भारतीय आलुमा विषादी धेरै

माधव ढुंगाना

भैरहवा — सुनौली–भैरहवा नाका हुँदै भारतबाट आयात गरिएको एक ट्रक आलुमा अत्यधिक विषादी भेटिएको छ । भारतबाट आयात गरिएका तरकारी तथा फलफूलको विषादी जाँच गरेर मात्रै भन्सार पास गर्न थालिएपछि यस नाकाबाट नेपाल भित्रिन लागेको तरकारीमध्ये अत्यधिक विषादी भेटिएको यो पहिलोपटक हो । 

यो नाकाबाट आयात गरिएको आलुको नमुना परीक्षण गर्दा खान नमिल्ने गरी विषादी प्रयोग भएको पाइएको छ । बुटवलमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईमा परीक्षण गर्दा आलुमा कार्बामेट र अर्गानोफस्फेट नामक घातक विषादीको उच्च प्रयोग भएको पाइएको हो ।

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि अहिले बुटवलको थोक हाटबजारमा रहेको प्रयोगशालामा सीमाबाट भित्रिन लागेका तरकारी तथा फलफूल विषादी परीक्षणका लागि पठाउन थालिएको छ । भैरहवा भन्सार कार्यालयको तथ्याकंअनुसार भन्सारको २५५७८ नम्बरको चलानीबाट असार २७ गते पठाइएको परीक्षण प्रमाणमा विषादीको प्रयोग उच्च भएको पाइएको छ ।

परीक्षण रिपोर्टमा अर्गानोफस्फेटको मात्रा ४०.२०५ र कार्बामेट ४४.१८० पाइएको हो । यूपी ५६ टी ६६०६ नम्बरको भारतीय ट्रकबाट ढुवानी गरिएको उक्त आलु प्रिन्सा ट्रेडिङ रूपन्देहीले आयात गरेको हो । प्लान्ट क्वारेन्टाइन कार्यालय बेलहियाका प्रमुख बाली संरक्षण अधिकृत विष्णुप्रसाद काफ्लेले ती दुवैको मात्रा ३५ भन्दा माथि हुन नहुने बताए ।

‘परीक्षणका क्रममा सामान्यभन्दा विषादी धेरै प्रयोग गरेको पाइयो,’ काफ्लेले भने, ‘आलुसहितको उक्त ट्रक तीन दिनसम्म भन्सारमै राखेर आइतबार पुनः विषादी परीक्षणपश्चात् बल्ल छाडिएको छ ।’ उक्त ट्रकको आलुको नमुना पुनः आइतबार परीक्षण गर्दा विषादीको मात्रा घटेर अर्गानोफस्फेट ३१.४२३ र कार्बामेट १६.९४८ मा झरेको थियो ।

३५ प्रतिशतसम्म अर्गानोफस्फेट र कार्बामेट विषादी प्रयोग गरिएको तरकारी तथा फलफूल उपभोग गर्न सकिने, ३५ देखि ४५ प्रतिशतसम्म विषादी मिसिएको कृषि उपज २–३ दिन भन्सार विन्दुमै राखेर पुनः परीक्षण गरी विषादीको मात्रा घटेपछि आयातको अनुमति दिन सकिने र ४५ भन्दा माथि रहेमा तत्काल नष्ट गर्नुपर्ने मापदण्ड छ ।

भारतबाट आयात गरेको हकमा सिधै फिर्ता पठाइनुपर्ने हुन्छ । अर्को एउटा ट्रकमा आयात गरिएको आलुमा पनि विषादीको मात्रा उच्च रहेको जानकारी भैरहवा भन्सार र प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाए पनि ट्रक नम्बर र विषादीको मात्रा भने प्राप्त भइसकेको छैन ।

अर्गानोफस्फेट र कार्बामेट विषादीले क्यान्सर, मुटु र फोक्सोमा समस्या, पक्षघात र छाला रोगलगायत समस्या देखापर्ने काफ्ले बताए । भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा १० देखि ४५ प्रतिशतसम्म यी विषादी प्रयोग गरिएको हुन्छ । सुनौली–भैरहवा नाकाबाट अहिले दैनिक सानाठूला गरी १ सयको हाराहारीमा तरकारी तथा फलफूल बोकेका गाडी नेपाल भित्रिने गरेका छन् । सबैको बुटवलमा विषादी परीक्षण हुन्छ ।

नेपालमा २९ प्रकारका विषादी प्रयोग भएका तरकारी तथा फलफूल आयात हुँदै आए पनि अर्गानोफस्फेट र कार्बामेटबाहेक २७ प्रकारमा विषादी मापन उपकरण र जनशक्ति अभावमा परीक्षण हुँदैनन् ।

प्रकाशित : असार ३०, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्

ओझेलमै बारेकोटे फलाम खानी

सस्तो मूल्यको भारतीय फलाम गाउँगाउँमा उपलब्ध हुन थालेपछि बारेकोटका खानीहरू उपयोगमा आउन सकेनन्
भीमबहादुर सिंह

जाजरकोट — बारेकोट गाउँपालिकामा रहेका फलाम खानी ओझेलमा परेका छन्  । अन्वेषण, उत्खनन र प्रशोधन नहुँदा खानी अलपत्र अवस्थामा छन्  । बारेकोटको थर्पु, बाहुनखोला र रतनकोटमा खानी भए पनि तिनको सदुपयोग हुन नसकेको हो ।

जाजरकोटको बारेकोट– ५ रतनकोट धाउ खानी भएको वन क्षेत्र । तस्बिर : भीमबहादुर /कान्तिपुर

तीन दशकअघिसम्म प्रयोगमा रहेका खानी अहिले उपयोगविहीन र अलपत्र छन् । सस्तो मूल्यका भारतीय फलाम गाउगाउमा उपलब्ध हुन थालेपछि यहाका खानीको उपयोग हुन सकेको छैन । विगतमा स्थानीयस्तरमै उत्खनन तथा प्रशोधन गरेको फलामबाट ओदान, तावा, सनासा, चिम्टा, कुटो, कोदालो, फरुवा, फाली, हँसिया, बन्चरोलगायत कृषि औजार निर्माण गरिन्थ्यो ।


बारेकोट १ रामीडाँडाका ७७ वर्षीय दत्ते कामीले खानीको संरक्षणमा सरकारी निकायले बेवास्ता गरेको गुनासो गरे । ‘पहिले यहीँको खानीको फलामबाट निर्माण गरेका औजार जाजरकोट र जुम्लाका विभिन्न गाउँमा बिक्री वितरण हुन्थे,’ कामीले भने, ‘सबैले बारेकोटी फलामका औजार भन्थे, आसपासका गाउँमा निकै लोकप्रिय थियो ।’


खानी अलपत्र परेपछि फलामे औजार बनाउने स्थानीयबासी यो पेसा छाडेर मजदुरी गर्न थालेका छन् । कतिपयले भारतीय बजारको फलामबाट परम्परागत रूपमा आरन सञ्चालन गरेर कृषि औजार निर्माण गर्दै आएका छन् । तीन दशकअघिसम्म बारेकोट गाउँपालिका १ रामीडाँडाका २० दलित परिवार फलाम खानीमा काम गर्थे ।


बारेकोटको फलाम खानीमा ४० वर्षसम्म उत्खनन तथा प्रशोधनको काम भएको स्थानीय जुद्धवीर नेपालीले बताए । ‘३० वर्षयता खानी अलपत्र परेको छ,’ उनले भने, ‘कम मूल्यमा भारतीय फलाम गाउँगाउँमा पुग्न थालेपछि बारेकोटी फलाम निकाल्न छोडिएको हो ।’ जंगल विनाशका कारण उक्त फलामको धाउलाई प्रशोधन गर्न आवश्यक दाउराको अभावले पनि खानी अलपत्र परेको उनको भनाइ छ ।


४/५ जनाले कोइला बालेर दिनभर आरनमा काम गर्दा १०/१२ किलो मात्र फलाम निकाल्न सकिने र उक्त फलामबाट औजार निर्माण गर्न १ दिन थप लाग्ने नेपालीले बताए । ‘यसरी निर्माण भएको फलामका औजार बिक्री गर्दा १ हजार रुपैयाँ पनि आउँदैनथ्यो, ज्याला उठाउनै मुस्किल हुन्थ्यो,’ उनले भने, ‘धाउ निकाल्ने, जंगलबाट काठ ल्याउने, कोइला बनाउने, धाउ पिट्ने, औजार निर्माण गर्नेलगायत परम्परागत प्रविधिको भरपर्दा बारेकोटी फलामबाट आम्दानी लिन नसकिएको हो ।’


बारेकोट ५ को रतनकोट धाउखानी सामुदायिक वन उपभोक्ता समूहले पनि अहिले खानीमा उत्खनन गर्न रोक लगाएको छ । सयौं वर्षदेखि सञ्चालनमा रहेका बारेकोटी फलाम खानी वनजंगल विनाश, सस्तो मूल्यको भारतीय फलाम, उत्खनन तथा प्रशोधनमा आधुनिक प्रविधि भित्रिनुलगायत कारणले अलपत्र परेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।


सडक पूर्वाधार विकाससँगै गाउँपालिकामा रहेका फलाम खानी, बहुमूल्य रत्नपत्थरलगायत खनिज उपयोगमा ल्याई औद्योगिक विकास गर्ने योजना बनाएको उनको भनाइ छ । ‘पुस्तौंदेखि स्थानीयस्तरबाट प्रयोगमा आएको बारेकोटको फलाम खानीको हालसम्म सरकारी पक्षबाट अन्वेषणसमेत हुन सकेको छैन,’ अध्यक्ष शाहले भने, ‘फलामलगायत खनिज सम्पदाको अध्ययन, उत्खनन र प्रशोधनबाट घरेलु उद्योग स्थापना गरी गार्हस्थ्य उत्पादन बढाउने गाउँपालिकाको योजना छ ।’


खानी तथा भूगर्भ विभागका अनुसार नेपालमा बहुमूल्य धातु सुन, फलाम, तामा, रत्न पत्थर, फास्फोराइड, चुनढुंगालगायत ६० प्रकारका खनिज पदार्थ पाइन्छन् । जाजरकोटमा १ सय वर्ग किलोमिटर क्षेत्रफलमा बहुमूल्य रत्न पत्थर अन्वेषण भएको र बारेकोटको फलाम खानी अन्वेषण हुन नसकेको विभागका सूचना अधिकारी कृष्णदेव झाले बताए । खनिज अन्वेषणकै लागि विभागमा १६० संघसंस्थाले अनुमति लिएको उनले बताए ।

प्रकाशित : असार ३०, २०७६ १०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्