ऊर्जामा हुँदैछ धमाधम काम

रमेश लम्साल/रासस

काठमाडौँ — काम गर्ने निकायको सार्थक प्रयास भयो र निर्माण व्यवसायीले पनि इमान्दार भएर काम गर्‍यो भने जतिसुकै अप्ठ्यारा समस्या पनि समाधान हुने दृष्टान्त पछिल्ला दिनमा स्थापित हुन थालेका छन् । सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा लिँदै त्यसलाई प्रमुख प्राथमिकतामा राखेका कारण एक दशकभन्दा बढी समय व्यतित भइसकेका आयोजना धमाधम सम्पन्न हुन थालेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिरकण र निजी क्षेत्रले धमाधम जलविद्युत् आयोजना सम्पन्न गर्दै राष्ट्रिय प्रसारण प्रणालीमा जोडेका छन् ।


चालू आर्थिक वर्षको हालसम्म १६ वटा प्रसारण लाइन निर्माण सम्पन्न भई त्यसबाट विद्युत् प्रवाहसमेत भइसकेको छ । आर्थिक वर्ष सकिन अझै एक महीना बाँकी रहेको सन्दर्भमा थप छ प्रसारण लाइन पनि सम्पन्न हुने अवस्थामा पुगेका छन् । यस्तै एक दर्जन बढी सवस्टेशन पनि निर्माण सम्पन्न भएका छन् । रणनीतिक महत्वका प्रसारण लाइन तथा सवस्टेशनको निर्माणले सहज विद्युत् आपूर्तिको मार्ग प्रशस्त मात्रै गरेको छैन, आर्थिक समृद्धिको मार्गसमेत प्रशस्त गरेको छ । प्राधिकरणले रुग्ण ठानेका माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले विद्युत् उत्पादन शुरु गरिसकेको छ । सो आयोजनाको पहिलो युनिटले ३० मेगावाट विद्युत् उत्पादन शुरु गरेको छ भने दोस्रो युनिटले पनि यही असारभित्रै उत्पादन सुरु गर्नेछ ।


त्यस्तै कुलेखानी तेस्रोले पनि पहिलो युनिटबाट सात मेगावाट विद्युत् उत्पादन शुरु गरेको छ । निरन्तरको अनुगमन, आयोजना प्रमुखलाई जिम्मेवार बनाइनु तथा तालकुदार मन्त्रालयको निगरानीका कारण विगतमा रुग्ण भनेर छाडिएका र समस्याको चक्रब्यूहमा फसेका आयोजना सम्पन्न भएका छन् । यसले निरन्तर काम गरे प्रतिफल पनि प्राप्त गर्न सकिन्छ भन्ने तथ्य स्थापित गरिदिएको छ । कुरा मात्रै गर्ने, काम नगर्ने प्रवृत्ति क्रमशः ऊर्जा क्षेत्रमा हट्दै गएको छ । त्यसैको परिणाम स्वरुप आगामी आर्थिक वर्षभित्रमा राष्ट्रिय प्रसारण प्रणालीमा करीब एक हजार २०० मेगावाट क्षमताको जल ऊर्जा थप हुनेछ ।


विगतमा विद्युत् नपाएर कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्थ्यो, मन्त्रालय र प्राधिकरणलाई । अब भने प्राप्त भएको ऊर्जालाई कसरी व्यवस्थापन गर्ने र बढीभन्दा बढी खपत कसरी गर्ने भन्ने विषयमा योजनाबद्ध प्रयास गर्नुपर्ने अवस्था आएको छ । विसं २०७५ वैशाखमा मन्त्रालयले सार्वजनिक गरेको ऊर्जा क्षेत्रको समग्र अवस्था समेटिएको श्वेतपत्र, सरकारले घोषणा गरेको ऊर्जा दशक तथा ऊर्जा क्षेत्रमा निरन्तर बढ्दै गएको चासोका कारण पनि राष्ट्रिय लक्ष्य पूरा हुने अवस्थामा पुगेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार निर्माण व्यवसायीको लापरवाही तथा स्थानीय स्तरमा वन क्षेत्रको जग्गा प्रयोगलगायतका समस्यामा अल्झिएको काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको गत वैशाख २४ गते चार्ज गरिएको छ ।


यस्तै तेस्रो खण्ड कुल २६.६६ किलोमिटर पनि यही असार मसान्तभित्र चार्ज हुने क्रममा रहेको छ । मध्य मस्र्याङदी डुम्रे–दमौली खण्ड पनि चार्ज भइसकेको छ । प्राधिकरणका अनुसार चमेलिया–स्याउले अत्तरिया १३२ केभी क्षमताको प्रसारण लाइन पनि अन्तिम चरणमा पुगेको छ । कुश्मा–तल्लो मोदी १३२ केभी प्रसारण लाइन पनि असार मसान्तस्म्म चार्ज हुने क्रममा छ । लमही घोराही १३२ केभी, कसुम हापुरे १३२ प्रसारण लाइन आयोजनाको पनि निर्माण सम्पन्न भइसकेको छ । यस्तै माथिल्लो त्रिशूली थ्री एसँग जोडिएका चार वटा साना ठूला प्रसारण लाइनको पनि निर्माण सम्पन्न भइसकेको छ । त्यसमा तीन किलोमिटर लामो त्रिशूली थ्री ए देखि त्रिशूली थ्री बी हब, त्रिशूली थ्री बी हबदेखि बाँड भन्ज्याङ ७६ सर्किट किलोमिटर, बाँडभन्ज्याङदेखि मातातीर्थ २२० केभी क्षमताको २२ सर्किट किलोमिटर र भूमिगत केवल मातातीर्थ पनि सम्पन्न भएको छ ।


प्राधिकरणका अनुसार कुल ६६८ सर्किट किलोमिटर बराबरको प्रसारण लाइन निर्माण सम्पन्न भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन स्वयम् प्राधिकरण सञ्चालक समितिको अध्यक्ष छन् । अध्यक्ष भएकाले हरेक जसो आयोजनामा चासो लिँदै काममा कुनै समस्या हुन नदिने गरी आवश्यक निर्देशन दिएका छन् । यस्तै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले हरेक दिन जसो नै प्रत्येक आयोजनाको अवस्था र समस्याको निरुपणका लागि आफै निर्माणस्थलमा खटिएका छन् । जसका कारण आयोजनाहरु एकपछि अर्को गर्दै सम्पन्न हुने चरणमा पुगेका छन् । केही आयोजनामा वन क्षेत्रको जग्गा प्रयोग, निर्माण व्यवसायीको लापरवाहीले पनि जटिलता पैदा गरेको छ ।


समस्या भएका आयोजनालाई गति दिन अपनाउनुपर्ने सबै प्रकारका उपाय अवलम्ब गरिएको छ । हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन सबैभन्दा बढी समस्यामा परेको छ । कुल ११ जिल्ला पार गर्नुपर्ने सो आयोजनाको हरेक टावर एउटा आयोजना जस्तो बन्दा केही समस्या देखिएपनि त्यसलाई समाधान गर्ने प्रयत्न गरिएको छ । हालैको मन्त्रिपरिषद्को बैठकले वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिएको छ ।


सोलु करिडोरमा देखिएको समस्या पनि क्रमशः समाधान भई निर्माण कार्य अगाडि बढिरहेको छ । सरकारले गरेको सार्थक प्रयासले केही आयोजना सम्पन्न भए पनि केही आयोजनामा देखिएको समस्या समाधान गर्न पहल गरिरहेको छ । मन्त्री पुनका अनुसार समस्या समाधानका लागि मन्त्रालयका तर्फबाट पनि सार्थक प्रयत्न गरिएको छ । प्रकाशित : जेष्ठ ३२, २०७६ १६:२९

प्रतिक्रिया
पठाउनुहोस्

गौतमबुद्ध विमानस्थलबाट भदौदेखि व्यावसायिक उडान

रमेश लम्साल/रासस

काठमाडौँ — सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसकेको थिएन ।

निर्माण सामग्री उपलब्ध हुनसकेको थिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत प्रभावकारी समन्वय गर्न सकेको थिएन । आयोजना करिब करिब रुग्ण अवस्थामा पुगेको थियो ।

आयोजनालाई अगाडि बढाउने जिम्मेवार निकाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि बेखबर अवस्थामा थियो । समन्वय गर्ने निकायको चासो थिएन । लगानीकर्ता एशियाली विकास बैंकलाई समेत आयोजनाको दुरावस्थाले पिरोलेको थियो । ठेकेदारको बेमेल परामर्शदाताको परामर्शको समेत सुनुवाइ नभएको अवस्थामा आयोजना सकिनसकी घस्रिरहेको अवस्थामा थियो । सन् २०१५ को जनवरीदेखि सुरु भएको आयोजना सन् २०१७ मा सक्ने लक्ष्य भए पनि तोकिएको समयमा काम भएन । चौध महिनापछि आयोजनाको अवस्था अर्कै भएको छ । कूल २६ प्रतिशत भौतिक प्रगतिमा रहेको आयोजना शनिबार करिब ७० प्रतिशतको हाराहारीमा पुगेको छ । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा पारेर निर्माण भइरहेको विमानस्थलको दुखद् अतित सुखद् वर्तमानमा परिणत भएको छ । आगामी भदौ महिनादेखि व्यावसायिक उडान गर्ने लक्ष्यका साथ निर्माणकार्य भइरहेको आयोजना प्रमुख प्रवेश अधिकारी सगौरव बताउँछन् ।

एक वर्ष भयो अधिकारीले आयोजनाको नेतृत्व सम्हालेको । त्यसअघि आयोजना प्रमुखका रुपमा ओम शर्मा हुनुहुन्थ्यो । शर्मालाई प्राधिकरणले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेपछि अधिकारीलाई उक्त आयोजनाको जिम्मा दिइएको थियो । उमेरले ३३ वर्षीय अधिकारीले भने, 'एक वर्षको बीचमा ठूलो प्रगति भएको छ । विमानस्थल बन्छ कि बन्दैन भनेर मडारिएको कालो बादल हटेको छ । जस्तो प्रगति भएको छ, यसमा म र मेरो समूह असाध्यै खुसी छ ।'

देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै समस्या आउने बित्तिकै हवाईजहाजलाई थाइल्याण्ड, कोलकत्ता, लखनऊ र नयाँदिल्ली ‘डाइभर्ट’गर्नुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर विमानस्थलको प्रगति नहुँदा सरोकारवाला निकायमा निराशा फैलिइरहेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्रीको रुपमा रवीन्द्र अधिकारीले पदभार ग्रहण गरेपछि गौतमबुद्ध विमानस्थलाई जसरी भए पनि अगाडि बढाउने सोच बनाइयो । ठेकेदारका समस्या समाधान गरियो, पैसाको उचित प्रबन्ध र व्यवस्थापन गरियो । प्राविधिक तथा अन्य समस्यासमेत निरुपण गरियो । फलस्वरुप यतिखेर विमानस्थल युद्धस्तरमा निर्माण भइरहेको हो ।

आयोजना प्रमुख अधिकारीका अनुसार आजका दिनसम्मको मूल्याङ्कन गर्ने हो भने ६७ प्रतिशत निर्माण सकिएको छ । विमानस्थलको धावनमार्गको तेस्रो चरणको कालोपत्र सकिएको छ । चौथो तहको कालोपत्र दुई दिनपछि सुरु हुँदैछ । कूल सात दशमलव पाँच इन्च मोटाइको चार तहको कालोपत्र सकिएपछि विमानस्थलको निर्माण करिब सकिन्छ । बढीमा २० दिनभित्र चौथो चरणको कालोपत्र सकेर बत्ती व्यवस्थापनलगायत काम गर्ने सोचमा आयोजना लागेको छ । ट्याक्सी पार्किङस्थल पिच गर्न ठिक्क पारिएको छ । टर्मिनल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तै ‘कन्ट्रोल टावर’को कामसमेत अन्तिम चरणमा पुग्न लागेको छ । आयोजना प्रमुख अधिकारी बिहानदेखि साँझसम्म निरन्तर काममा खटेका छन् । ठेकेदार, परामर्शदाता, प्राधिकरण सबैसँग समन्वयका साथ काम भएको छ । दैनिक चार सयभन्दा बढी मजदुरले नियमित रूपमा काम गरिरहेका छन् ।

समस्यामा फसेको आयोजना यो रुपमा यसरी अगाडि बढ्ला भन्ने धेरैलाई लागेको थिएन तर यतिखेर आयोजनाको प्रगति देखेर धेरैले भन्न थालेका छन्, इमान्दार भएर काम गर्‍यो भने प्रगति देख्न जुगौं कुर्नु पर्दैन । हालैमात्र उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालगायतले आयोजना निरीक्षण गरी समयमै काम सक्न आयोजना प्रमुख अधिकारीलाई हौस्याएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीले त दैनिकजसो नै आयोजनाको प्रगतिका बारेमा जानकारी लिँदै आएका छन् । ठेकेदारले तोकिएअनुसार काम गरेका छन् । निकट भविष्यमै एउटा मात्रै विमानस्थल हुनाको पीडाबाट नेपालले मुक्ति पाउँदैछ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको काखमा अन्तर्राष्ट्रिय विमानस्थल तयार हुँदैछ । आयोजना प्रमुख अधिकारी भन्छन्, 'अबको चार महिनामा अर्थात् आगामी असारमा विमानस्थल पूर्णरूपमा तयार हुन्छ । उडानका लागि केही प्राविधिक कामका लागि मात्रै थप समय लाग्न सक्ने देखिन्छ ।' विद्युतीय उपकरण जडान तथा अन्य प्राविधि तयारीको मात्रा १८ प्रतिशत पुगेको छ । यस्तै नियन्त्रण कक्ष तथा अन्य उपकरणको मात्रा १४ प्रतिशतको हाराहारीमा पुगेको छ । यी सबै काम तोकिएको समयमा पूरा हुने क्रममा छ ।

सरकारले पछिल्लो पटक थप रु चार अर्ब रकम आयोजनाका लागि उपलब्ध गराएको थियो । आयोजना विस्तारका लागि भन्दै अर्थ मन्त्रालयले रकमान्तर गरेर उक्त परिमाणको रकम मुआब्जाका लागि उपलब्ध गराएको हो । जनशक्तिको कमी, समन्वयको अभाव तथा ठेकेदार र परामर्शदाताबीचको बेमेल अन्त्य गरेर विमानस्थल निर्माणमा खटिएका अधिकारीले भने, 'हामी नियमित काममा छौं, निर्माण नस्क्दासम्म सकियो भन्ने अवस्था त छैन तर जुनस्तरमा काम भइरहेको छ त्यसले एउटा सन्तोष भने प्रदान गरेको छ ।'

अधिकाशं ठूला आयोजना समस्यामा परेको बेला सरकारको सकारात्मक प्रयासले उक्त विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ । कूल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्ग पनि निर्माण भएको छ । हालै मात्र प्राधिकरणले नेपाल आयल निगमलाई साढे सात बिघा जग्गा हवाई इन्धन भण्डारणका लागि उपलब्ध गराएको छ । निगम प्रवक्ता वीरेन्द्र गोइतका अनुसार विमानस्थल सञ्चालनमा आउने तयारी भएपछि हवाई इन्धनका लागि उक्त जग्गा उपलब्ध गराइएको हो । आयोजनाको कूल लागत मूल्यअभिवृद्धि करसहित रु छ अर्ब २२ करोड ५१ लाख २० हजार ११८ छ ।

प्रकाशित : फाल्गुन ११, २०७५ १६:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×