२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लिलाममा पनि बिकेन कर्णालीको गेडागुडी

राजु चौधरी

काठमाडौँ — कर्णालीको गेडागुडी बिक्री गर्न लिलामीको सूचना प्रकाशित गरे पनि कुनै व्यक्ति/व्यवसायीले इच्छा देखाएनन् । गेडागुडी गोदाममा थन्किएपछि खाद्य संस्थानले लिलाम गर्न असार ५ गते सूचना प्रकाशित गरेको थियो । २१ दिनको म्याद राखेर बिक्रीका लागि सूचना प्रकाशित गरे पनि कसैले इच्छा नदेखाएका हुन् । 

‘गोदमममै थन्किएपछि इच्छुक व्यक्ति, फार्म, संस्था वा कम्पनीको लागि सूचना प्रकाशित गरेका थियौं । २१ दिनको म्याद बुधबार सकिएको छ,’ संस्थानका बिक्री वितरण विभागका निर्देशक लालमोहन ठाकुरले भने, ‘एउटा कम्पनीको पनि आवेदन परेन । कसैले इच्छा देखाएनन् ।’


संस्थानका अनुसार करिब दुई वर्षयता गेडागुडी गोदाममै छ । थापाथली गोदामबाट छिटफुट रूपमा मात्रै बिक्री भइरहेको छ । बिक्री नभएपछि सिमी र फापर झन् पुरानो हुँदै गएको छ । त्यसैले लिलाममार्फत बिक्री गर्ने संस्थानको योजना थियो । लिलाम गर्दा पनि कसैले चासो दिएनन् । संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनका अनुसार आवेदन नपरेपछि अब बजार मूल्यांकन हुन्छ । बजारभाउ बुझेर सोहीअनुसार मूल्य निर्धारण गरिने बताए ।


‘कर्णालीको गेडागुडी सबै हिसाबले गुणस्तरीय छ । बिक्रीका लागि कसैले पनि आवेदन दिएन,’ गौचनले भने, ‘अब थापाथली धान गोदामले वस्तुको बारेमा बजार मूल्यांकन गर्छ । अध्ययन गर्छ । त्यसपश्चात मूल्य पुनरावलोकनका लागि संस्थान बोर्डमा प्रस्ताव गर्छौं ।’


हाल संस्थानको अञ्चल कार्यालय थापाथली गोदाममा ७४३ क्विन्टल सिमी, ६६० क्विन्टल तिते फापर छ । शाखा कार्यालय सुर्खेतमा १६२ क्विन्टल सिमी, ८२ क्विन्टल तिते फापर मौज्दात छ । संस्थानले सिमीको खुद्रा बिक्री मूल्य प्रतिकिलो १३० र तिते फापरको ८० रुपैयाँ निर्धारण गरेको छ । यो मूल्य बजार मूल्यभन्दा सस्तो हो ।


खाद्य किराना संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार होलसेलमा राजमा सिमीको मूल्य १२५ रुपैयाँ पर्छ । मिठे फापरको बोक्रासहित ६५ र बोक्रारहित १२५ रुपैयाँ पर्छ । तिते फापर केही महँगो पर्छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार राजमा सिमी १६० रुपैयाँमा बिक्री भएको छ । कर्णालीको सिमी तथा फापरको मूल्य केही बढीमा बिक्री हुन्छ । फापर दुई प्रकारका हुन्छन् । कर्णालीमा उत्पादन हुने फापर तिते हो ।


तिते फापरले बाथ र मधुमेहका बिरामीलाई फाइदा गर्ने मान्यता छ । संस्थानले किलोमै ३० रुपैयाँ सस्तोमा बिक्री गर्दा पनि बिक्री भएन ।

निर्देशक ठाकुरका अनुसार यसअघि सूचना प्रकाशन गर्ने क्रममा केही मूल्य घटाउन प्रस्ताव गरिएको थियो ।


संस्थान बोर्डले बिक्री गरिरहेको मूल्य सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो । ‘त्यसैले पनि बिक्रीका लागि आवेदन परेन होला,’ ठाकुरले भने । गेडागुडी बिक्री नभएपछि तत्कालीन आपूर्तिमन्त्री दीपक बोहराको अध्यक्षतामा बसेको बैठकले साल्ट ट्रेडिङको आउटलेटबाट बिक्री गर्ने निर्णय गरेको थियो । निर्णयलगत्तै खाद्यले १२ क्विन्टल साल्टको कार्यालयमा ढुवानी गरेको थियो । त्यसपश्चात् साल्टले बिक्री गर्न चासो दिएको थिएन ।


कृषकलाई प्रोत्साहन गर्न सरकारले २०७०/७१ देखि कर्णालीको उत्पादन खरिद गर्दै आएको थियो । कर्णालीको सिमी र फापर बिक्री हुन छाडेपछि सरकारले २०७५/७६ मा बजेट नै विनियोजन गरेन । आगामी आर्थिक वर्षका लागि समेत बजेट विनियोजन गरिएको छैन ।


९५ मध्ये दुई कार्यालयबाट मात्रै बिक्री

संस्थानले दुई कार्यालयबाट मात्रै बिक्री गर्दा पनि प्रभावकारी हुन नसकेको जानकारहरू बताउँछन् । ‘संस्थानसँग ८ वटा अञ्चल कार्यालय, राजापुरमा एउटा मिल, २६ शाखा, ५९ डिपो, प्रधान कार्यलयसहित ९५ कार्यालय छन्,’ संस्थानका एक अधिकारीले भने, ‘दुई कार्यालय (थापाथली र सुर्खेत) बाट मात्रै बिक्री गरिन्छ ।


जसले गर्दा पनि प्रभावकारी हुन सकेन ।’ दुई कार्यालयबाट मात्रै बिक्री हुँदा उपभोक्ताको पहुँच हुन सकेको छैन । ठाकुरले भने अधिकांश डिपो कर्णालीमा रहेकाले जिल्लामा सुर्खेतबाट मात्रै बिक्री गरेको बताए । संस्थानका अनुसार चालु आर्थिक वर्षमा सिमी १९५.९५ क्विन्टल र तिते फापर ३८.०१ क्विन्टल बिक्री भएको छ ।


सुर्खेत कार्यालयबाट १०९ क्विन्टल सिमी र फापर ६ क्विन्टल बिक्री भएको छ । काठमाडौंबाट ८६.९५ क्विन्टल सिमी र ३२.१ क्विन्टल तिते फापर बिक्री भएको ठाकुरले बताए ।

प्रकाशित : असार २७, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?