१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जोगबनी नाकाको आयात घट्यो

विराटनगर — जोगबनी नाका हुँदै तेस्रो मुलुकबाट हुने आयात चालु वर्षमा केही घटेको छ । गत वर्षको तुलनामा यस वर्षको बैशाखसम्ममा यो नाकाबाट तेस्रो मुलुकको आयात झन्डै साढे चार अर्बले घटेको हो ।

गत वर्ष यो नाकाबाट बैशाखसम्ममा ४८ अर्ब ९४ करोड २० लाख रुपैयाँका सामान तेस्रो मुलुकबाट आयात भएको थियो । यस वर्ष सोही अवधिमा ४४ अर्ब ५६ करोड ६९ लाख रुपैयाँ बराबरका सामान मात्र आयात भएको विराटनगर भन्सारको तथ्यांकमा उल्लेख छ । भारतबाट हुने आयात पनि बैशाखदेखि निकै घटेकाले राजस्व असुली लक्ष्य प्रभावित भएको छ ।


विराटनगर भन्सारले चालु वर्ष ४२ अर्ब राजस्व असुली लक्ष्य राखेको छ । भन्सार अधिकृत मणिराम पौडेलका अनुसार जेठसम्ममा ३५ अर्ब ७ करोड ६८ लाख राजस्व असुली भएको छ । यो कार्यालयले दैनिक १२ करोड राजस्व असुली गर्दै आएको थियो । अहिले दैनिक लक्ष्य पनि पूरा हुन सकेको छैन । असारभरि आयात निर्यात अहिलेकै जस्तो रहने हो भने लक्ष्य अनुसारको राजस्व असुली हुने स्थिति नभएको उनको भनाइ छ ।


राजस्व उठ्ने वस्तु रेडिमेट गार्मेन्ट, फलाम, स्टिल, स्ट्रक्चरलगायत सामानको आयात कम छ । बैशाखयता कुनै पनि व्यवसायीले सामान आयातका लागि एलसी नखोलेको उनले बताए । आयातलाई निरुत्साहित गर्न सरकारले लिएको नीतिकै कारण भारत र तेस्रो मुलुकबाट हुने आयात घटेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको बुझाइ छ । स्थानीय बजारमा व्यापारको अवस्था पनि खस्कँदो छ । राजस्व दरमा पनि परिवर्तन गरिएको छ ।


आयात भएका सामानको भन्सार जाँचमा कर्मचारीले अनावश्यक दुःख दिने गरेकाले पनि आयातकर्ता निरुत्साहित भएको एक आयातकर्ताको गुनासो छ । ‘भन्सार चेक जाँचका क्रममा कर्मचारीले अनेक दु:ख दिन्छन्,’ ती आयातकर्ताले भने, ‘समयमा जाँचपास नै हुँदैन ।’


विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरका अनुसार बैशाखदेखि भारतबाट हुने आयात अहिलेसम्मकै सबैभन्दा बढी घटेको छ । तेस्रो मुलुकबाट हुने आयात त चालु वर्षको सुरुदेखि नै घट्दै आएको थियो । उनले भने, ‘भारतबाट हुने औद्योगिक कच्चा पदार्थको आयातबाहेक तयारी वस्तुको आयात घट्दा भन्सार राजस्व प्रभावित भएको हो ।’ उनका अनुसार भारत र तेस्रो मुलुकबाट आयात हुने वस्तुको भन्सार महसुल बढेकाले पनि आयात घटेको हो ।

प्रकाशित : असार ८, २०७६ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?