२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

विषादी जाँचेर मात्रै भन्सार पास

माधव ढुंगाना

भैरहवा — विषादी जाँच गरेर मात्रै भारतबाट आयातित तरकारी तथा फलफूल भन्सार जाँचपास गर्न थालिएको छ । भन्सार विन्दुहरूमा विषादी परीक्षण रोक्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश दिएपछि पुनः परीक्षण थालिएको हो ।

केही दिनअघि सरकारले पर्याप्त प्रयोगशाला नभएको जनाउँदै सोझै आउन दिने निर्णय गरेको थियो । त्यसपछि सुनौली–भैरहवा नाकाबाट परीक्षणबिनै तरकारी तथा फलफूल नेपाल भित्रिएका थिए ।


अदालतको अन्तरिम आदेशपछि सुनौली–भैरहवा नाकाबाट आयात गरिने तरकारी तथा फलफूलको बुटवल थोक हाटबजारस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईमा जाँच गर्न सुरु गरिएको छ । अदालतको आदेशपछि विषादी परीक्षण सुरु गरिएको बेलहियास्थित क्वारेन्टाइन कार्यालयका प्रमुख विष्णुप्रसाद काफ्लेले जानकारी दिए ।


‘सर्वोच्चको आदेशपछि हामीले व्यवसायीलाई बुटवलमा रहेको जाँच इकाईबाट परीक्षण गरेर रिपोर्ट ल्याउन भनेका छौं,’ उनले भने, ‘रिपोर्ट नआउँदासम्म तरकारी तथा फलफूलका गाडी यहीँ रोकिन्छन् ।’


व्यवसायीले परीक्षण रिपोर्ट ल्याएपछि त्यसैका आधारमा गाडी पास हुने उनले बताए । भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले सर्वोच्चको आदेशअनुसारै जाँच गरेर विषादी नभएको रिपोर्ट ल्याएपछि मात्रै गाडी भन्सारबाट पठाउने बताए । ‘सर्वोच्चको आदेशलगत्तै विषादी परीक्षणका आधारमा मात्रै तरकारी तथा फलफूलका गाडी भन्सार पास गर्नु भनेर विभागबाट निर्देशन आएको छ,’ पौडेलले भने ।


बिहीबार साँझसम्म विषादी जाँच गरिएका करिब ५० वटा गाडी भन्सार पास भएको पौडेलले जानकारी दिए । बेलहिया नाकामा विषादी परीक्षण इकाई छैन । बुटवलको उक्त इकाईमा प्रदेश सरकारले एकजना प्राविधिक कर्मचारी खटाएपछि बुधबारदेखि परीक्षण सुरु भएको छ ।


बुटवलमै विषादी परीक्षण इकाई सञ्चालन भएपछि आयातकर्ता खुसी छन् । यसले जाँच गर्नुपरे पनि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको व्यवसायीले बताए । काठमाडौं परीक्षण गर्न जाँदा लागतसमेत बढ्ने गरेको थियो ।


बुटवलमै जाँच सुरुपछि व्यवसायीलाई सहज भएको छ । उनीहरूले सीमा नाकामै परीक्षण इकाई स्थापना गर्नुपर्ने माग गरेका छन् । यस नाकाबाट आव ०७४/७५ मा ९ करोड ७१ लाख रुपैयाँको ताजा तरकारी, ७१ करोड ४ लाख रुपैयाँको फलफूल, १ अर्ब ८४ करोड ३९ लाख रुपैयाँको आलु र १ अर्ब ४८ करोड ८३ लाख रुपैयाँ मूल्यको प्याज आयात भएको थियो ।


प्रकाशित : असार २७, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?