२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बिकेन जुनारको बिरुवा

राजकुमार कार्की

सिन्धुली — यहाँको जुनारले जिल्लाकै पहिचान बोकेको छ । पछिल्ला दिनमा भने पहिचानसँग जोडिएको जुनारका बिरुवा नबिकेपछि कृषक चिन्तित छन् । बिरुवामा अनुदान पनि नपाउँदा उनीहरू निराश छन् । अघिल्ला वर्षमा मनसुन सुरु हुने बित्तिकै किसान बिरुवा रोप्थे । यो वर्ष बिक्री नै भएको छैन । 

यहाँका गोलन्जोर, सुनकोसी र तीनपाटन गाउँपालिका तथा कमलामाई नगरपालिकामा जुनार खेती हुन्छ । जुनारका बिरुवा भने गोलन्जोर गाउँपालिकाका रतनचुरा र तीनकन्याका कृषकले उत्पादन गर्छन् । अहिले स्कृन हाउस र बाहिर गरी उत्पादन भएका दुई लाख जुनारका बिरुवा बिक्री नभएको रतनचुराका कृषक दीपक थापाले बताए ।


तीनपाते सुन्तलाको माउ बोटबाट क्रस गरेर जुनारको बिरुवा उत्पादन गरिन्छ । यसअघि सेती ज्यामिरमा क्रस गरेर उत्पादन भएको बिरुवामा फेद कुहिने समस्या आएको थियो । हाल उत्पादित बिरुवा स्क्रिन हाउस र बाहिर दुवैतिर उत्पादन गरिएको छ । ‘स्क्रिन हाउसको बिरुवा मर्ने डर हुँदैन,’ कृषक थापाले भने, ‘उत्पादन लागत बढी हुनाले यो बिरुवा बाहिरको तुलनामा महँगो पर्छ ।’ हाउसमा उत्पादित प्रतिबिरुवा १२५ र बाहिरको ३५ रुपैयाँ मूल्य तोकिएको छ ।


थापाले स्कृन हाउसभित्र ८ हजार जुनार, दुई हजार सुन्तला र एक हजार कागतीका गरी ११ हजार बिरुवा उत्पादन गरेका छन् । उनले भाइ राजकुमारसँग मिलेर ५० हजार बिरुवा बाहिर उत्पादन गरेका छन् । नर्सरी खेती गरेर बिरुवा उत्पादन गर्ने कृषक बिक्री नभए ठुलो नोक्सानी बेहोर्नुपर्ने भएकाले चिन्तित छन् ।


‘मिहिनेत गरेर जुनारलगायत अमिलो जातका फलफूलको बिरुवा उत्पादन गरिएको छ,’ रतनचुराकै अर्का कृषक बुद्धिबहादुर पाल्पालीले भने, ‘लगानी र मिहिनेत दुवैको प्रतिफल आएन भने पेसा नै परिवर्तन गर्नुपर्ने हुन्छ ।’ जुनार खेती विस्तारका लागि साविक कृषि कार्यालय (हालको कृषि ज्ञान केन्द्र) मार्फत जुनारका बिरुवा अनुदानमा वितरण हुने गरेको थियो । यो वर्षदेखि जुनारका बिरुवामा अनुदान छैन ।


कृषक अर्जुन कोइरालाका अनुसार जुनारमा औंसा किरा भेटिएर ठुलो परिमाणमा कुहिएपछि कृषक जुनार खेतीप्रति निराश देखिएका छन् । ‘यतिखेर सबै निकाय लागेर विषादी प्रयोग गरी किरा नियन्त्रणको काम द्रुत गतिमा भएको छ तर कृषक पूरै ढुक्क हुने अवस्था छैन,’ उनले भने ।


जुनार कृषकले चक्लाबन्दी खेती गरेर जुनारका बिरुवामा अनुदान माग्न आएमा स्थानीय तहले जति पनि बिरुवामा अनुदान दिन तयार भएको गोलन्जोर गाउँपालिका प्रमुख पुष्पबहादुर कार्कीले बताए । ‘जुनार सिन्धुलीको मात्र नभएर नेपालकै निकासी गर्नलायक राम्रो फल हो तर चक्लाबन्दी गरी सामूहिक खेती गरे मात्र यो सम्भव छ । रोग नियन्त्रण गर्न पनि सजिलो हुन्छ,’ उनले भने ।


गोलन्जोर गाउँपालिकाका दुई वडाका १८ जना किसानले नर्सरी स्थापना गरी बिरुवा उत्पादन गर्दै आएका छन् । जुनारका अलावा थोरै मात्रामा उनीहरूले सुन्तला, कागतीलगायत अमिलो जातका फलफूलको बिरुवा उत्पादन गर्छन् । जिल्लामा १ हजार ३ सय २५ हेक्टरमा जुनार खेती गरिन्छ ।


१५ लाख प्रोत्साहन अनुदान

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यालयले जुनार कृषकलाई १५ लाख रुपैयाँ प्रोत्साहन अनुदान वितरण गर्न सुरु गरेको छ ।


जुनार सुपर जोन कार्यालयका प्रमुख देवराज अधिकारीका अनुसार जुनार कृषकको परिचयपत्र लिएका १ हजार ९ सयले यस्तो अनुदान पाउन थालेका हुन् ।

प्रकाशित : असार १६, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?