कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

भारत जाँदैन नेपाली परबल

भवानी भट्ट

(कञ्चनपुर) — महाकाली नगरपालिका १० सुर्खेती टोलका गोपाल खत्रीले एक दशकअघिसम्म डेढ बिघा जग्गामा परबल खेती गर्थे । गाउँटोल जताततै परबल खेतीको लहरै चलेको थियो । यहाँ उत्पादित परबल खरिद गर्न भारतका खटीमा, बरेली र दिल्लीसम्मका व्यापारी बारीमै पुग्थे । 

भारत जाँदैन नेपाली परबल

भारतले सीमा क्षेत्रमा एसएसबी क्याम्प राखेपछि परबल निकासी ठप्प भयो । दोधारा चाँदनी क्षेत्रबाट निकासी हुने परबल रोकियो । उत्पादित परबल खेतमै बिग्रिन थाल्यो । कृषकहरूले बिस्तारै खेती छाडे । उनीहरू फेरि परम्परागत धान गहुँलगायत खाद्यान्न बालीमा फर्किए ।


अहिले नेपालमा विषादी परीक्षणको विषय चर्चामा छ । सरकारले सम्बन्धित भन्सार विन्दुमा विषादी अवशेष परीक्षण गरेपछि मात्रै जाँचपास गर्नुपर्ने व्यवस्था ल्यायो । फेरि आफ्नै निर्णयबाट पछाडि फर्कियो । परीक्षणबिनै तरकारी तथा फलफूल भित्रिन थाले । अदालतको आदेशपछि पुनः परीक्षण गर्न थालिएको छ ।


एक दशकअघि एसएसबीले पनि दोधारा चाँदनी क्षेत्रको परबल विषादी परीक्षणकै नाममा रोकेको यहाँका कृषकले बिर्सिएका छैनन् । ‘एसएसबीले क्वारेन्टाइन जाँच र विषादी परीक्षणपछि मात्रै निकासी गर्न पाइने भन्दै रोकेको परबल सीमा क्षेत्रमै कुहिने अवस्था आयो,’ गोपालले भने, ‘क्वारेन्टाइन जाँच गराउन दिल्ली वा काठगोदाम पुग्नुपर्थ्यो, यही झन्झटका कारण हामीले परबल खेती नै गर्न छाड्यौं ।’


१० वर्षअघिसम्म तत्कालीन दोधारा गाविसका अधिकांश ठाउँमा परबल खेती गरिन्थ्यो । घरैपिच्छे परबल खेती गर्न थालिएपछि तरकारी व्यवसायीहरूको लर्को लाग्थ्यो । त्यतिबेला एकैदिन ३–४ ट्रक परबल निर्यात हुने गरेको महाकाली नगरपालिका ८ का ईश्वर उपाध्यायले बताए ।


‘भारतमा परबल निर्यात रोकिएपछि दोधारा चाँदनीका अधिकांश कृषक परबल छाडेर धान र गहुँ खेतीमै फर्किए,’ उनले भने, ‘दिल्लीमा जाँच गराउन सकिने अवस्था थिएन । महेन्द्रनगर लैजान पनि महाकाली नदीमा त्यतिबेला पुल थिएन ।’ सरकारले विषादी परीक्षणपछि मात्रै तरकारी भित्रिन दिने निर्णय फिर्ता लिएर नेपाली कृषक र उपभोक्तामाथि अन्याय गरेको उपाध्यायको भनाइ छ । भारतमा सीमित ठाउँमा मात्रै क्वारेन्टाइन जाँच गरिन्छ । क्वारेन्टाइन भएका ठाउँमै विषादी परीक्षणको व्यवस्था छ । सीमावर्ती सहरहरूमा भने क्वारेन्टाइन जाँच केन्द्र नहुँदा निर्यात गर्न समस्या भएको थियो ।


‘त्यतिबेला प्रतिकिलो १०/१५ रुपैयाँमा घरबाटै बिक्री हुन्थ्यो,’ महाकाली नगरपालिका १० कुतियाकवरमा लामो समयदेखि तरकारी खेती गरिरहेका खड्के बुढाले भने, ‘अहिले परबलको मूल्य प्रतिकिलो ४०/५० रुपैयाँ पुगेको छ ।’ १० वर्षअघिसम्म ५ बिघा जमिन भाडामा लिएर

परबल लगाउने उनले अहिले एक कट्ठामा मात्रै लगाएका छन् ।


केही वर्षयता दोधारा चाँदनीमा फेरि परबल खेती गर्न थालिएको छ । अहिले उत्पादन हुने परबल स्थानीय बजारमै बिक्री भइरहेको छ । कृषक आफैंले महेन्द्रनगर बजार पुर्‍याउँछन् । कतिपय व्यवसायी बारीमै पुगेर खरिद गर्छन् । महाकाली नदीमा पक्की पुल निर्माण हुन थालेपछि कृषक परबल खेतीतर्फ फेरि आकर्षित भएका छन् ।


गोपाल खत्रीले पनि दुई वर्षयता धान, गहुँ छाडेर परबल खेती लगाउन सुरु गरेका छन् । अहिले उनले आधा बिघा जग्गामा लगाएका छन् । मंसिर–पुसतिर परबल रोप्ने सिजन हो । वैशाखदेखि कात्तिकसम्म फल्छ । अहिले सातामा २–३ क्विन्टल उत्पादन हुने खत्रीले बताए । उनी महिनामा ५०–६० हजार रुपैयाँ आम्दानी गरिरहेका छन् ।


‘पक्की पुल बनेपछि यहाँ फेरि परबलको लहर चल्छ, धेरैले सुरु पनि गरिसकेका छन्,’ खत्रीले भने, ‘त्यतिबेला बजारकै कारण बन्द भएको थियो । अहिले महेन्द्रनगरमा राम्रो भाउमा मजाले बिक्री भइरहेको छ ।’


प्रकाशित : असार २८, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?