कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विद्युत् उत्पादन आधा कम

विप्लव भट्टराई

(इलाम) — यो वर्ष पर्याप्त पानी नपर्दा विद्युत् उत्पादनमा कमी आएको छ । जिल्लामा करिब ९० मेगावाट क्षमताका विद्युत्योजना सञ्चालनमा रहे पनि अधिकांशको उत्पादन आधामा झरेको छ । 

विद्युत् उत्पादन आधा कम

२२ मेगावाट क्षमताको माई हाइड्रोमा अहिले ७ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । ‘उत्पादन थालेको ५ वर्षमा यो सिजनमा यति धेरै उत्पादन घटेको पहिलो हो,’ वातावरण तथा जनसम्पर्क अधिकृत देवराज गुरागार्इंले भने, ‘तीनवटा टर्बाइनमध्ये अहिले एउटा मात्र मुस्किलले चलाएका छौं ।’


२२ मेगावाटको मुख्य आयोजनासहित सानिमाले ७ मेगावाटको क्यास्केट आयोजना पनि सञ्चालन गरेको छ । क्यास्केटमा पनि पानी कम हुँदा २ मेगावाट हाराहारीमा मात्र विद्युत् उत्पादन भइरहेको छ । पर्याप्त पानी नपर्दा कतै पनि मूल फुट्न सकेको छैन । लेकाली क्षेत्रमा मूल नफुटेको हो । यो वर्ष हिउँदमा बढी वर्षा भएको थियो । फागुनदेखि वैशाखसम्मको झरीका कारण भने आयोजना सञ्चालकले केही राहत महसुस गरेका थिए । क्षमताभन्दा कम विद्युत् उत्पादन भएपछि भने पेनाल्टी तिर्नुपर्ने बाध्यतामा उनीहरू छन् ।


पानी नपरेकै कारण जिल्लाका दर्जन संख्यामा रहेका निजी आयोजनाले पेनाल्टी तिर्नुपर्ने अवस्था छ । सन्दकपुर गाउँपालिकामा सञ्चालित पञ्चकन्या माई हाइड्रोको पनि अवस्था उस्तै छ ।


इलाम नगरपालिकामा सञ्चालित ७ दशमलव १ मेगावाट क्षमताको सुपर माईमा आधाभन्दा कम उत्पादन भएको छ । यो आयोजनावाट ३ दशमलव ८ मेगावाट मात्र विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । जिल्लाको माई, जोगमाई र पुवामाई खोलाका अधिकांश स्थानमा विद्युत् योजना बनेका छन् । सम्भाव्य केही स्थानमा अझै आयोजना बन्ने क्रम चलिरहेको छ ।


रोपाइँ प्रभावित

पानी नपरेपछि जिल्लाका अधिकांश स्थानमा रोपाइँ हुन सकेको छैन । इलाममा हालसम्म ३० प्रतिशत पनि रोपाइँ भएको छैन । जिल्लाको १४ हजार ८ सय १५ हेक्टर खेतमा धान रोपिने गरिन्छ । इलाममा अघिल्लो वर्ष मध्य असारसम्म आधाभन्दा धेरै क्षेत्रफलमा रोपाइँ सकिन्थ्यो ।


यस वर्ष सिँचाइ कुलो लाग्ने खेतमा मात्र रोपाइँ सुरु भएको छ । आकाशे पानीको भर पर्दै आएका किसानले राखेको बीउसमेत ब्याडमै सुक्न थालेको छ । कतिपय क्षेत्रमा कृषकले बीउ पनि राख्न पाएका छैनन् ।

जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये १२ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको छ । अधिकांश कृषकले रोपाइँका लागि आकाशे पानीकै भर पर्नुपर्छ ।

प्रकाशित : असार २२, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?