तरुल खेतीमा आकर्षण

भवानी भट्ट

(कञ्चनपुर) — महाकाली नगरपालिका १० का प्रेम सुनारको परिवारलाई धान र गहुँ खेतीले वर्ष दिन हातमुख जोर्न पुग्थेन । घर परिवारको गर्जो टार्न प्रेम मजदुरी गर्थे । तरुल खेती सुरु गरेपछि भने ती सबै समस्या समाधान भए ।

तरुल बिक्रीको आम्दानीले प्रेमको परिवार अहिले धान, गहुँ जस्ता अन्न खरिद गर्छ । छोराछोरीको पढाइ र घर खर्च तरुलले धानेको छ ।

प्रेमसँग आधा बिघा मात्रै जमिन छ । त्यही जमिनमा उनले २–३ वर्षदेखि तरुल खेती सुरु गरेका हुन् । उक्त खेतीबाट वर्षमा अढाइ/तीन लाख रुपैयाँसम्म आम्दानी हुन्छ । त्यही आम्दानीबाट खाद्यान्न खरिद गर्छन् । घर परिवारको खर्च चलाउँछन् । ‘धेरै मिहिनेत पनि पर्दैन, अन्य तरकारीको तुलनामा उत्पादन पनि राम्रो हुन्छ,’ प्रेमले भने, ‘बिक्रीको समस्या छैन, स्थानीय बजारमै खपत हुन्छ ।’

महाकाली नगरपालिका ९ र १० मा तरुल खेती गर्ने कृषकको संख्या बर्सेनि बढदै गएको छ । राम्रो उत्पादन र बजार भाउका कारण कृषक यसतर्फ आकर्षित भएका छन् । उक्त क्षेत्रमा बलौटे माटो र पानी नजम्ने भएकाले पनि तरुलका लागि उपयुक्त मानिएको छ ।

‘माघे संक्रान्तिमा तरुलको माग धेरै हुन्छ,’ चार वर्षदेखि तरुल खेती गर्दै आएका जितु सुनारले भने, ‘त्यतिबेला व्यापारी घरमै आएर लैजान्छन् ।’ उनका अनुसार तरुल प्रतिकिलो ७०–८० रुपैयाँमा बिक्री हुन्छ । एकैपटक ठूलो मात्रामा उत्पादन हुने भएकाले कतिपय कृषकले लुकिछिपी सीमावर्ती भारतीय बजारतर्फ पनि बिक्री गर्दै आएका छन् । एउटै बोटबाट दुई/अढाइ किलोसम्म निस्किन्छ । एक बिघामा ८०–९० क्विन्टलसम्म उत्पादन हुने गरेको छ ।

‘दोधारा, चाँदनी तरुल खेतीका लागि उपयुक्त छ, यसका लागि आवश्यक प्राविधिक र बीउबिजनको भने अभाव हुन्छ,’ लामो समयदेखि तरकारी खेती गरिरहेका कुतियाकवरका खड्के बुढाले भने, ‘कुनै रोग किरा लागेमा सल्लाह दिने प्राविधिक पनि पाउँदैनौं ।’ उनले ४–५ वर्षदेखि ५ कट्ठा जग्गामा तरुल खेती गरिरहेका छन् ।

महाकाली नगरपालिका तरुलका लागि मात्रै नभई अन्य तरकारी खेतीका लागि पनि उपयुक्त मानिन्छ । यहाँका कृषकले भन्टा, परबल र अन्य बेमौसमी तरकारी उत्पादनगर्दै आएका छन् । केही वर्षयता बेसारर अदुवा खेती गर्न सुरु भएको छ । ‘बेसार र अदुवाले राम्रो भाउ पाउँदैन,’ बुढाले भने, ‘सिजनमा ३०–४० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्नुपर्छ ।’

तरकारी उत्पादनका प्रशस्त सम्भावना भए पनि स्थानीय तहले हालसम्म यसतर्फ चासो दिन सकेको छैन । केही सानातिना तालिमहरू सञ्चालन गरे पनि कृषकलाई राहत हुने खालका ठूला योजना ल्याउन नसकेको हो । अहिले पनि दोधारा, चाँदनी क्षेत्रमा उत्पादन हुने तरकारी बिक्री गर्न समस्या हुने गरेको छ । यसका लागि व्यवस्थित बजार र संकलन केन्द्रसमेत स्थापना हुन नसकेको किसानको गुनासो छ ।

प्रकाशित : असार २९, २०७६ १०:२२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फाइनलमा मुख्य तीन तत्त्व

(एएफपी)

लन्डन — आयोजक इंग्ल्यान्डले आइतबार लर्डसमा हुने फाइनलमा न्युजिल्यान्डको सामना गर्नेछ । दुवै पहिलोपल्ट विश्वकप जित्ने अभियानमा हुनेछन् । यो फाइनलका तीन निर्णायक तत्व यी हुनेछन् ।

इयान मोर्गनको इंग्ल्यान्ड सन् १९९२ यता पहिलोपल्ट फाइनल पुगेको छ भने न्युजिल्यान्ड सन् २०१५ को उपविजेतासमेत हो ।

मोर्गनविरुद्ध विलियम्सन
इयान मोर्गन र केन विलियम्सन दुवैसामु अवसर छ, आफ्नो देशको क्रिकेट इतिहासमा नायक साबित हुने । दुवैलेआफ्नो देशलाई पहिलोपल्ट एकदिवसीय विश्वकप उपाधि दिलाउन सक्छन् । सन् २०१५ को विश्वकपमा खराब प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएपछि इंग्ल्यान्डले चार वर्षको अन्तरालमा खुबै प्रगति गरेको छ । यसक्रममा इंग्ल्यान्ड क्रिकेटले भयरहित खेल खेलिरहेको छ । अस्ट्रेलियामाथि प्राप्त सेमिफाइनल जितमा ३२ वर्षे मोर्गनले अविजित ४५ रन बनाएका थिए ।

समूह चरणमा इंग्ल्यान्डको हातबाट नमीठो हार बेहोरेको न्युजिल्यान्डले त्यसलाई बिर्साउने गरेर सेमिफाइनलमा भारतलाई पराजित गरेको छ । उनी भन्छन्, ‘फाइनलमा कुनै पनि टिम विजयी रहन सक्छ ।’ उनी मान्छन्, दुवै टिमले कसरी चुनौती सामना गर्छ, त्यसले नतिजामा धेरै अन्तर पार्नेछ । आफूले यसपल्ट विश्वकपमा खेलेका ८ इनिङ्समा उनले दुई शतक र दुई अर्धशतक प्रहार गरिसकेका छन् । उनको त्यो प्रदर्शनमा परिपक्वता पाइन्छ ।

रोयविरुद्ध गुप्टिल
अस्ट्रेलियामाथि प्राप्त सेमिफाइनल जितमा जेसन रोयले निकै आक्रामक ब्याटिङ गरे । यसक्रममा लयमा रहेका जोनी बेरिस्टोसँग मिलेर पहिलो विकेटका लागि १ सय २४ रनको साझेदारी गरे । यी दुई ब्याट्सम्यानले चार शतकीय साझेदारी गरिसकेका छन् यस विश्वकपमा । चोटकै कारण रोयले तीन खेल भने गुमाएका छन् । उनी चोटमुक्त भएर खेलमा फर्केयता इंग्ल्यान्डले ३ खेल सजिलै जितेको छ । प्रतियोगितामा उनको औसत ७१ रनको छ ।

न्युजिल्यान्डका गुप्टिल भने यस विश्वकपमा रन बटुल्न संघर्षरत छन् । उनले ९ इनिङ्समा १ सय ६७ रन मात्र बनाएका छन् । उनले चार वर्षअघि भने खुबै राम्रो खेलेका थिए । त्यसै क्रममा उनले वेस्ट इन्डिजविरुद्धको एउटै खेलमा २ सय ३७ रन बनाएका थिए । ब्याटमा कमजोर रहे पनि उनी फिल्डिङमा खुबै सटिक देखिएका छन् । उनकै थ्रोमा भारतका महेन्द्रसिंह धोनी रनआउट भएपछि न्युजिल्यान्ड फाइनल पुग्न
सकेको हो ।

हेनरीविरुद्ध वोक्स
म्याट हेनरीले सेमिफाइनलमा भारतको माथिल्लो क्रमलाई खुबै दबाबमा राखेका थिए । उनको प्रदर्शन धेरै हदसम्म न्युजिल्यान्डलाई विश्वकप उपाधि दिलाउन निर्णायक हुनेछ । उनले त्यस खेलमा ३७ रन दिएर ३ विकेट लिए । त्यसमा रोहित शर्माको विकेट सबैभन्दा महत्त्वपूर्ण रह्यो । यी पेसम्यानले ८ खेलमा १३ विकेट लिएका छन् ।

यस्तै प्रदर्शन अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्डका लागि क्रिस वोक्सको रहेको छ । उनले डेविड वार्नरको विकेटसँगै अस्ट्रेलियाको माथिल्लो क्रममा त्रास उत्पन्न गराएका थिए । उनले २० रन दिएर ३ विकेट लिएका थिए । वोक्सले जोफ्रा आर्चरसँग मिलेर १० खेलमा ३२ विकेट लिएका छन् ।

प्रकाशित : असार २९, २०७६ १०:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT