कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

एडीबीले भन्यो– पानी वितरणपछि मात्रै मेलम्चीलाई थप पैसा

विजय तिमल्सिना

काठमाडौँ — मेलम्ची आयोजना निर्माणमा असन्तुष्टि जनाउँदै दातृ निकाय एसियाली विकास बैंक (एडीबी) ले दोस्रो चरणको कामका लागि दिने ऋण सहयोगमा पुनर्विचार गर्ने भएको छ ।

सरकारले मेलम्ची आयोजनाको दोस्रो चरण अघि बढाउन भन्दै एडीबीसँग २५ अर्ब रुपैयाँ (२५० मिलियन डलर) माग गरेको छ । मेलम्चीको दोस्रो चरणअन्तर्गत यांग्री र लार्के नदीबाट ३४ करोड लिटर पानी उपत्यकामा वितरण गर्ने लक्ष्य छ ।


एडीबीकी सहरी विकासविज्ञ भिभियन क्यास्ट्रो वुडरिजले काठमाडौंका उपभोक्ताले मेलम्ची आयोजनाको पानी खान नपाएसम्म एडीबीले सरकारलाई थप सहयोग उपलब्ध नगराउने बताइन् । ‘मेलम्चीको पानीले उपभोक्ता लाभान्वित नभएसम्म हामी दोस्रो चरणको रकम उपलब्ध गराउँदैनौं,’ उनले भनिन्, ‘हामी रकम दिने कि नदिने भनेर विचार गरिरहेका छौं ।’


‘केयूकेएल व्यावसायिक भएन भने उपत्यकावासीले मेलम्ची पूरा भए पनि पानी नपाउन सक्छन्,’ उनले भनिन्, ‘सरकारले केयूकेएलको व्यवस्थापन बलियो बनाउन ध्यान दिनुपर्छ ।’ पहिलो चरणको काम पूरा भएपछि र केयूकेएलले आफू आर्थिक रूपमा सक्षम हुने कार्ययोजना पेस नगरी दिने भनिएको रकम दिन नसकिने उनको टिप्पणी छ ।


मेलम्चीको पहिलो चरणका लागि एडीबीले सन् २००८ मा १० अर्ब ३८ करोड (१०३.८ मिलियन डलर) र २०१४ थप २ अर्ब ५० करोड (२५ मिलियन डलर) गरी १२ अर्ब ८८ करोड (१२८.८ मिलियन डलर) रकम ऋण उपलब्ध गराएको थियो । मेलम्चीको कुल लागतको यो करिब ४५ प्रतिशत रकम हो । एडीबीबाहेक मेलम्चीमा नेपाल सरकार, जाइका, नर्डिक सहायता कोष र ओपेकको पनि लगानी छ ।


योबाहेक एडीबीले सन् २०१३ मा काठमाडौं उपत्यका पानी वितरण सुधार परियोजनाका लागि १७ अर्ब रुपैयाँ सहयोग ऋण उपलब्ध गराएको थियो । काठमाडौं उपत्यका फोहोरपानी व्यवस्थापन सुधार परियोजनाका लागि सन् २०११ म एडीबीले ८ अर्ब रुपैयाँ उपलब्ध गराएको थियो ।


रिङरोडभित्र करिब १ हजार किलोमिटर लामो पानी वितरण प्रणाली निर्माण गरी दैनिक आपूर्ति भइरहेको ११ करोड लिटर पानी र मेलम्ची आयोजनाको निर्माणपछि थपिने १७ करोड लिटर पानी वितरणका लागि एडीबीले रकम उपलब्ध गराएको हो ।


मेलम्चीको दोस्रो चरण मेलम्ची पानी वितरण आयोजना र दोस्रो काठमाडौं उपत्यका पानी वितरण सुधार परियोजनाका लागि एडीबीले सरकारसँग काम गरिरहेको वुडरिजले जानकारी दिइन् । मेलम्ची आयोजनाको दोस्रो चरणको कार्यान्वयनसँगै काठमाडौं उपत्यकामा दैनिक ३४ करोड लिटर पानी उपलब्ध गराउने योजना छ । यांग्री र लार्के नदीबाट दैनिक १७–१७ करोड लिटर पानी उपलब्ध हुनेछ ।


सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सीआरसीसीसँग आयोजनाले ठेक्का सम्झौता रद्द गर्दै सन् २०१२ डिसेम्बर १ मा नयाँ बोलपत्र आहवान गरेको थियो । बोलपत्रबाट सुरुङ निर्माणका लागि इटालियन कम्पनी सीएमसी छनोट भएको थियो । आयोजनाले सीएमसीसँग २०७० साल असार ३१ गते ठेक्का सम्झौता गरेको हो । काम सुरु भएको मितिबाट १ हजार ९५ दिनमा सुरुङ निर्माण सक्ने भनिए पनि पटकपटक म्याद थप गरिएको हो ।


सीएमसीले ठेक्का सम्झौता भएको छ महिनापछि मात्रै आयोजनास्थलमा काम सुरु गरेको थियो । गत पुस १ गते सीएमसीका प्रतिनिधि काम छाडेर हिँडेका थिए । सीएमसीका प्रतिनिधिले आयोजनास्थल छाडेपछि सरकारले कम्पनीसँगको सम्झौता रद्द गरिसकेको छ ।


करिब ५ प्रतिशत बाँकी भनिएको मेलम्चीको कामका लागि सरकारले ठेकेदार नियुक्ति प्रक्रिया सुरु गरेको छ । आयोजनाको दोस्रो चरणको काम २०१८ मा सुरु गरी २०२२ भित्र सक्ने लक्ष्य तोकिएको थियो । पहिलो चरणको काममै ढिलाइ भएपछि दोस्रो चरणको काम पछि धकेलिएको हो । दोस्रो चरणको कामका लागि करिब ३ सय मिलियन डलर खर्च लाग्ने अनुमान छ ।

प्रकाशित : असार ३०, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?