कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

वातावरणीय अध्ययनपछि मात्रै पुल

विमल खतिवडा

काठमाडौँ — चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा नयाँ पुल निर्माण हुन ढिलाइ हुने भएको छ । सार्वजनिक खरिद नियमावलीअनुसार वातावरणीय मूल्यांकनसमेत गर्नुपर्ने भएपछि निर्माणमा ढिलाइ हुने देखिएको हो । 

यही खण्डमा रहेका चारवटा पुलको निर्माण भने अन्तिम चरणमा पुगेको छ । निर्माण हुन बाँकी अन्य पुलमा भौगोलिक बनावटले समयमै निर्माण सुरु गर्न समस्या भएको थियो । जसले गर्दा अध्ययन गर्न लामो समय लागेको थियो । सडक विभागअन्तर्गत पुल महाशाखाका अनुसार चिनियाँ विज्ञ टोली आएर पुलको स्थलगत अवलोकन गरेको छ ।


‘विज्ञ टोलीले पुल निर्माण गर्ने ठाउँ हेरिसकेपछि त्यहीअनुसार डकुमेन्ट बनाएका छौं,’ पुल महाशाखाका प्रमुख दीपक भट्टराईले भने, ‘पहिलाभन्दा एउटा पुल थप हुने भएको छ, जलबिरेजस्तै अर्को ठाउँमा पनि घुमाउरो सडकलाई सिधा बनाउने गरी पुल थप्ने तयारीमा छौं ।’ नयाँ नियम आएपछि वातावरणीय अध्ययनलाई अनिवार्य गराइएको छ ।


‘पहिला वातावरणीय अध्ययन गरेर डिजाइजनमा जाने कि डिजाइनकै प्याकेजमा वातावरणीय अध्ययन गर्ने भन्ने स्पष्ट थिएन,’ उनले भने, ‘अहिले वातावरणीय अध्ययन नगरी ठेक्का लगाउन हुँदैन भनेर कानुनमा स्पष्ट लेखेको छ ।’ ठेक्का लगाउनुभन्दा अघि विशेष योजनाहरूका लागि वातावरणीय अध्ययन भएको छैन भने मन्त्रिपरिषद्ले यस सम्बन्धमा निर्णय गर्न मिल्ने उनले बताए ।


सडक निर्माण भएर सञ्चालनमा आएको वर्ष दिन बितिसक्दा पनि साँघुरा पुल निर्माणमा ढिलाइ हुँदा दैनिकजस्तो जाम हुने गरेको छ । ‘पहिला तयार पारेको डकुमेन्टभित्र वातावरणीय अध्ययनलाई प्याकेजमा राखेर काम गर्न पाईयोस् भनी विभागमा पठाएका छौं, विभागबाट मन्त्रालय गइसकेको छ,’ उनले भने, ‘डिजाइन एन्ड बिल्डको हकमा कानुन पनि स्पष्ट नभएकाले संशोधन गर्नुपर्ने माग गरेका छौं ।’


महाशाखाका अनुसार चिनियाँ विज्ञ टोली आएर पुल निर्माणका सम्बन्धमा एक साताको तालिमसमेत दिएका थिए । ‘अरू थप तालिम लिनका लागि तयारी गरी रहेका छौं,’ उनले भने, ‘विज्ञ टोली फेरि आउनेछ । उनीहरूसँग पुल निर्माणका सम्बन्धमा बसेर छलफल गर्नेछौं ।’


उनले सबै काम एकैचोटि सकेर ठेक्का प्रक्रियालाई अगाडि बढाउने तयारीमा रहेको बताए । ‘यो सडकमा सवारी चाप बढी, पटकपटक गरेर निर्माणको काम थाल्दा यात्रुलाई सास्ती हुन सक्छ,’ उनले भने, ‘एकैचोटि सबै पुलको ठेक्का लगाएर निर्माण थाल्ने योजना छ ।’ पुल निर्माण गर्ने ठाउँको अध्ययन गर्ने भनिए पनि विस्तृत अध्ययन हुन नसक्दा ढिलाइ हुँदै आएको थियो ।


उक्त खण्डमा १८ वटा पक्की पुल छन् । जसमध्ये चारवटाको मात्र निर्माण सुरु भएको र १५ पुलको अहिलेसम्म ठेक्का लाग्न सकेको छैन । बढी समस्या मुग्लिन खण्डमा देखिएको छ । जहाँ भीर छ । साँघुरो र भौगोलिक जटितलताले समस्या बनाएको छ । खहरे, चिसेन्जी र तुइन खोलाको पुल भीरमा भएकाले सर्भे गर्न समस्या भएको हो ।


वातावराणीय अध्ययनको समस्या चाँडै टुंगिए सबै पुलको एकसाथ ठेक्का लाग्ने प्रमुख भट्टराईले बताए । मुख्य समस्या चारवटा पुलमा भए पनि अरूमा नभएको दाबी उनको छ । यसमा विश्व बैंकको लगानी हुने भएकाले बैंकको सहमति लिनुपर्ने हुन्छ । उनका अनुसार कन्ट्र्याक्टरले नै डिजाइन गर्ने गरी काम हुनेछ । यो सडक भएर दैनिक करिब १० हजार सवारी साधन गुड्छन् ।

प्रकाशित : असार १५, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?