कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

कर असुलीमा ढिलाइ

जितेन्द्र साह

(विराटनगर) — रिचार्ज कार्डको कारोबारमा बिक्री बिल जारी नगरी विराटनगरका एक व्यवसायीले छलेको ८ करोड ६१ लाख ३४ हजार ८ सय ७१ रुपैयाँ कर अझै असुलिएको छैन । विराटनगर महानगरपालिका–७ शनिहाटस्थित जयबाबा सप्लायर्सका सञ्चालक ५४ वर्षीय सतीशकुमार जयसवालले २०६७ देखि २०७३ सम्म यति धेरै रकम कर छली गरेका हुन् ।

कर असुलीमा ढिलाइ

नियोजित रूपमा जयसवालले करोडौं रुपैयाँ कर छलेको निचोडमा पुगेको विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख दिलीपकुमार गौतमले कान्तिपुरलाई बताए । ‘नगद, सुनचाँदी र घरजग्गा परिवारका अन्य सदस्यको नाउँमा राखेर कारोबार गर्नुले पनि उनको धोखाधडीको नियत रहेको प्रस्टिन्छ,’ उनले भने, ‘जति प्रयास गरे पनि सम्पर्कमा आउन खोज्दैनन् ।’


व्यवसायी जयसवालले छलेको रकममा अहिलेसम्मकै ब्याज थपिँदा मूल्य अभिवृद्धि कर (भ्याट) ५ करोड ६० लाख १९ हजार ६ सय ५४ रुपैयाँ र आयकर ३ करोड १ लाख १५ हजार २ सय १७ रुपैयाँ बक्यौता पुगेको हो । व्यावसायिक दस्तावेजको अनुसन्धानमा जयसवालले कर छली अपराध गरेको खुलासा भएपछि एक वर्षदेखि उक्त कार्यालयले ऐनबमोजिम चरणबद्ध असुली प्रक्रिया अघि बढाएको छ ।


‘अब पनि जयसवालले राजस्व बुझाएनन् भने विभागलाई सम्पूर्ण फाइल जिम्मा लगाउने हो,’ गौतमले भने ।


उक्त कार्यालयले विभिन्न व्यक्ति र फार्मबाट उठाउन बाँकी कर बक्यौतामध्ये जयसवालसँग उठाउनुपर्ने रकम १४.३५ प्रतिशत हुन आउँछ । २०५४ सालदेखि अहिलेसम्म मूल्य अभिवृद्धि कर, आयकर र अन्तः शुल्कबापत उक्त कार्यालयले व्यवसायी एवं संस्थाबाट करिब ६० करोड रुपैयाँ राजस्व उठाउन बाँकी छ ।


उक्त कार्यालयले १३ जेठमा ६२ व्यावसायिक फार्म र व्यापारीविरुद्ध जारी गरेको १५ दिनभित्र कर दाखिला गर्ने सूचनामा पनि स्थायी लेखा नम्बर ३०१६४३७०२ भएको जयसवालको नाम एक नम्बरमा छ । उनी यो सूचीमा गत वर्ष पनि एक नम्बरमै थिए । जयसवालले नेपाल टेलिकम र एनसेलबाट खरिद गरेको रिचार्ज कार्ड, सिम एवं अन्य विविध सामग्रीलाई बिलबिनै बिक्री गर्दै आएका थिए ।


प्रकाशित : असार २६, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?