ढाकाले फेरियो बेलीमायाको जीवन

सुजता लामा

सिन्धुलीमाढी — जिल्लाको मरिण गाउँपालिका ६ धमिलेकी बेलीमाया गिलेल ढाका कपडा बुनेर आत्मनिर्भर भएकी छन् । पहिले सिन्दुरपोते किन्न पनि श्रीमानसँग पैसा माग्ने बेलीले अहिले आफ्नै आम्दानीले घर चलाएकी छन् । चार वर्षअघि सुरु गरेको ढाका कपडा उद्योगले परिवारको जीविका चलाउन सहज भएको उनले बताइन् ।

हरेक दिन घरधन्दाबाट सुरु हुने गिलेलको दैनिकी अहिले फेरिएको छ । बिहान उठ्ने बित्तिकै उनी कपडा सिलाउन थाल्छिन् । २०७२ मा ढाका कपडा सिलाइसम्बन्धी तालिम लिएपछि उनको दैनिकी फेरिएको हो । ‘सम्पत्तिका नाममा दुई कट्ठा जमिन थियो । श्रीमान्ले मजदुरी गरेर ल्याएको पैसाले बिहानबेलुका हात मुख जोर्न धौ–धौ पर्थ्यो । छोराछोरी पढाउन त परैको कुरा,’ गिलेलले विगत स्मरण गरिन् ।


श्रीमान् एक्लैको कमाइले ८ जनाको परिवार पाल्न र छोराछोरी पढाउन मुस्किल परेपछि उनले सोचिन्, अब म पनि काम गर्छु । जागिर खान पढाइ थिएन । अरू केही गर्नर् हातमा सीप थिएन । छोराछोरीको भविष्यका लागि उनलाई आफैंले पनि केही गर्नुपर्छ भन्ने लागिरहेकै थियो ।


गाउँकै पञ्चकन्या महिला समूहमा आबद्ध उनलाई समूहले ढाका कपडा बुनाइ तालिम लिने अवसर दियो । दुई महिना तालिम लिनुपर्ने भयो । तालिम लिन जाँदा सासूससुराले घरको काम छाडेर हिँड्न थाली भने । परिवारले नै साथ नदिएपछि समाजले त झन् कुरा काट्ने भइहाल्यो । ‘फलानाकी बुहारी सासूससुरालाई काममा लगाएर आफूचाहिँ खुप सीप सिक्न भनेर हिँड्छे रे भनेर गाउँभरि हल्ला चल्यो,’ उनले भनिन् ।


पढाएर छोराछोरीको भविष्य उज्यालो बनाउन उनले कसैका कुराको प्रवाह गरिनन् । यसरी दुई महिनाको तालिमपछि गिलेलले विभिन्न डिजाइनका बुट्टा भर्न तथा आधुनिक किसिमका कपडा उत्पादन गर्न सक्षम भइन् । घरमै उनले ढाकाको कपडा बुन्न थालिन् । कपडा बुन्दै गइन् । गाउँका अरू महिलालाई समेत तालिम दिन थालिन् ।


ढाका कपडाको माग गाउँमा भन्दा पनि बजारमा बढी हुने भएपछि उनले व्यवसायलाई विस्तार गरेकी छन् । मरिण ढाका कपडा उद्योग सदरमुकाम सिन्धुलीमाढीमा पनि खोलेकी हुन् । ‘हामी दुवैजना कहिले यता कहिले उता बस्छौं । ढाका उद्योगबाट राम्रो कमाइ हुन थालेपछि अहिले श्रीमान्ले पनि साथ दिन थालेका छन्,’ उनले भनिन्, ‘कमाउन थालेपछि सबैको प्यारो भइँदोरैछ । घरपरिवारमा पनि अहिले सबै खुसी छन् ।’


पहिले नराम्रो सोच्ने गाउँलेहरू अहिले हाम्रा छोरीबुहारीलाई पनि ढाका बुन्न सिकाइदेऊ भन्न थालेका छन् । अहिलेसम्म उनले दलुई सयभन्दा बढी महिलालाई स्वरोजगार बनाइसकेकी छन् । उनले दिएको तालिमले जिल्लाका दुई सय महिलाले आफ्नै ठाउँमा व्यवसाय गरिरहेका छन् । कपडा बुन्ने धागो भने भारतको कोलकाता, विराटनगर र धरानबाट ल्याइन्छ ।


ढाका टोपी, चौबन्दी चोली, दौरासुरुवाल, कोट, कुर्ता–सुरुवाल, लेडिज तथा जेन्स पर्स, रुमाललगायत कपडा बनाइरहेकी छन् । ढाका कपडा उद्योग सञ्चाल गरेर उनले १० कट्ठा खेत र दुई कट्ठा घडेरीसमेत जोडिसकेकी छन् । महिनाको झन्डै तीन लाख बराबरको व्यापार हुने गरेको गिलेलले बताइन् ।

प्रकाशित : असार १३, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?