कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोहोरको तुलनामा आधा रोपाइँ

राजु चौधरी

काठमाडौँ — पोहोरको तुलनामा मुलुकका अधिकांश क्षेत्रमा आधा मात्रै रोपाइँ भएको छ । रोपाइँ हुने क्षेत्रमा पानी नहुँदा रोपाइँ आधा मात्रै भएको हो । कृषि विभागको तथ्यांकअनुसार मुलुकभरि १३ लाख ७१ हजार ७ सय ६ हेक्टरमा रोपाइँ हुन्छ ।

पोहोरको तुलनामा आधा रोपाइँ

जसमध्ये यस वर्ष असार २२ सम्ममा २३.७६ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । यो अघिल्लो वर्षको यस अवधिको तुलनामा २९.१९ प्रतिशतले कम हो । विभागको अनुसार गत वर्ष असार २२ सम्म ५२.९५ प्रतिशत रोपाइँ भएको थियो ।

‘मनसुनको भरमा रोपाइँ हुनाले पर्याप्त पानी छैन,’ विभागका वरिष्ठ बाली विकास अधिकृत प्रकाश आचार्यले भने, ‘जसले गर्दा रोपाइँमा कमी देखिएको हो ।’

तराईमा ढिलो गरी रोपाइँ हुनाले बितिनसकेको उनले बताए । उनका अनुसार थप १०/१५ दिनसम्म मनसुन सक्रिय नभए सोच्नुपर्ने हुन्छ । ‘तराईमा ढिला नै रोप्छन् । १६ देखि २० दिनको बेर्ना कलिलो हुने, धान धेरै फल्ने मान्यता छ,’ उनले भने, ‘३५ दिनसम्मको बेर्नाले पनि राम्रो उत्पादन दिन्छ ।’ विभागको तथ्यांकअनुसार सबैभन्दा कम तराईमा रोपाइँ भएको छ । ९ लाख ७७ हजार ४ सय १४ हेक्टरमा रोपाइँ हुन्छ ।

असार २२ सम्म २०.६१ प्रतिशत अर्थात् २ लाख १ हजार ४ सय ७ हेक्टर मात्रै रोपाइँ भएको छ । ठूलो परिमाणमा धान खेती तराई क्षेत्रमा हुन्छ । सोही क्षेत्रका जमिन सुक्खा छ । आचार्यका अनुसार तराईको पनि प्रदेश २ मा धेरै कम पानी परेको छ । ‘प्रदेश २ मा १०.२५ प्रतिशत मात्रै रोपाइँ भएको छ,’ उनले भने, ‘यहाँ अघिल्लो वर्ष यही अवधिमा ५३.५७ प्रतिशत रोपाइँ भएको थियो ।’ प्रदेश दुईसहित अन्य प्रदेशको तराईमा पनि अवस्था उस्तै छ । अधिकांशमा आधा मात्रै रोपाइँ भएको छ ।

कुल उत्पादनमध्ये सबैभन्दा बढी २७ प्रतिशत प्रदेश नम्बर २ मा उत्पादन हुन्छ । प्रदेश ५ र १ मा कुल उत्पादनको क्रमश २२ र २१ प्रतिशत उत्पादन हुने अनुमान छ । यी प्रदेशमा रोपाइँ आधा पनि भएको छैन । तराईको तुलनामा पहाड र उच्च पहाडमा भने केही सुधार छ । विभागको तथ्यांकअनुसार उच्च पहाडमा ४८ हजार १ सय ९३ हेक्टर मध्ये ३४ प्रतिशत रोपाइँ भएको छ । अघिल्लो वर्ष यही अवधिमा ६१.६५ प्रतिशत रोपाइँ भएको थियो । मध्य पहाडमा ३१.१५ प्रतिशत रोपाइँ भएको छ । मध्य पहाडमा ३ लाख ४६ हजार ९९ हेक्टरमा धान खेती हुन्छ । अघिल्लो वर्ष यसै अवधिमा ५५.६१ प्रतिशत रोपाइँ भएको थियो ।

विभागका अनुसार तराई क्षेत्रमा रोपाइँ ढिला नै हुन्छ । यसपालि धेरै ढिलो भएको छ । विभागको तथ्यांकअनुसार सबैभन्दा बढी कर्णालीमा रोपाइँ भएको छ । कर्णालीमा ५१.४२ प्रतिशत रोपाइँ भएको छ । अघिल्लो वर्ष यस अवधिमा ६५.८८ प्रतिशत रोपाइँ थियो । यस्तै सुदूरपश्चिमम प्रदेशमा ४४.४१ प्रतिशत रोपाइँ भएको छ । अघिल्लो वर्षयसै अवधिमा ८० प्रतिशत भएको थियो ।

प्रदेश ५ मा २९.५१ प्रतिशत र गण्डकी प्रदेशमा २८.५३ प्रतिशत रोपाइँ भएको छ । अघिल्लो प्रदेश ५ मा ५६.१८ प्रतिशत, गण्डकी प्रदेशमा ७२.२५ प्रतिशत भएको थियो । प्रदेश १ र ३ को अवस्था पनि भयवह नै छ । प्रदेश १ मा १८.४५ प्रतिशत र प्रदेश ३ मा २०.९९ प्रतिशत मात्रै रोपाइँ भएको छ । अघिल्लो वर्ष असार २२ गतेसम्म प्रदेश १ मा ४१.५९ प्रतिशत र प्रदेश ३ मा ४६.९३ प्रतिशत रोपाइँ भएको थियो । सरकारले समग्रमा २३ प्रशितत रोपाइँ भएको जनाए पनि विज्ञहरू पत्याउन गाह्रो भएको बताउँछन् ।

‘अहिलेसम्मको अवस्थामा आधा पनि भएको छैन । तराईमा पानी नभएर अधिकांश क्षेत्रमा खडेरी छ । बीउ सुकेको अवस्था छ,’ कृषि विज्ञ कृष्ण पौडेलले भने, ‘सरकारी तथ्यांक पत्याउन गाह्रो छ । पहाडको रोपाइँले आधा रोपाइँ भयो भन्न मिल्दैन ।’ अहिलेकै अवस्थामा २५ देखि ३० प्रतिशत खेत बाँझो हुने सम्भावना रहेको उनले बताए । हाल मनसुन नहुँदा रोपाइँ हुन सकेको छैन । किसानले मल पनि पाएका छैनन् । यसको असर सिधै उत्पादनमा पर्ने उनीहरूको भनाइ छ । हाल कुल गार्हस्थ्य उत्पादनमा धानको मात्रै करिब ४ प्रतिशत योगदान छ ।

प्रकाशित : असार २५, २०७६ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?