कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सीमामा अवैध सटही कारोबार

एक वर्षयता सीमा क्षेत्रमा झन्डै १ करोड रुपैयाँसहित दुईजना पक्राउ परिसकेका छन् 
लक्ष्मी साह

बारा — प्रहरीले सुराकीका आधारमा सुवर्ण गाउँपालिका–७ सनफुलवास्थित दसगजा क्षेत्रबाट मंगलबार साँझ एक भारतीयलाई ५७ लाख ७९ हजार ४ सय ९० रुपैयाँसहित पक्राउ गर्‍यो । भारतको मोतीहारीका २४ वर्षीय बृजकिशोरकुमार कुसवाहा पक्राउ परेका थिए । 

सीमामा अवैध सटही कारोबार

घटनास्थल उनको ससुराली गाउँ नजिक पर्छ । बीआर ०५ एसी ४४८६ नम्बरको भारतीय बाइकसहित कुसवाहा पक्राउ परे । जाँचका क्रममा बाइकको विभिन्न भागलगायत उनले लगाएको हेल्मेट, पिंडौला, ढाड, पेट, कम्मर, जिन्स पाइन्टको खल्तीलगायत ठाउँमा लुकाएको रकम बरामद भयो । रकमको स्रोत नखुलेपछि प्रहरीले उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ललितपुर पठाएको छ ।


एक वर्षअघि दसगजा क्षेत्रमा पर्ने विश्रामपुर गाउँपालिका–१ छतवामा ४० लाख नेपाली रुपैयाँ ल्याउँदै गर्दा अर्का एक भारतीय नागरिक पक्राउ परेका थिए । मोतीहारी जिल्ला आदापुर श्यामपुर बजारका गुडुकुमार साह कानु बाइकसहित पक्राउ परेका थिए । उनलाई पनि प्रहरीले अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागमा पठाएको थियो । बृजकिशोर र गुडु पक्राउ परे पनि यस्तो कारोबार गर्ने धेरै भए पनि समातिएका उदाहरण कमै छन् ।


केही समययता सीमा क्षेत्रमा अवैध रकम सटही गर्ने यस्तो कारोबार बढदा प्रहरी सक्रिय भएको छ । भारतीय रुपैयाँको अभावले यस्तो धन्दा फस्टाउँदै गएको हो । भारतीय रुपैयाँको आवश्यकता पूरा गर्न व्यक्तिले सटही कारोबार गर्ने गरेका छन् । भारतीय रुपैयाँ साट्नका लागि लाग्ने बट्टा (प्रतिसयमा ३ रुपैयाँ) बाट कमाउने उद्देश्यले भारतीय र नेपाली नागरिकले सीमा क्षेत्रमा यस्तो धन्दा बढाएका छन् ।


‘व्यापार र जागिरभन्दा यसमा बढी कमाइ हुने भएकाले यो कारोबार गर्छौं,’ एक सटही कारोबारीले भने, ‘कारोबार गर्न सजिलो छ ।’ नेपालको बैंकमा नेपाली रकम राखेर पारिको बैंकबाट भारतीय रकम झिकेर प्रति सयकडा ३ रुपैयाँको दरले बट्टा कमाएर कारोबार गर्ने गरिएको उनले बताए ।


नेपाली व्यापारीलगायतलाई भारतबाट कारोबार गर्दा भारु रकम चाहिने भएकाले यो धन्दा फस्टाएको उनले सुनाए । सीमापारिका भारतीयले नेपाली आफन्त, श्रीमती, नातागोता, विश्वासिलो र साझेदारीमा काम गर्ने नेपालीको नाममा रहेका बैंक खातामा रकम जम्मा गरी पारिको बैंकबाट भारतीय रकम झिकेर सटही गर्न यस्तो धन्दा अपनाएको उनले बताए ।


अहिले सबैजसो पालिकामा बैंक भइसकेकाले त्यस्तो कारोबार गर्नेहरू झन् बढेका छन् । प्रहरीका एसपी रञ्जितसिंह राठौरका अनुसार सीमा क्षेत्रमा हुन्डी र बट्टालगायत अवैध सटही गर्ने संगठित गिरोहको निगरानी बढाइएको छ । यसैबीच स्रोत नखुलेको रकमसहित पक्राउ पर्दा पक्राउ पर्नेको पक्षबाट प्रहरी अधिकारीलाई छोडन ‘लबिइङ’ गर्ने पनि बढेका छन् ।


‘हुन्डी र अवैध सटही कारोबार गर्ने फरकफरक गिरोह छन् । हुन्डीमा सरकारलाई तिर्नुपर्ने विनिमय दरअनुसारको खरिद तथा बिक्री मूल्य तिर्नु पर्दैन,’ उनले भने, ‘बैंकबाट कारोबार नगरेर हातोहात कारोबार गर्छन्, जसबाट उनीहरूलाई एक त सरकारलाई कर तिर्नु परेन र अर्को बैंकमा स्रोत खुलाउनु परेन । नोक्सानी नभएर सिधै अवैध कमाइ भयो ।’ यसैगरी सटही काम गर्नेले नेपाली रकमबाट भारतीय रकम साटेर बढी मुनाफा कमाउन बट्टाको काम गर्ने गरेको उनको राठौरको भनाइ छ ।

प्रकाशित : असार ४, २०७६ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?