३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

हिमालय एयरलाइन्स ढाका उड्दै

काठमाडौँ — तीन वर्षअघि संयुक्त लगानीमा स्थापना भएको हिमालय एयरलाइन्सले साउन ६ देखि काठमाडौं–ढाका–काठमाडौं सिधा उडान गर्ने भएको छ । 

हिमालय एयरलाइन्स ढाका उड्दै

यसले एयरबस ३२०–२०० बाट यो रुटमा उडान गर्दै छ । प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार हिमालयको यो चौथो गन्तव्य हुनेछ । हाल यस्ले आफ्ना तीनवटा एयरबस ३२०–२०० बाट मध्यपूर्वी एसियाका दोहा, दुबई र दमाममा नियमित उडान गर्दै छ । यो संस्करणको जहाजमा १५० इकोनोमी श्रेणी र आठवटा प्रिमियम इकनोमी श्रेणीकासहित १ सय ५८ सिट छन् ।


‘ढाकामा हुने उडानले बांगलादेशीसहित मध्यपूर्वी एसियाका यात्रुका लागि काठमाडौं ट्रान्जिट हबको विकल्प बन्नेछ,’ श्रेष्ठले भने । यसले सातामा तीन दिन ढाका उडान भर्नेछ । काठमाडौंबाट ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलसम्मको उडान समय डेढ घण्टाको हो । हाल यस रुटमा बंगलादेशको ध्वजावाहक विमान बंगालले गर्दै आएको छ ।


हिमालयले यसअघि काठमाडौंबाट म्यानमारको बर्मा र श्रीलंकामा पनि उडान गरेको थियो । यात्रु अभावलगायतका कारण यी रुटमा छ महिनाभन्दा बढी उडान भएन । त्यसैगरी चीनको उत्तरपूर्वी सहर छाङछुङमा चार्टर उडान थालेको थियो । उक्त रुटमा पनि हिमालय सफल हुन सकेन ।


०७३ जेठमा काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान थालेको हिमालय एयरलाइन्सले घोषणा गरेअनुसारको व्यापार गर्न नसकेपछि आफ्नो एउटा जहाज भियतनामको ब्याम्बो एयरलाई एक वर्षका लागि भाडामा दिएको छ ।

०७१ मा काठमाडौंमा दर्ता भएको हिमालय नेपाली र चिनियाँको संयुक्त लगानीमा स्थापना भएको निजी कम्पनी हो । यसमा ५१ प्रतिशत लगानी यती एयरलाइन्सका सञ्चालकको कम्पनी यती वर्ल्ड इन्भेस्टमेन्ट र ४९ प्रतिशत लगानी तिब्बत एयरलाइन्सको रहेको छ ।


यो कम्पनीसँग भएका तीनवटा विमान चाइना डेभलप्मेन्ट बैंकबाट १२ वर्षका लागि ड्राई लिजमा ल्याइएका हुन् । सुरुमा काठमाडौंबाट दिल्ली उडान घोषणा गरेको कम्पनीलाई भारतले लगानीको स्रोतमा शंका गर्दै हालसम्म उडान अनुमति दिएको छैन ।

प्रकाशित : असार २७, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?