२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

कालंगा जलविद्युत् आयोजनामा तोडफोड

वसन्तप्रताप सिंह

(बझाङ) — युवती हत्या घटनापछि आक्रोशित बझाङ बुंगलका स्थानीयले निर्माणाधीन कालंगा जलविद्युत् आयोजनामा तोडफोड गरेका छन् । महेन्द्र उच्च माध्यमिक विद्यालय र सुल्जन प्राथमिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूले शुक्रबार आयोजनाका क्याम्प, गाडी र मेसिनहरूमा तोडफोड गरेका हुन् । आयोजनामा १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । 

कालंगा जलविद्युत् आयोजनामा तोडफोड

आक्रोशित भीडलाई नियन्त्रणमा लिन प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गर्‍यो । त्यहाँको अवस्था रातिसम्म नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप बल बुंगलतर्फ परिचालन गरिए पनि ‘अराजक भीड’ नियन्त्रणमा नआएको जिल्ला प्रहरीका डीएसपी सूर्यबहादुर केसीले बताए ।


भीडले रनलेकमा रहेको मुख्य क्याम्प र कार्यालय, बिराबगरमा रहेको निर्माण क्याम्प, कार्यालय तथा बन्दोबस्तीका सामानहरूमा क्षति पुर्‍याएका छन् । तीनवटा डोजर, दुईवटा टिपर र १० वटा जिपमा समेत तोडफोड गरिएको आयोजनाका संस्थापक वीरेन्द मल्लले जानकारी दिए । प्रदर्शनकारीहरूले प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरिदिएका छन् ।


‘१५ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ,’ संस्थापक मल्लले भने, ‘रातिसम्मै तोडफोड गरिरहेका छन् । स्टाफहरू त्यहाँबाट लखेटिएका छन् । कहाँ कति क्षति भएको छ भनेर पूर्ण विवरण संकलन गर्ने अवस्थामा छैनौं ।’ उनले हत्याको निहुँ बनाएर जलविद्युत् आयोजनाको काममा अवरोध गर्न खोजेको आरोप लगाए ।


स्थानीय महेन्द्र उमावि र सुल्जन प्राथमिक विद्यालयका शिक्षक धर्मानन्द जोशी, दलबहादुर बोहोरा, नवराज कुँवर, कृष्ण गुर्धामी र गोविन्द धामीलगायतले विद्यार्थीहरूलाई उचालेर आयोजनाको संरचना तथा उपकरणहरूमा तोडफोड गरेको आयोजना कार्यालयको आरोप छ ।


सानी गाड, कालंगा र अपर कालंगा गरी तीनवटा खोलाका विभिन्न ठाउँमा एकैपटक निर्माणको काम भइरहेको यो आयोजनाको एक ठाउँमा भीड नियन्त्रण गरे अर्को ठाँउमा गएर तोडफोड गर्ने काम भइरहेकाले स्थिति नियन्त्रणमा लिन नसकिएको डीएसपी केसीको भनाइ छ ।


जिल्लाबाट थप बल परिचालन गरी क्षति हुन नदिन प्रयासरत रहेको उनले बताए । ‘यो सरासर आयोजनाको काम बिथोल्ने नियत हो,’ डीएसपी केसीले भने, ‘हत्या आरोपीलाई पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडि बढिसकेको अवस्थामा हत्यारालाई फाँसी दे भनेर नारा लगाउँदै शिक्षक र विद्यार्थीहरू तोडफोडमा उत्रिएका छन् । यो निहुँ मात्र हो ।’


गत मंगलबार बिहान बुंगल नगरपालिका २ को खोचे भगाडमा सडक किनारामा मृत अवस्थामा फेला परेकी सोही नगरपालिका २ की ललिता धामीको हत्याको विषयलाई लिएर स्थानीय आन्दोलनमा उत्रिएका हुन् । डडेल्धुराको परशुराम नगरपालिका जोगबुढाका माधव बोहोरालाई हत्या आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ । बोहरा कालंगामा एक्साभेटर अपरेटरको काम गर्थे ।


करिब ७५ मेगावाट क्षमताको यो जलविद्युत् आयोजना निजी क्षेत्रको लगानीमा बन्दै गरेको देशकै पहिलो ठूलो आयोजना हो । तीन ठाउँमा एकैपटक संरचना निर्माण भइरहेका छन् । आयोजनाको काम २०७७ साल असोजसम्म सकिने सञ्चालकले बताए । हाल आयोजनाको ७० प्रतिशत काम पूरा भइसकेको छ ।

प्रकाशित : असार २१, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?