सामुदायिक वनमा तेजपात

तनहुँ — जिल्लाको म्याग्दे गाउँपालिका–५ स्थित तीनवटा सामुदायिक वनलाई तेजपातको पकेट क्षेत्र बनाउन लागिएको छ । डिभिजन वन कार्यालय तनहुँले मल्याङ, कवादी र सालडाँडा सामुदायिक वन क्षेत्रलाई समेटेर पकेट क्षेत्र बनाउन लागेको हो । 

थोरै मिहिनेत र छोटो अवधिमा राम्रो आम्दानी हुने भएकाले सामुदायिक वनलाई सबल र आत्मनिर्भर बनाउने उद्देश्यले यस क्षेत्रमा खाली रहेको जग्गामा तेजपात रोपेर पकेट क्षेत्र बनाउन लागिएको डिभिजन वन कार्यालय तनहुँका सहायक अधिकृत बाबुराम उप्रेतीले बताए ।


गत वर्ष ११ हेक्टर क्षेत्रफलमा १७ हजार ५ सय तेजपातको बिरुवा रोपिसकिएको उप्रेतीले जानकारी दिए । ‘तेजपातको पकेट क्षेत्र बनाउने उद्देश्यअनुरूप यसवर्ष १० हेक्टर क्षेत्रफलमा १६ हजार बिरुवा लगाउने योजना रहेको छ,’ उनले भने । तेजपातबाट हुने आम्दानी तीनवटै सामुदायिक वनले उपभोग गर्दै शतप्रतिशत आयआर्जन गर्न पाउने व्यवस्था मिलाइएको छ ।


वन कार्यालयले आफ्नै नर्सरीमा उत्पादित तेजपातका बिरुवा सामुदायिक वनलाई प्रदान गरेको छ । साथै त्यसको उचित संरक्षण र संवर्द्धन गर्ने अधिकार पनि सामुदायिक वनलाई नै प्रदान गरिएको छ ।


एउटा तेजपातको बिरुवाको बजार मूल्य १० रुपैयाँ पर्ने भए पनि डिभिजनले नि:शुल्क उपलब्ध गराएको छ । उत्पादन भएका तेजपातको कच्चा पदार्थलाई प्रशोधन गर्न शुक्लागण्डकी नगरपालिकामा २० लाखको लागतमा ‘प्रोसेसिङ युनिट मेसिन’ ल्याएर जडान गर्ने काम सुरु भइरहेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए ।


तीनदेखि चार वर्षको अवधिमा तेजपातको उत्पादन हुने भएकाले यसको कच्चा पदार्थ प्रशोधनका लागि नगरपालिकास्थित कृषि सहकारी संस्थाले चासो देखाएको वन कार्यालयले जनाएको छ ।


उक्त सहकारीले समेत व्यावसायिक रुपमा तेजपात लगाएको छ । डिभिजन प्रमुख बरालका अनुसार सहकारी र सामुदायिक वनमा उत्पादन भएको तेजपात किनेर ‘प्लान्ट’ निर्माण गर्ने योजना बनाइएको छ । प्रशोधित तेजपात जर्मन, इटली र स्वदेशकै विभिन्न जडीबुटी कम्पनीमा माग रहेकाले बिक्रीको चिन्ता नरहेको बताइएको छ ।

प्रकाशित : असार २२, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?