट निकासीका सामान लिएर गएका पाँच दर्जनभन्दा बढी ट्रक विराटनगर भन्सारमा रोकिएको भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरले जानकारी दिए । दुई वर्षअघिको बाढीले पनि उक्त पुल भत्किँदा जोगबनी नाकाबाट आयात निर्यात ठप्प भएपछि मीरगन्जदेखि करिब ८० किलोमिटर टाढा पर्ने सुनसरीको भीमनगर नाकाबाट अस्थायी रूपमा आयात निर्यात गरिएको थियो ।


भारतले उक्त पुल दुई महिनापछि मर्मत गरेपछि ३० टनसम्म भार बोकेका ढुवानीका साधनलाई पुलमा गुड्न दिएपछि जोगबनी नाकाबाट आयात निर्यात सुचारु भएको थियो । यसपालि भीमनगर खण्डको सडकमा घुँडाघुँडा पानी बगिरहेकाले बथनाहमा रोकिएका मालवाहक ट्रक र लहरी उक्त मार्ग हुँदै सुनसरीबाट भित्र्याउन समस्या भएको परासरको भनाइ छ ।


भारतले शनिबार रातिदेखि मीरगन्जस्थित नदीको पुलबाट भार बोकेका ढुवानीका साधन गुड्न रोक लगाएपछि आइतबारदेखि भारत र तेस्रो मुलुकबाट व्यापारिक र औद्योगिक कच्चा पदार्थ बोकेर आएका एउटा पनि ट्रक र लहरी आएका छैनन् ।


विराटनगर भन्सारका प्रवक्ता मणिराम पौडेलले भने, ‘निकासीका सामान बोकेका ट्रक र लहरी पनि एउटै गएका छैनन् ।’ जोगबनी नाकाबाट भारत र तेस्रो मुलुकवाट औद्योगिक कच्चा पदार्थ बोकेर दैनिक सरदर तीन सय ट्रक र लहरी नेपाल आउँथे । त्यसैगरी निकासीका सामान बोकेका ६०–७० ट्रक दैनिक रूपमा भारत जान्थे ।


आइतबार बिहानदेखि खाली ट्रक र लहरी मात्र जोगबनी नाकाबाट भारत छिरेका छन् । प्रवक्ता पौडेलले भने, ‘सीमावर्ती भारतीय प्रशासनले अर्को सूचना जारी नभएसम्म पुलबाट लोड बोकेका कुनै पनि ढुवानीका साधन गुड्न रोक लगाइएको उल्लेख गरेको छ ।’

प्रकाशित : असार ३१, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?