कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बैंकलाई असारे चटारो

निर्मला खडायत

धनगढी — सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको आर्थिक गतिविधि बढेपछि बैंक, होटल रेस्टुरेन्टहरूलाई असारे चटारोले छोएको छ । आर्थिक वर्षको अन्तिम महिनामा सरकारी, निजी क्षेत्रको कारोबार दोब्बर बढेको छ । धनगढीस्थित राष्ट्र बैंकका अनुसार वैशाखयता कोष स्थानान्तरण (फन्ड ट्रान्सफर) मा पनि वृद्धि भएको छ ।

सामान्यतया एउटा बैंकमा ३ महिनामा एकपटक २५ करोड रुपैयाँसम्म फन्ड ट्रान्सफर गर्ने राष्ट्र बैंकले अहिले महिनामै ३/४ पटक फन्ड ट्रान्सफर गरिरहेको प्रबन्धक निश्चल अधिकारीले बताए । ‘अहिले बैंकमा २५ प्रतिशतले कारोबार बढेको छ,’ उनले भने ।


राष्ट्र बैंकले चालु आर्थिक वर्षको हालसम्म अन्य बैंकहरूमा १० अर्ब फन्ड ट्रान्सफर गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ३६ प्रतिशत र चैतदेखि असारसम्म ६४ प्रतिशतसम्म फन्ड ट्रान्सफर भएको बैंकका प्रबन्धक अधिकारीको भनाइ छ ।


‘वैशाखयता फन्ड ट्रान्सफरको काम हात्तै बढेको छ । आर्थिक वर्षको अन्त्य भएकाले आर्थिक कारोबार बढेको छ,’ प्रबन्धक अधिकारीले भने । उनले वैशाख, जेठ र असारमा मात्रै ३ अर्ब ८० करोड रुपैयाँ ट्रान्सफर भएको जानकारी दिए । सरकारले अधिकांश विकास निर्माणका काम जेठ र असारमै गर्छ । ‘आर्थिक कारोबार बढेपछि प्रदेशका अन्य बैंकहरूको ढुकुटीमा भएको पैसा सकिन्छ र उनीहरू नेपाल राष्ट्र बैंकसँग रकम माग गर्छन्,’ प्रबन्धक अधिकारीले भने ।

निजी बैंकहरूमा पनि आर्थिक कारोबार बढेको छ । सामान्य अवस्थामा भन्दा अहिले २५ प्रतिशतले कारोबार वृद्धि भएको बैंकका प्रबन्धकहरूले बताएका छन् । एभरेस्ट बैंकका शाखा प्रबन्धक राजकुमार शाक्यले वैशाखयता बैंकको कारोबार बढेको बताए । वर्षका अन्तिम २ महिनामा आर्थिक गतिविधि स्वाभाविक रूपमा बढ्ने उनको भनाइ छ ।


होटल भरिभराउ

सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीका अधिकांश होटल भरिभराउ छन् । कारोबार हात्तै बढेको छ । सरकारी तथा गैरसरकारी संघ संस्थाहरूका कार्यक्रमहरूले होटलका हलमा कार्यक्रम गर्न पालो कुर्नुपर्छ । संघसंस्थाहरूलाई पनि असारभित्र काम सम्पन्न गरिसक्नुपर्ने बाध्यता छ ।


‘व्यापार पनि अन्य महिनाको तुलनामा राम्रो भएको छ,’ होटल व्यवसायी संघ कैलालीका अध्यक्ष तथा होटल सनलाइटका सञ्चालक कलम बमले भने, ‘अहिले होटलमा ग्राहकहरूको संख्या बढेको छ । संघसंस्थाका कार्यक्रमहरू सामान्य अवस्थामा भन्दा बढी भइरहेका छन् ।’


सरकारी निकायका कार्यक्रमहरूले हलहरू प्याक हुने गरेको उनले बताए । अन्य महिनामा फाटफुट मात्र कार्यक्रम आउने गरेका भए पनि पछिल्ला दुई महिनामा दिनहुँ कार्यक्रम हुने गरेको उनले बताए । ‘आर्थिक वर्षको अन्त्य भएर होला हरेक वर्षझैं यस वर्ष पनि जेठदेखि होटलमा राम्रै कारोबार भइरहेको छ,’ बमले भने ।


अघिपछि न्यून कारोबार हुने भए पनि आर्थिक वर्षका अन्तिम २ महिनामा झन्डै ४० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको धनगढीकै साथी होटलका रिसेप्सन म्यानेजर मोहनराज अवस्थीले बताए । ‘होटलमा दैनिक कार्यक्रम भइरहेको छ,’ उनले भने, ‘पहिले महिनामा १०/१५ कार्यक्रम मात्र आयोजना हुन्थे ।’

प्रकाशित : असार २७, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?