कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘जाँच्न सम्भव छैन’ 

सन्जु पौडेल

रूपन्देही — तरकारी लिएर आएका गाडी सुनौली नाकामा रोकिएका छन् । गत सोमबार राजपत्रमा सूचना प्रकाशित गरी विषादी अवशेष परीक्षणपछि मात्र भारतीय तरकारी तथा फलफूल आयात गर्न सकिने व्यवस्था गरिएपछि तरकारीका गाडी रोकिएका हुन् ।

सूचना प्रकाशितपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विषादी अवशेष परीक्षण गरेको प्रमाणपत्रका आधारमा मात्र भन्सार पास दिन परिपत्र गरेको छ ।


भन्सार विभागले गत बुधबार अबेर परीक्षण नगरिएका तरकारी रोक्न पत्र पठाएको भैरहवा भन्सारका सूचना अधिकृत कलिराम पौडेलले बताए । ‘पत्र प्राप्त भएपछि रोक्न थालेका हौं,’ उनले भने, ‘हामीकहाँ पूर्वाधार तयार छैन, त्यो नहुँदासम्म सम्भव छैन ।’ अहिले मेचीदेखि महाकालीसम्मै भन्सारमा गाडी रोकिएको उनले बताए । सम्बन्धित निकायसित समस्या समाधानका लागि छलफल चलिरहेको र छिट्टै निकास निस्किने उनको भनाइ छ ।


भन्सार कार्यालयले विषादी जाँच्ने उपकरण नभएको पत्र विभागमा पठाइसकेको जनाएको छ । यसअघि आयातित फलफूल र तरकारीको सीमामा जाँच गरिँदैनथ्यो । विषादी परीक्षणबिना भित्र्याइएका फलफूल र तरकारी यहाँका बजारमा छ्यापछ्याप्ती हुन्थे ।


नयाँ व्यवस्थापछि तरकारी र फलफूल बोकेका मालवाहक गाडी सीमामा रोकिएका छन् । तरकारी र फलफूलको विषादी परीक्षणका लागि आवश्यक ‘पेस्टिसाइड एनालाइसिस प्रोमोटोग्राफी मेसिन’ भन्सार, प्लान्ट क्वारेन्टाइन र खाद्य तथा गुण नियन्त्रण कार्यालयमा छैन ।


बेलहियास्थित प्लान्ट क्वारेन्टाइनलाई विषादी परीक्षणबारे जानकारी छैन । यस्तो परीक्षण कार्यक्षेत्रभित्र नपर्ने क्वारेन्टाइन प्रमुख विष्णुप्रसाद काफ्लेले बताए । ‘विषादी अवशेष परीक्षणका लागि ल्याब, उपकरण र जनशक्ति छैन,’ उनले भने, ‘सबै सुविधा भयो भने र जनशक्ति पठाएमा भविष्यमा जाँच गर्न सकिन्छ ।’


खाद्य तथा गुणस्तर परीक्षण कार्यालयले जाँच गर्न सक्ने भए पनि जनशक्ति र उपकरण नभएको उनले बताए । आपूर्ति मन्त्रालयबाट राजपत्रमा निर्देशनात्मक सूचना आएपछि भन्सार कार्यालयले त्यसअनुसार काम गरिरहेको जनाउँदै उनले भने, ‘केन्द्रीय निकायले कार्यालयको अवस्था नै नबुझी निर्देशन दिएर गल्ती गर्‍यो ।’


बुटवलस्थित कृषि उपज तथा थोक बजार केन्द्रमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला छ । विषादी अवशेष द्रुत विश्लेषण कार्यविधि, २०७४ अनुसार उक्त प्रयोगशाला स्थापना गरिएको हो ।


ल्याबमा दिनहुँ थोक बजारमा आउने तरकारी तथा फलफूलको जाँच भइरहेको बाली संरक्षण अधिकृत रामबहादुर खत्रीले बताए । ‘हामीले गर्ने परीक्षण थोक बजार परिसरभित्र मात्र हो,’ उनले भने, ‘तर, आयातीत वस्तु जाँच्न निर्देशन दिए पनि सम्भव छैन ।’ भारतका विभिन्न क्षेत्रबाट तरकारी तथा फलफूल लिएर आएका गाडी भन्सारमा रोकिएका छन् ।

प्रकाशित : असार ९, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?