२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

राजस्व लक्ष्य महत्त्वाकांक्षी 

सुवास विडारी

मकवानपुर — प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षमा राजस्व दोब्बर गर्ने महत्त्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०७६/०७७ का बजेटमार्फत करको दर र दायरा बढाउने नीति लिएको छ ।

राजस्व लक्ष्य महत्त्वाकांक्षी 

आगामी वर्ष १५ अर्ब ४९ करोड ९६ लाख आन्तरिक राजस्व संकलनको अनुमान गरेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए । चालु आवमा आन्तरिक स्रोतबाट ९ अर्ब ३३ करोड ३६ लाख ७३ हजार उठाउने राजस्व उठाउने लक्ष्य लिइएकोमा ८ अर्ब ३५ करोड १० लाख मात्र संकलन हुने संशोधित अनुमान बजेटमार्फत प्रदेश सरकारले सार्वजनिक गरिसकेको छ ।


‘करको संरचना र दर बढाउँदै उक्त महत्त्वाकांक्षी लक्ष्य पूरा गर्ने प्रदेश सरकारको लक्ष्य रहेको छ,’ मन्त्री ढुंगेलले भने । कर प्रशासनलाई व्यावसायिक, दक्ष, सदृढ एवम् करदातामैत्री बनाउन प्रक्रियागत सरलीकरण र सूचना प्रविधिको प्रयोग बढाएर कर सहभागिता अभिवृद्धि गर्ने लक्ष्य लिइएको जानकारी दिए ।


‘कर कानुनको परिपालनालाई बलियो बनाउँदै कर छली र राजस्व चुहावट नियन्त्रण गर्न नीतिगत व्यवस्था सहितको रणनीति हामी तय गर्नेछौं,’ उनले भने, ‘आगामी आर्थिक वर्षका लागि संकलन हुने राजस्वका दरमा सामान्य संशोधन गरिनेछ,’ प्रदेशले प्राकृतिक स्रोत, कृषि आयमा कर, यातायात, मनोरञ्जन र पर्यटन कर प्रदेश सरकारले उठान पाउने संवैधानिक व्यवस्था छ । कानुनी व्यवस्था रहेको छ । प्रदेश सरकारले कृषिमा आय कर र पर्यटन कर उठाउन सुरु नै गरेको छैन ।


संविधान एवम् अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ द्वारा निर्दिष्ट प्रदेशका कर एवम् गैरकरका अधिकार क्षेत्रहरूको अध्ययन गरी करको दायरा विस्तार गरिने मन्त्री ढुङ्गेलले बताए । उनले समयमा प्रतिवेदन नगर्ने, कानुनको परिपालना नगर्ने तथा प्रदेश सञ्चित कोषमा राजस्व दाखिला नगर्ने स्थानीय तहलाई वित्तीय हस्तान्तरण र अनुदान निकासा नगर्ने नीति प्रदेश सरकारले लिएको बताए ।


कर्मचारीलाई प्रोत्साहन रकम

प्रदेश सरकारले कर्मचारीलाई एक महिनाको तलबबराबर प्रोत्साहनस्वरूप उपलब्ध गराउने भएको छ । असार १ गतेसम्म प्रदेश सरकारको मन्त्रालय, सचिवालय तथा केन्द्रीय निकायमा कार्यरत रही कम्तीमा तीन महिना प्रदेश सरकारमा सेवा अवधि व्यतीत गरेको कर्मचारीलाई थप उत्प्रेरित तुल्याउन र अन्य कर्मचारीलाई केन्द्रीय निकायमा आकर्षित गर्न उत्प्रेरणास्वरूप उक्त प्रोत्साहन प्रदान गर्न लागिएको मन्त्री ढुङ्गेलले बताए ।


'खर्च गर्ने आधार तयार’


प्रदेश ३ का आन्तरिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बजेट कार्यान्वयन गर्ने आधारहरू तयार भएको दाबी गरेका छन् ।


चालु आर्थिक वर्षमा पुँजीगत खर्च गर्न नसकेको आलोचना खेपिरहेको प्रदेश सरकारले आगामी वर्षबाट करिब ८० प्रतिशतको हाराहारीमा बजेट खर्च हुने दाबी गरेको छ ।


‘चालु आर्थिक वर्षमा हामीले बजेट कार्यान्वयनका लागि धेरै समयमा पाएनौं । हामी कर्मचारीको अभाव र आवश्यक कानुन नहुँदा समस्यामा पर्‍यौं । अहिले खर्च गर्ने आधार तय भएका छन् । कानुन निर्माण गरेका छौं । मन्त्रालयका एकाइ तथा आयोजना कार्यान्वयन कार्यालय समेत बनिसकेका छन्,’ सोमबार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढुङ्गेलले भने । उनले प्रदेश ३ को जनताको माग धेरै भएको कारण अन्य प्रदेशको तुलनामा बढी बजेट विनियोजन भएको बताए ।


प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले प्रदेशमा कर्मचारीको संख्या करिब चार सयको हाराहारीमा पुगेको र एक सय ५१ वटा कार्यालय नै स्थापना भएको अवस्थामा बजेट बढ्नु स्वाभाविक भएको दाबी गरे ।

प्रकाशित : असार ३, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?