कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

स्थानीय तहमा पुगेनन् बैंक

विष्णुलाल बुढा

डोल्पा — जिल्लाका ४ स्थानीय तहमा बैंकका शाखा कार्यालय विस्तार हुन सकेका छैनन् । डोल्पोबुद्ध, सेफोक्सुन्डो, छार्काताङसोङ र काइके गाउँपालिकामा शाखा विस्तार नभएका हुन् ।

डोल्पोबुद्ध र छार्काताङसोङमा राष्ट्रिय वाणिज्य बैंक, सेफोक्सुन्डोमा प्रभु र काइके गाउँपालिकामा नेपाल बैंक लिमिटेडलाई शाखा खोल्ने जिम्मेवारी दिइएको थियो । राष्ट्र बैंकले २ वर्षअघि नै कार्यक्षेत्र तोकेको थियो । विभिन्न कारण देखाउँदै बैंकहरूले आलटाल गरिरहेका छन् ।


सबै बैंकले सुरक्षा कारण देखाएर शाखा सञ्चालनमा ढिलाइ गरिरहेका छन् । बैंक स्थापना नभएका स्थानीय तहका बासिन्दा सरकारी कारोबारका लागि साता हिँडेर सदरमुकाम आउन बाध्य छन् । उपभोक्ता समिति पदाधिकारीलाई खाता खोल्न, पेस्की निकासा गर्न र अन्तिम भुक्तानी लिन सदरमुकाम आउजाउ गर्दा आर्थिक भार परिरहेको छ ।

संघ र प्रदेशबाट बजेट विनियोजन भएका विकास निर्माण योजना सञ्चालन गर्न समेत उपभोक्ता समितिका पदाधिकारी सदरमुकाम आउन बाध्य छन् । ‘एक लाखको योजनाको कारोबार गर्न कम्तीमा २५ हजार रुपैयाँ खर्च हुने गरेको छ,’ डोल्पोबुद्धबाट सदरमुकाम आएका एक स्थानीयले भने, ‘बैंक स्थापना नहुँदा योजना रकमभन्दा बढी खर्च गर्नुपर्ने बाध्यता छ ।’


छार्का, सेफोकसुन्डो र डोल्पोबुद्धमा स्थायी प्रहरी चौकी स्थापना गरिएका छैनन् । त्यसैले बैंकका शाखा विस्तारमा ढिलाइ भएको एक बैंक कर्मचारीले बताए । स्थानीय तहमा बैंक स्थापना नहुँदा सदरमुकाम दुनैमा बसेर सम्पूर्ण कामकाज गरिरहेको छार्काताङसोङका जनप्रतिनिधिले बताए ।


जनप्रतिनिधिका अनुसार विभिन्न अनुदान, पारिश्रमिक भुक्तानीको काम सदरमुकामबाटै गर्नुपरेको छ । बैंक स्थापनाका लागि बारम्बार ताकेता गर्दा पहिला साल्दाङमा स्थायी प्रहरी चौकी बस्नुपर्ने र त्यसपछि मात्र शाखा खोल्न सकिने जानकारी पाएको सेफोक्सुन्डो ८ पुग्मका आङबहादुर लामाले बताए । ‘हामी प्रभु बैंकको केन्द्रीय कार्यालमा समेत पुग्यौं,’ उनले भने, ‘अहिले स्थानीय प्रहरी चौकी स्थापनाको माग गर्दै सदरमुकाम आएका छौं ।’

प्रकाशित : असार ९, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?