सौर्य ऊर्जाका लागि लगानी सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले बुटवलमा निर्माण गर्न लागेको ८.५ मेगावाटको सौर्य आयोजनाका लागि सहवित्तीयकरण सम्झौता भएको छ । आयोजना र बैंक अफ काठमान्डुको अगुवाइमा सिटिजन बैंक र नेपाल बंगलादेश बैंकबीच सहवित्तीयकरण सम्झौता भएको हो ।

आयोजना निर्माण गर्न ६५ करोड ४६ लाख लागत अनुमान गरिएको छ । यसमध्ये ४९ करोड बैंक ऋण र बाँकी रिडी हाइड्रो पावरको स्वलगानी हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणले तराईका विभिन्न जिल्लाहरूमा अवस्थित सबस्टेसनमा जडान गर्ने गरी ६४ मेगावाट क्षमता सोलार प्लान्टका लागि आह्वान गरेको बोलपत्रमा भाग लिएर रिडीले यो आयोजना निर्माणको जिम्मा पाएको हो । आयोजना साउनदेखि सुरु गरी चैतमा सक्ने लक्ष्य छ ।

प्रकाशित : असार २५, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्

पर्यटन प्रवर्द्धन गर्न कोलवृक्ष संरक्षण

रासस

परासी — पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले विश्वमै लोपोन्मुख मानिएको बौद्धकालीन वनस्पति कोलवृक्षको संरक्षण गर्दै पर्यटन विकास गर्ने योजना अघि सारेपछि स्थानीयवासी उत्साहित भएका छन् ।

गाउँपालिकाले जावा क्षेत्रलाई पर्यटकीयस्थल बनाउन घोषणा गरिसकेको छ । यहाँको पर्यटन विकास हुन सके आफूहरूको आय आर्जन वृद्धि हुने, रोजगारीको अवसर सिर्जना हुने तथा यस क्षेत्रको बृहत्तर विकास हुने भएपछि स्थानीयवासी आशावादी देखिएका छन् ।

सरावल–२ स्थित जावा गाउँभरि नै कोलवृक्ष पाइन्छ । जावा गाउँमा मात्रै पाइने कोलवृक्षलाई संरक्षण गरी उक्त क्षेत्रलाई नमुना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने नीतिका साथ गाउँपालिकाले यसलाई उच्च प्राथमिकताका साथ बजेटसमेत विनियोजन गरेको छ ।

प्राचीन कोलीय गणराज्यको इतिहाससँग जोडिएको कोलवृक्ष वनस्पतिबारे अनुसन्धान जारी छ । जापानलगायत देशका अनुसन्धानकर्ताले यसको अनुसन्धान गर्दै आएका छन् । यस वनस्पतिको वैज्ञानिक नाम, प्रजाति र त्यसको गुणबारे अनुसन्धानकै क्रममा रहेको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए ।

स्थानीयवासीले आकोल भनेर चिन्ने यस वनस्पतिको उत्पत्ति पनि नेपालमै भएको दाबी गरिएको छ । कोलवृक्ष कुष्ठरोग, छालासम्बन्धी रोग, मधुमेह, रक्तचापजस्ता रोगको उपचारमा प्रयोग गरिएको कथन पाइन्छ । प्राचीनकालमा राम भन्ने राजालाई कुष्ठरोग लागेपछि यहाँको कोलवृक्षमुनि विश्राम गरेर त्यही वृक्षको पातको लेप शरीरभरि लगाउने र यसको फल खाने गरेर कुष्ठरोग निको भएको किंवदन्ती छ । यसै वृक्षको नामबाट प्राचीन रामग्राम क्षेत्रलाई कोलिय गणराज्यको नामबाट चिनिन्छ । गाउँपालिकाले कोलवृक्ष संरक्षण गरी पर्यटन क्षेत्रका रूपमा विकास गर्न आर्थिक वर्ष २०७६/०७७ मा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘कोलवृक्ष संरक्षणका लागि यसै वर्ष हामीले गुरुयोजना बनाएर पर्यटन विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउँदै छौं,’ अध्यक्ष चौधरीले भने, ‘बौद्धचर्या ग्रन्थमा पनि यो वनस्पतिको महत्त्व उल्लेख गरिएको छ, बुद्धकालमै कुष्ठ रोग निवारणमा प्रयोग भएको यो वनस्पति विश्वकै लोपोन्मुख रुख हो, यो राष्ट्रकै गहना भएकाले हामीले बुद्ध सर्किटसँग पनि जोडेर यसको एकीकृत पर्यटन विकासका लागि पहल गरिरहेका छौं ।’

जावामा कोलवृक्ष बगैंचाका रूपमा रहेको छ भने गाउँको चारैतिर पनि यो वनस्पति देख्न सकिन्छ । गाउँभरि नै यसको रुख पाइने भएकाले गाउँपालिकाले कोलवृक्षको गणना गर्ने तयारी पनि गरेको छ । यो रुख रोप्नु नपर्ने र आफैं उत्पत्ति हुने गरेको स्थानीयवासी बताउँछन् ।

यहाँ प्राचीन कालीन इँटा पनि भेटिएका छन् । कोलवृक्षसँगै जावा क्षेत्रमा रहेको ऐतिहासिक ताल, कोटइमाईको थान, बुद्धकालीन तीनकुने इनारलाई समावेश गरी बृहत् पर्यटन क्षेत्रका रूपमा विकास गर्न लागिएको अध्यक्ष चौधरीले बताए । तालको नजिकै करिब तीन बिघा क्षेत्रमा कोलवृक्ष बगैंचा, थारूको कुलदेवता कोटइमाई थान रहेको छ भने सोही स्थानमा अहिले ठूलो बुद्धको मूर्ति स्थापना गर्न लागिएको स्थानीयवासी पवनकुमार चौधरीले बताए । ‘यस क्षेत्रको संरक्षणका लागि तारबार गर्न आवश्यक छ, यहाँसम्म सहजै पुग्नका लागि बाटो निर्माणको थालनी भएको छ,’ चौधरीले भने ।

प्रकाशित : असार २५, २०७६ ०९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्