खडेरीले खायो बाली

प्रदेश १ ब्युरो

काठमाडौँ — असार तेस्रो साता बितिसक्दा अधिकांश खेत बाँझै छन् । मकैका बिरुवा बारीमै सुकेका छन् । प्रदेश १ का १४ वटै जिल्ला चर्को खडेरीको मारमा छन् । अहिलेसम्म १८ प्रतिशतभन्दा रोपाइँ हुन सकेको छैन । 

खडेरीले खायो बाली

खेतबारीमै अन्नबालीको बोट सुकेपछि धनकुटाका किसान चिन्तामा छन् । विगतमा असारमा मूल फुट्ने गरी बर्खा हुन्थ्यो । यसपालि भएकै मूल पनि सुकिसके । छथरजोरपाटी गाउँपालिकामा कम्तीमा सय र चौबीसे गाउँपालिकामा ५ सयभन्दा बढी कृषक खडेरीको मारमा छन् ।


वैशाखयता छथरजोरपाटीका ३ र ४ वडामा पर्ने पाथीभरा, सिभुवा, पिप्लेलगायत क्षेत्रमा पानी नपरेको स्थानीय तोपबहादुर तामाङले बताए । ‘हामी त रुनु न हाँस्नु भन्ने अवस्थामा छौं,’ उनले भने, ‘यस्तै हो भने भोकमरी नलाग्ला भन्न सकिँदैन ।’ सयौं रोपनीमा धानचमरा लाग्न थालेको मकै सुकिसकेको तामाङले बताए । पाथीभरा टोलविकास संस्थाका अध्यक्षसमेत रहेका तामाङले प्रभावित परिवारको लगत संकलन सुरु गरिएको बताए । वडा नं. ४ मा ५६ र ३ मा ६० परिवार प्रभावित छन् । तेलियाका ८१ वर्षीय गुरुप्रसाद ओझाले यति लामो खडेरी पहिलोपटक भोगेको बताए ।


छथरजोरपाटीका ६ वटा टोल विकास संस्थाले आवश्यक राहतका लागि वडा तथा गाउँपालिकामा निवेदन दिएको स्थानीय शंकर ओझाले जानकारी दिए । मार्से, पिप्ले, गुठ, पाथीभरा, मार्सेतेलिया तथा खामडाँडा टोल विकास संस्थाले सुक्खा क्षेत्र घोषणा गर्न माग गरेका छन् । जिल्ला प्रहरी कार्यालयबाट सर्जमिन तथा कृषि ज्ञान केन्द्रबाट अवलोकन गरी प्रभावितको तथ्यांक लिन थालिएको जनाइएको छ ।


चौबीसे गाउँपालिकाको कुरुलेतेनुपा क्षेत्र सबैभन्दा बढी सुक्खाग्रस्त छ । सुरुङ्गी गाउँका सनवीर मगर आफ्नो ५७ रोपनीमा २५ मुरीसम्म अन्नबाली भित्रिने गरे पनि अहिले खडेरीले खेत बाँझो बनेको बताए । अर्का स्थानीय कमलापति बराल मध्यवर्षामै पानी नपरेपछि गत वर्षदेखिको खडेरी अझ विकराल बनेको बताउँछन् । ‘यो साल त बालीनाली सुकेर बीउसमेत जोगाउन सकिएन,’ उनले भने, ‘अब सिँचाइ सुविधा नभए सबै जमिन बाँझै राख्नुको विकल्प छैन ।’ गाउँपालिकाले ३ र ४ नम्बर वडालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै यस वर्ष ५ सय ३१ परिवारलाई राहत वितरण गरेको थियो । गाउँपालिकाको ३० र प्रदेश सरकारको ७० प्रतिशत खर्चमा प्रतिपरिवार ६ हजार ५ सयका दरले उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए ।


मकै बाली नष्ट

उदयपुरको कटारी नगरपालिका १४ लेखानीका किसान हिउँदे बाली दुई दिनमै कीराले सखाप पारेर तनावमा थिए । बर्खे बाली पनि खडेरीले सकेपछि थप पीडामा छन् । ‘हिउँदे र बर्खे दुवै बालीमा समस्या आएपछि गुजारा कसरी चलाउने ?’ लेखानीका भुवन राउतले भने, ‘किसान अन्योलमा छन् । मुखभरि धानचमर च्यापेको मकै सुकेर डढेलो लाग्ने अवस्थामा छ ।’ वेलका, चौदन्डीगढीलगायत नगरपालिकामा पनि उही समस्या छ । ‘हिउँदे बालीमा कीराको प्रकोप र अहिले खडेरीले गर्दा अनिकाल सुरु भइसकेको छ,’ चौदन्डीगढी ६ सिर्वानीका मानबहादुर राउतले भने, ‘धान र मकैको भरमा वर्षभरि गुजारा गर्नुपर्ने किसान भोकभोकै हुनुपर्ने अवस्था आयो ।’


महाभारत क्षेत्रमा सबैभन्दा बढी खडेरी छ । पानीका मुहान सुकेका छन् । ‘महाभारत र चुरेबीचको क्षेत्रमा खडेरीको प्रभाव बढी देखिन्छ,’ कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठले भने, ‘यो क्षेत्रमा पानीको स्रोत सुक्दा किसान समस्यामा छन् ।’


खेतबारी उराठलाग्दा

पाँचथरका कुम्मायक र तुम्बेवामा खडेरीले खाद्यान्न संकट निम्तिने संकेत देखिएको छ । तुम्बेवा गाउँपालिका अध्यक्ष होमनाथ थापाका अनुसार धान, मकै, बदाम, बोडी तथा दलहनका बोट बारीमै सुकेका छन् । गत वर्ष पनि १, २ र ५ नम्बर वडामा खडेरीले मकैको बीउ मासिएको थियो । त्यसपछि स्थानीय सरकारले कृषकलाई मकैको बीउ किन्न अनुदान दिएको थियो ।


चुहाडे, ढुकुरे, देवान, खैरेनी, पीपलेमा चर्को खडेरी छ । दलहन तामाङका अनुसार पशुचौपायालाई घाँस तथा खानेपानीसमेत अभाव छ । ‘दिउँसो ११–१२ बजेको घाममा आगो नै उठ्लाजस्तो हुन्छ, हरियो कतै छैन, बारी कान्ला तथा खेतभरि हरियाली घाँस पलाउने सिजनमा पूरै डढेलो लागेजस्तो भएको छ,’ उनले भने । पानी नपरेपछि कतिपय कृषकले अन्न बालीसमेत लगाउन पाएका थिएनन् ।


लगाएकाहरूले पनि उब्जनी खान पाएका छैनन् । कुम्मायक गाउँपालिकाको यासोक, स्यावरुम्बा, रातेपानी, क्षेत्रमा पनि उस्तै छ । गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङका अनुसार अन्नबालीका बोट नै सुकेका छन् । स्थानीय हरि सम्बाहाम्फे भन्छन्, ‘आकाशे पानीको भरमा लगाएको बाली उठाउँला भन्ने छैन । सिँचाइ गरुम् भने खानेपानीको समेत समस्या छ । अब त गाउँ नै छाडेर हिंड्ने

अवस्था आयो ।’


प्रदेशभर १८ प्रतिशत मात्र रोपाइँ

पहाडी क्षेत्रमा भल बग्नेसम्म पानी नपर्दा बारी सिँचाइ हुन पाएको छैन । तराईमा नहर र बोरिङ चलाएर रोपाइँको तयारी गरिए पनि रासायनिक मल (डीएपी) अभाव छ । मोरङ र सुनसरीमा सुनसरी मोरङ सिँचाइ योजना र झापामा कन्काई सिँचाइ योजनाले असार पहिलो सातादेखि नहरमा पानी छाडेका छन् । तर रोपाइँ अझै सुरु भएको छैन । प्रदेश १ मा अहिलेसम्म साढे १८ प्रतिशत खेतमा मात्र रोपाइँ भएको प्रदेश कृषिविकास निर्देशनालयको तथ्यांक छ । यो प्रदेशमा ३ लाख ४० हजार ८ सय २९ हेक्टर खेतीयोग्य जमिन छ । निर्देशनालयका अनुसार हालसम्म करिब ६० हजार हेक्टरमा मात्र धान रोपिएको छ । पहाडी भेगमा पानी र तराईमा रासायनिक मल अभावले एक तिहाइ क्षेत्रफलमा पनि रोपाइँ हुन नसकेको निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकारी प्रकाश डाँगीको भनाइ छ ।


सरकारले डीएपीमा किसानलाई प्रतिबोरा कम्तीमा ७ सय ४३ र युरिया १ हजार ३ सय ८७ रुपैयाँ अनुदान दिँदै आएको छ । यी मल आयात गर्न कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले मात्र अनुमति पाएका छन् । साल्ट ट्रेडिङले एक बोरा पनि डीएपी आयात गरेको छैन ।


कृषि सामग्रीले २० हजार टन आयात गरेकामा प्रदेश १ लाई ५ हजार टन उपलब्ध भएको थियो । त्यो पनि सकियो । कम्पनीका क्षेत्रीय कार्यालय प्रमुख गोविन्द पराजुलीले भने, ‘अब कृषि सामग्रीका नाममा साउन अन्तिम साता मात्र डीएपी आयात हुन्छ । त्यो गहुँ र तोरी खेतीलाई मात्र काम लाग्छ ।’ उनका अनुसार कम्पनीमा युरिया र पोटास भने मौज्दात छ ।


धान रोपाइका लागि मात्र पूर्वमा झन्डै ९ हजार टन डीएपी आवश्यक पर्छ । उपलब्ध ५ हजार टन सहकारीलाई समानुपातिक रूपमा बाँड्दा अलिकति पनि काम भएन । पराजुलीका अनुसार कम्पनीले मोरङमा १ सय ७० वटा सहकारीमार्फत डीएपी, युरिया र पोटास बिक्री गर्दै आएको छ ।

(डिल्लीराम खतिवडा (उदयपुर), रमेशचन्द्र अधिकारी (धनकुटा), विनोद भण्डारी(विराटनगर) र ज्ञानु घिमिरे (पाँचथर)

प्रकाशित : असार २३, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?