कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

२९ मध्ये दुईथरी विषादीको मात्रै परीक्षण 

कार्बामाइट र अर्गानोफोस्पेटबाहेकका दुई दर्जन विषादी परीक्षणका लागि पूर्वाधार र जनशक्ति छैन 
राजु चौधरी

काठमाडौँ — सरकारले स्थापना गरेको विषादी प्रयोगशालाबाट दुईथरीका विषादी मात्रै परीक्षण हुने गरेको पाइएको छ । हाल मुलुकभित्र करिब २८/२९ थरीका विषादी प्रयोग भइरहेका छन् । 

ती विषादी तरकारी, फलफूलसँगै अन्यत्र प्रयोग हुने गरेका छन् । प्लान्ट क्वारेन्टाइन एव विषादी व्यवस्थापन केन्द्रका अनुसार फलफूल तथा तरकारीमा मात्रै दर्जनथरीका विषादी प्रयोग गरिन्छ । तीमध्ये नेपाली प्रयोगशालाबाट कार्बामाइट र अर्गानोफोस्पेट परीक्षण हुन्छ ।


‘तालिम, अनुगमनको हिसाबले मात्रै कालीमाटीलगायतको विषादी ल्याब स्थापना भएको थियो । त्यसले यही विषादी यही मात्रामा छ भन्ने सक्दैन । अहिलेको अवस्थामा दुईवटा विषादी कार्बामाइट र अर्गानोफोस्पेट मात्रै परीक्षण गर्न सक्छ,’ प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका महानिर्देशक डिल्लीराज शर्माले भने, ‘तीबाहेक नेपाल तथा भारतमा धेरै प्रकारका विषादी प्रयोग भएको छ । अन्य विषादी प्रयोग भए/नभएको कालीमाटी विषादी एकाइले यकिन गर्नै सक्दैन ।’


केन्द्रका अनुसार परीक्षणबाहेक विषादीको अवशेष मात्रा पनि निर्धारण गरिएको छैन । तरकारी तथा फलफूलमा कति मात्रामा विषादी प्रयोग गर्ने मापदण्ड बनाउने दायित्व खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हो । अहिलेसम्म मापदण्ड बनेको छैन ।


हाल सरकारले आयात प्रतिस्थापन तथा व्यापार घाटा काम गर्ने नाममा भन्सारमा तरकारी तथा फलफूलको विषादीको मात्रा अनिवार्य परीक्षण गर्नुपर्ने नियम ल्याएको छ । उक्त नियम जायज भए पनि तयारी बिनै जारी भएको उनले बताए ।


‘कालीमाटी विषादी परीक्षण केन्द्रले यही विषादी यति मात्रा भन्न सक्दैन । प्राविधिक साथीहरूले दुईवटा विषादी परीक्षण गरेर फलफूल तथा तरकारी खानलायक भनेर प्रमाणपत्र दिन मिल्दैन । अन्य विषादी पनि छन,’ विषादीसम्बन्धी कानुन तथा कार्यान्वयनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा शर्माले भन, ‘खानयोग्य भनेर दिएको आधारमा भन्सार विभागले भित्रिन दिएको छ । पछि गएर कानुनी जटिलता हुन सक्छ ।’


पहिलो चरणमा स्वदेशमै उत्पादित तरकारी तथा तरकारीमा विषादीको प्रयोगको मात्राको पहिचान गर्नुपर्छ । कति मात्रामा विषादी छर्ने तय हुनुपर्छ । त्यसको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्ड बनाउने हो । ‘तर, बिनातयारी क्वारेन्टाइन परीक्षण भएको छ । कुनै निकायले ल्यावको स्पेसिफिकेसन माग्यो भने त्यो पनि दिन सक्दैनौं । तालिम, अनुगमनको हिसाबले स्थापना गरिएको ल्याबको वैधनिकता पनि छैन,’ उनले भने, ‘त्यसका लागि हामीले तयारी गर्नुपर्छ ।’


केन्द्रका अनुसार कार्बामाइट किसानले प्रयोग नै गर्दैन । कालीमाटी विषादी केन्द्रले परीक्षण गर्ने ग्रुपमा विषादी १०/१२ प्रतिशत मात्रै प्रयोग हुन्छ । केन्द्रका अनुसार भारतमा र नेपालमा नियोनोकोटिनाइट ग्रुप, फंगिसाइटहरू बढी प्रयोग हुन्छ । अहिलेको परीक्षणले विषादी पत्ता लगाउनै सक्दैन । ‘त्यसैले ल्याबबाट परीक्षण गरिएको रिपोर्टमा खान मिल्छ भनेर प्रमाण दिन मिल्दैन,’ महानिर्देशक शर्माले भने ।


कालीमाटी तरकारी बजारमा रहेको विषादी परीक्षण एकाइ प्रमुख जागेश्वर शर्माले पनि कार्बामाइट र अर्गानोफोस्पेट मात्रै हेर्न गरेको बताए । ‘नेपालमा २८/२९ ग्रुपको दर्ता भएको छ । थप डीटीसी (ढुसीनासक) र सिन्थेटिक पीआई (कीटनाशक) को पनि परीक्षणका लागि तालिम भएको छ । कर्मचारीकै अभावका कारण परीक्षण भइसकेको छैन,’ उनले भने, ‘अरू परीक्षणका लागि प्रविधि छैन ।’ यसअघि विषादी केन्द्रअन्तर्गत रहेको विषादी ल्याब अहिले कृषि मन्त्रालय अन्तर्गतकै केन्द्रीय प्रयोशालामा छ ।


बिर्तामोड, सर्लाही, काठमाडौं, पोखरा, नेपालगन्ज, अत्तरिया र बुटवलमा प्रयोगशाला छ । काठमाडौंमा दैनिक औसतमा ५० नमुना परीक्षण गरिए पनि अन्य प्रयोशालाबाट प्रभावकारी छैन । बुटवलमा कर्मचारी अभावले परीक्षण नै हुन सकेको छैन ।


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले नियम कानुनअनुसार ल्याबको वैधानिक हुनुपर्ने बताए । ‘तरकारीमा समस्या हुँदा सोझै कालीमाटी तरकारी बजारमा ठोकिन्छ ।


ल्याबले तरकारीको विषादीमा धेरै सुधार आएको छ,’ उनले भने, ‘भन्सार र ल्याबबीच समन्वय भएको छैन । व्यापारी स्वयम् आएर परीक्षण गर्छन् । त्यसपश्चात् पुनः आफैंले रिपोर्ट लग्नुपर्ने अवस्था छ ।’ विषादी परीक्षणको क्रममा तरकारी तथा फलफूलको गााडी भन्सार नाकामै रोकिएपछि भारतीय दूतावासले पनि चासो दिएको छ । फलफूल व्यवसायीका अनुसार समयमै विषादी परीक्षण नहुँदा गर्मीका कारणले फलफुल नाकामै बिग्रएको छ । करोडौं रुपैयाँको क्षति भएको छ ।


कृषि मन्त्रालयका कृषि साम्रगी व्यवस्थापन तथा प्रविधि शाखाका वरिष्ठ कृषि प्रचार अधिकृत नेत्र भण्डारीका अनुसार दूतावासले केही कर्मचारी मन्त्रालयमा पठाएर फलफूलमा भएको क्षतिसम्बन्धी छलफल गरेको बताए । ‘दूतावासका कर्मचारीसग पनि छलफल भयो । कृषि मन्त्रालयको पुनःसंरचना गर्ने सन्दर्भमा केन्द्रीय कृषि प्रयोगशालामा ल्याब छ, सेवा प्रभावकारी बनाउन विषादी परीक्षण केन्द्रमा भए सजिलो हुन्थ्यो,’ उनले भने, ‘अब सबै नाकामा परीक्षण गर्न सक्ने गरी अर्थ मन्त्रालयमा र योजना आयोगसँग छलफल भएको छ ।’

प्रकाशित : असार १७, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?