पेट्रोलियम अन्वेषणमा चिनियाँ टोली

ज्योति कटुवाल

दैलेख — चीन सरकारको चाइना जियोलोजिकल सर्भे र खानी तथा भूगर्भ विभागको टोलीले सोमबारदेखि पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरेको छ । चाइना जिओलोजिकल सर्भेका वरिष्ठ भूगर्भविद् ट्यान फुएन नेतृत्वको टोलीले काम सुरु गरेको हो ।

टोलीले श्रीस्थान, नाविस्थान, धुलेश्वर, पादुका र कोटिलाको अवलोकन गर्‍यो । भूगर्भविद् फुएनले श्रीस्थानमा पेट्रोलियम पदार्थ हुन सक्ने सम्भावनाबारे अन्वेषण निकै अघि गरिए पनि अरू सम्भाव्य स्थानमा यस पटक अध्ययन गरिने बताए ।

परियोजना प्रमुख सुधीर रजौरेका अनुसार जमिनको ५ देखि २० किमि सतहमुनिको बनावटको अध्ययन गरेपछि पेट्रोलियम पदार्थ जम्मा भएर बस्ने संरचना पत्ता लगाउन सकिनेछ । विभागले गरेको अन्वेषणले दैलेखमा पेट्रोलियम पदार्थ रहेको प्रमाणित भइसकेको छ ।

विभागका अनुसार दोस्रो चरणमा स्यास्ट्रिक सर्भे गरिनेछ । उक्त सर्भेमा जमिनमुनि कम्पनको तरंग पठाएर ड्रिलिङ गरिन्छ । ‘यो सर्भेबाट जमिनमुनि पेट्रोलियम पदार्थको भण्डारण कहाँ छ भनेर पत्ता लाग्छ,’ प्रमुख रजौरेले भने, ‘यसपछि मात्र पेट्रोलियम पदार्थ कति मात्रामा छ र आर्थिक रूपमा उत्खनन्योग्य हुन्छ कि हुँदैन भनेर थाहा हुनेछ ।’

ग्यास प्रमाणित भइसकेको १३ वर्षपछि उत्खनन तथा अन्वेषण गर्न लागिएको हो । यसअघि २०७२ चैतमा चिनियाँ विशेषज्ञ टोलीले प्रारम्भिक अनुसन्धान गरेको थियो । २०१८ फेब्रअरी २८ मा नेपाल र चीन सरकारबीच पेट्रोलियम पदार्थको अन्वेषण गर्ने सम्झौताभएको थियो ।

'अन्वेषणलगत्तै उत्खनन’
आइबार दैलेख पुगेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्वेषणलगत्तै उखननको काम सुरु गरिने बताए । उनले चिनियाँ टोली केही साता दैलेखमै बसेर अन्वेषणको काम सक्नेबित्तिकै उनीहरूले दिएको परिणामका आधारमा उत्खननको काम अघि बढाउने बताए ।

‘दैलेखमा पेट्रोलियम पदार्थ छ भन्ने पुर्खाहरूको पालामा थाहा भइसकेको कुरा हो, तत्काल अन्वेषण गरेर वैज्ञानिक रूप दिन खोजेको हौं,’ उनले भने, ‘पुर्खाहरूले विज्ञानलाई समात्ने र अध्यात्मवादलाई विश्वास गर्ने भएकाले यो काम
हामीले गर्न पाएको छौं ।’ उनले उत्खनन सुरु भएपछि स्थानीयले रोजगारीपाउने जनाए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लामो चर्चापछि अध्ययनले एकरूपता पाएको बताए । ‘पेट्रोलीयम पदार्थको उत्खनन हुनुनै राष्ट्रिय अर्थतन्त्रको सम्भावना भित्र्याउनु हो,’ उनले भने, ‘उत्खननले कर्णाली प्रदेशलाई समृद्ध बढाउनभूमिका खेल्नेछ ।’

पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले आफूले देखेको सपना अहिलेको सरकार र चीन सरकारले पूरा गर्न लागेको बताए । प्रतिनिधिसभा सदस्य रवीन्द्र शर्माले पेट्रोलियम पदार्थको उत्खनन हुनु कर्णालीको भाग्य खुल्नुजस्तै भएको बताए । दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले पेट्रोलियम पदार्थको उत्खननसँगै पञ्चकोसी क्षेत्रको धार्मिक महत्त्वलाई ध्यान दिन जरुरीरहेको औल्याए ।

धार्मिक क्षेत्र मासिने चिन्ता
पञ्चकोसी क्षेत्रका पुजारी तथा महन्तले पेट्रोलियम पदार्थको उत्खननसँगै धार्मिक क्षेत्र मासिने चिन्ता व्यक्त गरेका छन् । परापूर्वकालदेखि बल्दै आएको ज्वाला उत्खननका क्रममा मासिएर जाने उनीहरूको चिन्ता छ ।

श्रीस्थानका मुख्य महन्त गोकर्णनाथ योगीले उत्खननका क्रममा निरन्तर बलेको ज्वाला निभ्यो भने अस्तित्व नै धरापमा पर्ने बताए । ‘दैलेखको इतिहास ज्वालाले बनाएकाले सरकारले विकल्पमा अन्य स्थानमा उत्खनन गर्न आवश्यक छ,’ उनले भने, ‘मन्दिरदेखि ५ किलोमिटर टाढा उत्खनन र अन्वेषण हुनुपर्ने माग गरिए पनि मन्दिरकै आसपासमा अन्वेषण गर्दा चिन्ता लागेको हो ।’ अन्वेषणका क्रममा महन्त र पुजारीको आग्रहलाई बेवास्ता गरिएको उनको भनाइ छ ।

प्रकाशित : असार १७, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपाल हुँदै भारत पुग्छ विदेशी मरीच

नेपालमा मरीच आयातमा एन्टिडम्पिङ शूल्क लाग्दैन । भन्सार महसुल पनि भारतको भन्दा कम भएकाले भारत तस्करी भइरहेको छ ।
कान्तिपुर संवाददाता

विराटनगर — ब्राजिल र भियतनामलगायत तेस्रो मुलुकबाट लेटर अफm त्रेडिटमार्फत आयात भएको मरीच भारततर्फ चोरी निकासी हुने गरेको छ । भारतले मरीच आयातमा एन्टी डम्पिङ शुल्क लगाउँदै भन्सार महसुल पनि बढी लिने गरेको छ ।

त्यसैले नेपाल भित्रिएको मरीच भारततर्फ चोरी निकासी हुने गरेको मरीच सम्बद्ध एक व्यवसायीले बताए ।

नेपालमा मरीच आयातमा एन्टिडम्पिङ शुल्क लाग्दैन । भन्सार महसुल पनि भारतको भन्दा कम छ । ती व्यवसायीले भने, ‘नेपालमा भन्दा भारतमा मरीच प्रतिकेजी कम्तीमा तीन सय रुपैयाँ महँगो भएका कारण चोरी निकासी बढेको हो ।’ नेपालमा मरीच आयात गर्दा २० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट लाग्छ । भारतमा मरीचमा ४० प्रतिशत भन्सार महसुल छ ।

विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो जेठदेखि यो जेठसम्ममा ब्राजिल र भियतनामबाट एक अर्ब ६९ लाख १६ हजार मूल्यबराबरको २ हजार ४ सय २२ टन मरीच आयात भएको छ । भन्सारले यसबाट २६ करोड ५३ लाख ६४ हजार राजस्व असुली गरेको छ ।

‘जति आयात हुन्छ, त्यो प्रायः भारततर्फ चोरी निकासी हुने गरेको छ,’ एक व्यवसायीले भने, ‘मरीचको भन्सार जाँचपास भएर विराटनगर बजार पुगेलगत्तै सीमावर्ती छोटी भन्सार नाका पुगिहाल्छ ।’ मरीचको आयातकर्ता पनि सीमावर्ती क्षेत्रकै व्यवसायी छन् । उनीहरूले भन्सार जाँचपास भएर भित्रिएको मरीच तरिगामा, कर्सिया, रंगेली र डाइनियाको छोटी भन्सार नाका पुर्‍याएर भारत छिराउने गरेका छन् ।

विराटनगर महानगरपालिकासँग जोडिएको जहदा गाउँपालिका १ का भुटाहा र लङका बस्ती मरीच कारोबारीहरूको अखडा मानिन्छ । एक व्यवसायीले भने, ‘त्यहींका कारोबारीले ५९ किलोमिटर लामो सीमा क्षेत्रका विभिन्न नाकाबाट भारत पुर्‍याउने गरेका छन् ।’ स्रोतका अनुसार जहदाको भुटाहा र लङका बस्तीका अधिकांश परिवारको मुख्य पेसा नै यताको सामान उता र उताको यता ल्याउनु हो ।

प्रकाशित : असार १७, २०७६ ०७:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×