१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

विदेशबाट फर्किएर चप्पल उद्योग

डम्बरसिं राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा अजम्बरीटोलका ४३ वर्षीय राजन विश्वकर्माले घरमै चप्पल कारखाना सञ्चालन गरेका छन् । वैदेशिक रोजगारबाट २१ वर्षमा फर्केका विश्वकर्माले चप्पल उद्योग खोलेका हुन् । उद्योगबाट उनले मासिक ४५ हजार कमाउँछन् ।

विदेशबाट फर्किएर चप्पल उद्योग

विश्वकर्माले २०५४ सालदेखि साउदी र कतारमा दुई दशक बढी समय बिताएका थिए । घरमै उद्योग सञ्चालन गरेपछि सबैले हौसला दिएको विश्वकर्माले सुनाए । यसबाट आम्दानी पनि राम्रो भएकाले घरपरिवारसमेत खुसी भएको विश्वकर्माले बताए । ‘अब भने घरमै राम्रो आम्दानी गर्न सुरु गरेको छु’ उनले भने ।


समृद्धि बहुआयामिक उद्योग नामको चप्पल उद्योग सञ्चालनले आफन्तसमेत खुसी भएको विश्वकर्माको भनाइ छ । ‘आफन्तबाट टाढिएर विदेशमा कमाउनु भन्दा घरैमा कमाउनु स्वर्गीय आनन्द मिलेको छ’ विश्वकर्माले भने–‘अहिले वास्तविक जिन्दगीको अनुभूति भएको छ ।’ उनले उत्पादन गरेको चप्पल दिक्तेलबजार लगायत बजारहरुमा बिक्रीका लागि पठाइन्छ । अन्य पालिकाहरुमा समेत बजार विस्तार गर्ने उनको योजना छ ।


आइतबार उक्त उद्योगको उद्घाटन कार्यक्रममा बौल्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले राजनको मेहनतले अरुलाई समेत हौसला मिलेकाले समृद्ध नगर बन्नमा सहयोग पुग्ने बताए ।


खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीनकुमार राईले विश्वकर्माको चप्पल उद्योग नमुना उद्योगको रुपमा विकास गर्नु पर्ने तर्क राखे । यसका लागि नगरपालिकाले सहयोग गर्नु पर्ने राईको धारणा छ । ‘औद्योगिक क्षेत्रको विस्तार नै समृद्धिको पूर्वाधार भएकाले यसलाई प्रबर्द्धन गर्नु पर्छ’ राईले भने–‘यसका लागि नगरपालिका लगायत सबै पक्षको सहयोग खाँचो छ ।’

प्रकाशित : असार १, २०७६ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?