२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

निकासी झन्झट हटाउन माग

(इलाम) — बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउन उल्लेख्य योगदान गर्दै आएको कृषि उपजका निर्यातमा देखिने झन्झट हटाउन सरोकारवालाले माग गरेका छन् ।

निकासी झन्झट हटाउन माग

अलैंची, अदुवा, कुचो, छुर्पीलगायत सामग्री विदेश निर्यात दर स्वागतयोग्य भए पनि अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्‍याउन निर्यात प्रक्रियालाई सहज बनाउन नसक्दा झन्झट थपिएको उनीहरूको भनाइ छ ।


व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको बुझाइमा पनि इलाममा उत्पादन हुने मुख्य नगदेबालीको विदेशी बजारमा निर्यात हुने वस्तुमध्ये उल्लेख्य योगदान देखिएको छ । कृषक तथा व्यवसायीले भने विदेशी मुद्रा आर्जनका लागि ठूलो सम्भावना बोकेका यस्ता क्षेत्र नै उपेक्षामा पर्नुले समस्या भएको बताए ।


धेरै उत्पादन भारत आश्रित व्यापारमा रहेको र उसले आफ्नो अनुकूलताअनुसार मात्र आयात हुन दिने गरेकाले पनि मार खेप्नुपरेको उद्योगीहरू बताउँछन् । ‘सेन्ट्रल फुड ल्याब (सीएफल) का नाममा भारतले नेपाली चियालाई उसको अनुकूलताअनुसार कम मूल्यमा खरिद गर्ने नीति लिएकाले प्रत्यक्ष रूपमा कृषक र उद्योगीले मार खेप्नुपरेको छ,’ चिया उत्पादनमा संलग्न रमेश पराजुलीले भने, ‘यस्ता समस्यामा व्यापार तथा प्रवर्द्धन केन्द्रको भूमिका प्रभावकारी हुनुपर्छ ।’


सूर्योदय नगरपालिकास्थित कन्यामका चिया उद्यमी महेशकान्त अर्यालले सीएफलको झन्झटसँगै अनलाइन सिस्टमको वहाना पनि थपिएकाले थप समस्या भएको बताए । प्रवर्द्धन केन्द्रका अनुसार भारतले नेपालबाट लगेको अलैंचीलाई आफ्नै ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा महँगो मूल्यमा बिक्री गर्ने गरेको छ ।


नेपालले गुणस्तर, ब्रान्डिङ र पहुँच अभावमा न्यून मात्र आम्दानी लिन सकेको केन्द्रका वरिष्ठ अधिकृत गोविन्द आचार्यले बताए । ‘विदेशी मुद्रा आर्जनका लागि यहाँका उत्पादन अब्बल भए पनि आवश्यक फाइदा लिनबाट चुकिएको छ,’ उनले भने, ‘साना तथा घरेलु उद्योगले निर्यातको ६० प्रतिशत हिस्सा ओगटेकाले यस्ता उद्योगको प्रवर्द्धन गरिनुपर्छ ।’ निर्यात वृद्धि गर्दै आम्दानी बढाउन गुणस्तरीय उत्पादनलाई बढावा दिँदै सस्तो र भरपर्दो पारवहन व्यवस्थापनमा जोड दिनुपर्ने उनको तर्क थियो ।


जिल्लामा किबीको उत्पादनले व्यापकता लिँदै गएकाले त्यसको निर्यातमा पनि ध्यान पुर्‍याउने बेला आएको उत्पादनमा संलग्नले बताए । ‘महँगो र विदेश निर्यात योग्य फल भएकाले सरकारले अहिलेदेखि नै विदेशी बजारमा पहुँच विस्तारमा ध्यान पुर्‍याउनुपर्छ,’ किबी कृषक तथा किबी जोन सञ्चालक समितिका सचिव गंगा विष्टले भने, ‘फलसँगै किबीबाट वन्ने विभिन्न सामग्रीको उत्पादनसहित प्याकेजिङका लागि पनि कृषकलाई सहयोग पुर्‍याउनुपर्छ ।’


व्यवसायीले अदुवामा पनि बेलाबखत हुने भारतीय अवरोधले ठूलो नोक्सानी व्यहोर्नुपर्ने भएकाले यस्ता हैरानी कम गर्न सरकारले ठोस व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । अधिकांश कृषि उपजहरू भारतीय बजारमा बिक्री हुने भएकाले बजारका लागि उपयोगी व्यवस्था मिलाउँदै कृषकले खुलेर लगानी गर्ने वातावरण बनाउनुपर्ने उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालुले बताए ।

प्रकाशित : असार २८, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?