१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

स्वास्थ्य संस्थाका ६ ठेक्का तोडिए

भूषण यादव

वीरगन्ज — सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्जले ६ वटा आयोजनाको ठेक्का तोडेको छ । पटक–पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुने सम्भावना नदेखिएपछि ठेक्का तोडेको छ । सार्वजनिक खरिद ऐन, नियमावली र निर्माण व्यवसायीले खरिद सम्झौताबमोजिम कार्य सम्पादन नगरेमा ठेक्का तोडी कालोसूचीमा राख्ने र वैकल्पिक उपायबाट कार्य सम्पन्न गराउने विभागीय कार्यविधिबमोजिम ठेक्का तोड्ने निर्णय गरिएको हो ।

स्वास्थ्य संस्थाका ६ ठेक्का तोडिए

पर्साको भेडिहारी उपस्वास्थ्य चौकी भवन, शंकर सरैया स्वास्थ्य चौकी भवन, सम्झौता स्वास्थ्य चौकी भवन, पर्टेवा सुगौली स्वास्थ्य चौकी भवन, बारा कलैयाको ४ परिवार स्टाफ क्वाटर भवन र रौतहट जिंगडवा बेलबिछवा स्वास्थ्य चौकी भवनको ठेक्का तोडिएको सघन सहरी तथा भवन निर्माण आयोजना प्रमुख राजेन्द्र खतिवडाले बताए । स्वास्थ्य भवन अलपत्र हुँदा स्थानीय नागरिक स्वास्थ्य सेवा पाउनुपर्ने अधिकारबाट लामो समय वञ्चित रहेका छन् ।


ठेक्का तोडिएपछि सरकारलाई करिब २ करोड ८० लाख रुपैयाँ घाटा भएको छ । आयोजना सम्पन्न नहुँदा भएको घाटा निर्माण व्यवसायीले राखेको जमानी धरौटी रकम र अन्य निजी सम्पत्तिबाट सरकारी घाटासरह असुलउपर गरिने आयोजना कार्यालयले जनाएको छ ।


पहिलेको दररेटमा निर्माण सम्पन्न गर्दा र ठेक्का तोडेपछि दोस्रो पटकमा निर्माण गराउँदा कति व्ययभार थपिन्छ, त्यो रकम ठेकेदारबाट असुल गरिनेछ । ‘धेरै प्रयास गर्दा पनि काम नगर्ने भएपछि ठेक्का तोड्ने स्थिति आएको हो,’ आयोजना प्रमुख खतिवडाले भने, ‘दोस्रो चरणमा अरू ७/८ वटा आयोजनाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउँछौं ।’ निर्माण व्यवसायीले व्यावसायिक जिम्मेवारी पूरा नगरेको उनको भनाइ छ ।


६ वटै आयोजना सम्झौता गरेका निर्माण कम्पनीले ठेक्का सकार गरी साना निर्माण व्यवसायीलाई ‘पेटी कन्ट्र्याक्ट’ मा काम लगाएका थिए । प्राविधिकका अनुसार ठेक्का सम्झौता गरेका निर्माण व्यवसायीले काम गर्न पेटी कन्ट्र्याक्टमा दिँदा अधिकांश आयोजना अलपत्र पर्ने गरेका छन् । ‘कानुनतः सबकन्ट्र्याक्टमा ठेक्का दिन पाइँदैन,’ उनले भने, ‘पछिल्लो समय ठूला निर्माण कम्पनीले ठेक्का सकार गरेपछि पेटी कन्ट्र्याक्टमा साना निर्माण कम्पनीलाई दिने प्रचलन बढेको छ ।’


उनका अनुसार ठूलो खालको विशिष्ट प्रकृतिको काम गर्दा एउटै कम्पनीले सबै काम गर्न नसक्ने भएकाले केही काम सब कन्ट्र्याक्टमा दिन सकिन्छ । यहाँ भने ठेक्का लिएर ‘मोबिलाइजेसन’ खर्च लिने र सानालाई काम लगाउन दिने प्रचलन बढदो छ । ज्वाइन्ट भेन्चर (जेभी) मा ठेक्का सकार गरेका निर्माण व्यवसायीले समेत पेटी कन्ट्र्याक्टमा साना निर्माण व्यवसायीलाई ठेक्का दिने गरेको उनले खुलाए ।


अलपत्र स्वास्थ्य भवन

पर्साको भेडिआरी उपस्वास्थ्य चौकी भवन निर्माणका लागि स्वस्तिक श्रीविनायक कन्स्ट्रक्सन कम्पनीले २०६८ असार १७ मा ८५ लाख ८९ हजार रुपैयाँमा सम्झौता गरेको थियो ।०६९ भदौ १६ मा सम्पन्न गर्नुपर्ने ठेक्काको निर्माण कार्य जम्मा २० लाख ३६ हजार रुपैयाँ बराबरको भएको छ । आयोजना कार्यालयले ठेकेदार कम्पनीसँग घाटबापतको ५९ लाख रुपैयाँ असुल्ने जनाएको छ ।


यसैगरी रौतहटको जिंगडवा बेलबिछवा स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का अजम्बर/शिवराम कन्स्ट्रक्सन जेभीले पाएको थियो । ०७१ जेठ २८ मा १ करोड ३२ लाख रुपैयाँमा निर्माण सम्झौता भएको ठेक्का ०७२ मंसिर २७ मा सम्पन्न गर्नुपर्ने थियो । हालसम्म उक्त स्वास्थ्य चौकीमा ४१ लख ८६ हजार रुपैयाँ बराबरको निर्माण कार्य भएको छ ।


ठेकेदारबाट ८० लाख रुपैयाँ असुलिने आयोजना प्रमुख खतिवडाले जनाए । ०७१ जेठ २८ मा अजम्बर/शिवराम कन्स्ट्रक्सन जेभीले पर्साको शंकर सरैया स्वास्थ्य चौकी भवन १ करोड ५४ लाख रुपैयाँमा निर्माण गर्ने सम्झौता गरेको थियो । सम्झौता भएको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिएपनि हालसम्म ६५ लाख रुपैयाँ बराबरको काम मात्र भएको छ । ठेकेदार कम्पनीबाट ९५ लाख रुपैयाँ असुलिने निर्णय भएको छ ।


पर्साकै सम्झौता स्वास्थ्य चौकी भवन अलपत्र पार्ने शिवराम कन्स्ट्रक्सन प्रालिसँग २२ लाख रुपैयाँ असुलिने भएको छ । यसैगरी बाराको कलैयामा चार परिवार स्टाफ क्वाटर भवन निर्माण सम्झौता गरेर अलपत्र पार्ने टौदह कन्स्ट्रक्सनसँग २३ लाख रुपैयाँ असुलउपर गरिनेछ । पर्साको पर्टेवासुगौली स्वास्थ्य चौकी अलपत्र पार्ने अजम्बर/शिवराम कन्स्ट्रक्सन जेभीसँग २० लाख रुपैयाँ असुलिने भएको छ ।


सरकारी घाटा असुलउपर नभएसम्म फार्मको कर चुक्ता नगरिदिन कर कार्यालयलाई पत्र पठाइएको छ । सम्बन्धित निर्माण व्यवसायीबाट असुलउपर गर्नुपर्ने रकम सरकारी बाँकीसरह असुलउपर गर्ने कौशीतोषखानामा पत्राचार गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित : असार २७, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?