भारतबाट तरकारी आयात घट्यो

विनु तिम्सिना

विराटनगर — तरकारी र फलफूलमा अनिवार्य विषादी अवशेष परीक्षणको व्यवस्था गरिएपछि विराटनगर भन्सार कार्यालय भएर भारतबाट आयात हुने तरकारीमा कमी आएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण गरेर मात्र आयात गर्न पाइने कानुन बनाएपछि भारतबाट हुँदै आएको तरकारी र फलफूलको आयातमा निकै कमी आएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

‘नयाँ व्यवस्थाअनुसार तरकारी तथा फलफूल आयातकर्ताले विषादीरहितको प्रमाण ल्याएपछि मात्रै भन्सारले सम्बन्धित ठाउँमा लैजाने अनुमति दिन्छ,’ भन्सार कार्यालयका सूचना अधिकृत मणिराम पौडेलले भने, ‘विषाधि परीक्षणको सट्टा आयात नै लगभग ठप्प भएको छ ।’


सरकारले जीवनाशक विषादीको अवशेष परीक्षण गरेर मात्र आयात गर्न पाइने कानुन बनाई असार ३ गते राजपत्रमा प्रकाशित गरेपछि विराटनगर भन्सार कार्यालयबाट जम्मा ६ कन्टेनर स्याउ, एक मिनी ट्रक आँप र एक मिनी ट्रक कागती मात्रै भित्रिएको पौडेलले बताए ।


चालु आर्थिक वर्षको वैशाखसम्ममा मात्रै विराटनगर भन्सार कार्यालयबाट १२ करोड २२ लाख २६ हजार मूल्य बराबरको ३७ लाख १८ हजार ४ सय ५ किलो हरियो तरकारी र फलफूल आयात भएको भन्सार कार्यालयले जनाएको छ ।


विराटनगरस्थित क्वारेन्टाइन कार्यालयमा विषादी परीक्षण नहुने भएकाले बिर्तामोड पुग्नुपर्ने बाध्यता छ । कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत अरुण घिमिरेका अनुसार क्वारेन्टाइन कार्यालय विराटनगरले कृषिजन्य उपजको रोगकिराको मात्रै जाँच गर्छ । विषादीको परीक्षण बिर्तामोडस्थित विषादी अवशेष द्रुत परीक्षण इकाईले मात्रै गर्ने गरेको उनले बताए ।


गुद्री बजारमा पहाडको तरकारी

भारतबाट तरकारी नआएपछि विराटनगरस्थित गुद्री बजारमा पहाडको तरकारी देखिन थालेको छ । नगन्य मात्रामा पाइने पहाडको तरकारी यतिबेला भने गुद्रीका सबै पसलमा राखिएको छ । गुद्रीमा २५ वर्षदेखि तरकारी बिक्री गर्दै आएकी ममता अधिकारीले आफूले मात्रै इस्कुस, काँक्रा, काउली, सिमीलगायत पहाडको तरकारी बेच्ने गरेकामा तीन–चार दिनयता सबै व्यापारीले बेच्न थालेको बताइन् ।


यतिबेला गुद्रीमा पहाडको काँक्रा, काउली, टमाटर, बोडी, सिमी, ढिँडे खुर्सानी, अकबरे खुर्सानीलगायत तरकारी बिक्रीमा राखिएको छ । विराटनगर महानगरापालिका ८ की गोमा बस्नेतले गुद्री बजारमा पनि पहाडको तरकारी किन्न पाउँदा खुसी लागेको बताइन् । अन्य समयको भन्दा केही महँगो भए पनि पहाडको तरकारी खान पाउँदा खुसी लागेको उनले सुनाइन् ।


किसान उत्साहित

भारतीय तरकारीको आयात प्रभावित बनेपछि आफूहरूले उत्पादन गरेको तरकारीले बजार पाएको भन्दै मोरङका तरकारी किसान खुसी छन् ।


तरकारी खेती गर्दै आएका मोरङको कटहरी गाउँपालिका ४ का कृषक कोपिन्द्र सिंहले यतिबेला आफूहरूले उत्पादन गरेको तरकारीले बजार र मूल्य पाएको बताए । ढेड बिघा जग्गामा लौका, घिरौंला, करेला, बोडी, भिन्डी, काँक्रालगायत हरियो तरकारी खेती गर्दै आएका उनले एक साताअघिसम्म तरकारीले मूल्य र बजार नपाउँदा खेतमै छिप्याएर राख्नुपर्ने बाध्यता रहेको बताए ।


‘एक साताअघिसम्म २ देखि १० रुपैयाँसम्ममा तरकारी बेच्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘कतिपय अवस्थामा त बजार पनि पाउँदैनथ्यो तर अहिले बजार र मूल्य दुवै पाएका छौं ।’


भारतीय तरकारीको आयातमा कमी आएपछि बजारमा भने आलु, प्याज र हरियो तरकारीको मूल्य बढेको छ । विराटनगरस्थित गुद्री बजारमा आलु, प्याज तथा हरियो तरकारीका थोक बिक्री केन्द्र २५ वटा छन् । हरीयो तरकारीको थोक बिक्री केन्द्र शक्ति ट्रेडिङका प्रोपराइटर अशोक भगतले भारतीय तरकारीको आयात प्रभावित भएपछि मूल्य वृद्धि भएको बताए ।


एक साताअघिसम्म थोक मूल्य १० रुपैयाँ प्रतिगोटा पर्ने लौका बिहीबार २५ देखि ३० रुपैयाँ, किलोको ६ रुपैयाँ पर्ने भिन्डी २० देखि २५, प्रतिकिलो ६ रुपैयाँ पर्ने बोडी २५ दखि ३० रुपैयाँसम्ममा बिक्री भएको छ । यस्तै २० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको आलु अहिले ३० रुपैयाँ र २३ देखि २४ रुपैयाँसम्म प्रतिकिलो पुगेको, प्याज बिहीबार ४० रुपैयाँमा थोकमा बिक्री भएको छ ।

खुद्रा व्यापारीहरूले ४० रुपैयाँ किलोले बिक्री गर्दै आएका परवल ६० रुपैयाँ, १५ रुपैयाँ किलो बिक्री भएको भिन्डी ४० रुपैयाँ, २० रुपैयाँ किलोसम्म बिक्री भएको बोडी बिहीबार ५० रुपैयाँसम्ममा बिक्री भएको छ ।


विषादी परीक्षणका लागि बिर्तामोड पुर्‍याउनुपर्ने बाध्यताका कारण भारतबाट तरकारी आयातमा कमी आएको उनले बताए । ‘तरकारीको विषादी परीक्षण गर्न बिर्तामोड पुर्‍याउनुपर्छ, परीक्षण गराएर फेरि विराटनगर ल्याउन लगभग दुई दिन लागिहाल्छ,’ उनले भने, ‘हरियो तरकारी त कुहिहाल्छ नि ।’


विषादी परीक्षणमा झन्झट भएपछि आफूहरूले भारतीय तरकारीको आयातमै कमी गरेको भगतले बताए । दैनिक ५ टनसम्म तरकारी थोक मूल्यमा बिक्री गर्दै आएका भगतले बिहीबार २ टन तरकारी बिक्री गरेको बताए ।

प्रकाशित : असार १३, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?